शरणको हरण
अब सबै उही लहरोमा तानिन सक्छन्। शरणको हरण, मुलुकको प्रतिष्ठा हरण भएका बेला प्रश्न मात्र त छन्।
मान्छे घर छाड्न बाध्य छ। देश छाड्न बाध्य छ। गत बिहीबार (मे ११) मा नर्वेजियन रेफ्युजी काउन्सिलले एउटा प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ, ‘युक्रेन युद्धसमेतले सन् २०२२ मा आन्तरिक रूपमा विस्थापित मानिसको संख्या अहिलेसम्मकै धेरै ७ करोड ११ लाख भयो। यो सन् २०२१ भन्दा २० प्रतिशत बढी हो। ’ संस्थाको इन्टरनल डिस्प्लेसमेन्ट मनिटरिङ सेन्टरको उक्त प्रतिवेदनले युद्ध, खडेरी, आदिका कारण युक्रेन, सिरिया, इथियोपिया र अरू ठाउँ यसमा विस्थापित भएकाको तथ्यांक समेटेको छ। यसै साता संयुक्त राष्ट्रसंघले भनेको छ– सुडानका सात लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। यी भए, देशभित्रै थातथलो छाड्ने।
अर्काथरी छन्– देशै छाड्न बाध्य। २०२२ मा संसारमा सबैभन्दा धेरै १० करोड मानिस शरणार्थी भए। अहिले युक्रेन, सुडानका शरणार्थी अहिले कहाँ जाऔं, के गरौंको अनिश्चयमा छन्। दुवै विस्थापितलाई स्थापित हुनु परेको छ। नेपालमा तिब्बती, रोहिङ्ग्या, अफगानी, पाकिस्तानी, सोमाली आदिसमेत बाँकी रहेका ६ हजार बढी भुटानी शरणार्थीलाई बास दिएको छ, जो ‘जोगीका घरमा सन्न्यासी पाहुना’को हैसियतमा छन्। धेरै शरणार्थी अमेरिका, जर्मनी, बेलायत, अस्ट्रेलिया, नर्वे, फिनल्यान्ड, स्विडेन, न्युजिल्यान्ड जान खोज्छन्। यी सबैले निश्चितमात्र शरणार्थी बसाउँछन्, जस्तोः आर्थिक वर्ष २०२३ मा अमेरिकाले विभिन्न मुलुकबाट १ लाख २५ हजार ल्याउने घोषणा गरेको छ। अप्रिल अन्तसम्ममा २४ हजार ८ सय २३ आइसकेका छन्। अमेरिकाको आर्थिक वर्ष अक्टोबर १ मा सुरु भएर सेप्टेम्बर अन्तमा सकिन्छ। हो, यो लेखन अमेरिकाकै शरणार्थी पुनर्वाससँग जोडिएको नेपाल सन्दर्भमा छ।
‘शरण दिनु/आश्रय माग्नु’। विदेशमा छ, शरण दियो र ल्यायो। अमेरिकामा छ आश्रय माग्यो, शरणार्थीका मापदण्ड पूरा गर्छ र उसलाई आश्रय दियो– सामान्य हिसाबमा यसरी बुझौं– शरण वा आश्रय पाउनेलाई। अमेरिकी अध्यागमनको परिभाषा (सामान्य पनि यस्तै हो) मा रेफ्युजी अर्थात् शरणार्थी। अस्लाइम (आश्रय) चाहनेलाई असाइली, जसको नेपाली अर्थ पनि शरणार्थी नै। आश्रय माग्ने भएकाले यस लेखमा आश्रयार्थी भनेर सजिलो पार्न खोजिएको छ। शरण र आश्रय, अमेरिकाले यसैलाई पालना गरेको छ। यतिबेला अमेरिकाको दक्षिणी–सीमा आश्रय माग्नेको भीड छ। म्याद सकिए पनि सीमामा आएका अमेरिकामा आश्रय चाहन्छन्। सरकार भन्छ– सीमामा भीड नगर्नु, सीमा नकाट्नु, जहाँबाट भए पनि असाइलमको अनलाइन निवेदन दिनु। यस्तै शरणार्थी र आश्रयार्थी गरेर अमेरिकाले सन् १९६० यतामात्र करिब ३८ लाखलाई बसाएको छ।
हामीसँग निकै परिचित भएको शरणार्थी समस्या भुटानीको रह्यो। यतिबेला शरणको खोल ओढ्न खोज्ने र ओढाइदिनेका समाचारले हामी थिचिएका छौं। त्यसमा पनि ओढाइदिनेको पल्ला भारी छ। नक्कलीहरू रंगमञ्चमा देखा पर्नुभन्दा पहिला सन् २००८ मा सुरु भुटानी पुनर्वास कार्यक्रम सन् २०१७ सकिएसँगै सकिएको हो। त्यसबेलासम्म अमेरिकालगायत विश्वका आठ मुलुकमा १ लाख १२ हजार बढी भुटानी शरणार्थी पुनस्र्थापित भइसकेका थिए। पाँचवर्षे लक्ष्य लिएको पुनर्वास कार्यक्रम २०१० मा सकियो। सुरुमा ६० हजार बसाउने घोषणा गरेको अमेरिकाले कार्यक्रम सकिँदासम्म सबैभन्दा बढी ९५ हजार ४ सय ४९ लाई भित्र्यायो।
सन् २०२२ मा २४ जना आएको तथ्यांक स्टेट डिपार्टमेन्टको छ। सन् २०२३ सुरु भएयता ७ जना आएका छन्। यसरी औपचारिक रूपमा पुनर्वास सकिएपछि ७ सय ६४ जना अमेरिका आएको देखिन्छ। पुनर्वासका बेला भुटानी र नेपालबाट आएका नेपालीलाई परिचय गराउने दुइटा शब्द थिए, को कहाँको भन्नका निम्ति– बस्ती र शिविर। यो परिचय खासै चलनमा अहिले छैन। हो, तिनै बस्तीका केही मानिस शिविरका मानिससँग मिसिएर अमेरिका आए।
नक्कली शरणार्थी प्रकरण एउटा पाटो मात्र हो। सन् १९९० मा भुटानी नेपाल छिरेदेखि नै खोतल्ने कयौं विषय छन्। नेपाल सरकारले के के चाहिँ खोजेर पार लगाउन सक्ला ?
शिविरमा रहँदा जागिर खान, पढ्न आदि वा अरू आर्जनका शिविर वा नेपालबाहिर जानेहरू पुनर्वास हुनबाट छुटे। टाढा भएकाको ठाउँमा आफ्नैले बस्तीका कतिलाई नक्कली नाता बनाएर अमेरिका ल्याए। बिहे गरेर आउनु कानुनसम्मत हो। तर बिहेको नातामा अमेरिका भित्रेपछि केही छुट्टिए। अमेरिका आउनैका लागि बिहेको लगन कस्ने र छाड्ने घटना अझै पनि सुनिन्छन्। पूर्वी नेपालका धेरै मानिस भुटान गएको इतिहास छ। मध्य र पश्चिमका निकै कम। पश्चिम नेपालका केही खास थरको मानिसको मुखबाट ‘भुटानी हुँ’ भन्ने सुन्नुभयो भने शंका गर्न सकिन्छ।
नक्कली शरणार्थी भनेर अलि बृहत् भएर हेर्दा एउटा नक्कली बन्न चाहेर कसैले बनाइएका, जसको यतिबेला चर्चा छ। अर्को आफैं बनेर विदेश पसेका नेपाली भन्ने बुझ्न जरुरी छ। भुटानी नेपाल पसेको पाँच वर्ष नबित्दै माओवादी विद्रोह सुरु भयो। माओवादी आदिलाई कारण देखाई आश्रयार्थी भई अमेरिकामा कानुनतः बस्न खोज्ने धेरै थिए। यस्ता आवेदनबाट सन् २००० पछिका केही वर्ष ग्रिनकार्ड पाउने संख्या यस्तो थियोः सन् २००० मा १८, २००१ मा १९, २००२ मा ७०, २००३ मा १ सय ४४, २००४ मा १ सय ६२, २००५ मा २ सय ३१ आदि। विचाराधीन निवेदन अहिले पनि नभएका होइनन्। नेपालमा १२ वैशाख २०७२ मा गएको भूकम्पपछि अमेरिकी सरकारले नेपालीलाई दिएको टीपीएस (टेम्पोररी प्रोटेक्टेड स्ट्याटस) सुविधाले आश्रयार्थीको निवेदन दिएकालाई ठूलै ढाडस मिलेको छ। यही टीपीएसका आडमा १५ हजार नेपाली टिकिरहेका छन्। यसको म्याद पछिल्लोपटक सन् २०२४ जुन अन्तिमसम्मलाई थपिएको छ। यी आश्रयार्थी पनि सक्कली बन्न खोज्ने एकखाले शरणार्थी नै हुन्।
नक्कली शरणार्थी प्रकरण एउटा पाटो मात्र हो। यो लहरो तानेर सकिँदैन। सन् १९९० मा भुटानी नेपाल छिरेदेखि नै खोतल्ने कयौं विषय छन्। नेपाल सरकारले के के चाहिँ खोजेर पार लगाउन सक्ला ? नेपालीलाई नक्कली शरणार्थी बनाउने, भुटानीलाई नेपाली नागरिकता दिलाउने, त्यही नेपाली नागरिकताबाट नेपालमा जायजेथा राख्ने भुटानी आदि सब त्यही लहरोमा तानिन सक्छन्। शरणको हरण, मुलुकको प्रतिष्ठा हरण भएका बेला प्रश्न मात्र त छन्।