मदन आश्रित स्मृति दिवसमा एमाले रामेछापले भवनको शिलान्यास गर्ने
रामेछाप : नेकपा एमाले रामेछापले पार्टीको आफ्नै कार्यालय भवन निर्माण गर्ने भएको छ। जेठ ३ गते मदन आश्रित स्मृति दिवस अवसरमा भवनको शिलान्यास गरिने एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले जानकारी दिए।
पार्टीको आफ्नै कार्यालय नहुँदा भाडामा लिएर एमालेले कार्यालय सञ्चालन गर्दै आएको उनको भनाई छ। उनले एमालेले पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकको भवन निर्माणमा सहयोग गर्नसमेत आग्रह गरे।
पार्टी कामलाई थप व्यवस्थित र गतिशिल बनाउन कार्यालयको भवन निर्माण गर्न लागिएको एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्कीले जानकारी दिए। कार्कीले मन्थलीस्थित आकाशेमा पार्टीको मदन–आश्रित स्मृति भवनको नाममा रहेको जग्गामा कार्यालयको भवन निर्माण गर्ने बताए। उनले भवनको नक्सा निर्माण भइसकेकाले सोही अनुसार निर्माण हुने बताए।
चार तले भवनमा कार्यालय कक्ष, तालिम हल र बैठक कक्ष समेत हुनेछ। भवन एमाले उपमहासचिव विष्णु रिमालले भवनको शिलान्यास गर्ने बताइएको छ।
स्मृति दिवसको अवसरमा पार्टी निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने नेताहरुलाई समेत सम्मानित गरिने कार्कीले जानकारी दिए।