सिन्धुलीमा ४८ जनाको निःशुल्क आँखा अप्रेशन
सिन्धुली : सिन्धुलीमा ४८ जनाको निःशुल्क आँखा अप्रेशन गरिएको छ। लामो सयमदेखि मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाएकाहरूको निःशल्क अप्रेशन गरिएको हो।
नेपाल रेडक्रम सोसाइटी सिन्धुली शाखाको आयोजना तथा कमलामाई नगरपालिका सिन्धुली, जानकी आँखा अस्पताल जनकपुर र तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा आयोजना गरिएको निःशुल्क शिविरमा ४८ जनाको अप्रेशन गरिएको हो।
रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठका अनुसार गत मंगलबार कमलामाई नगरपालिका-११ रानिचुरीमा आयोजना गरिएको निःशुल्क आँखा जाँच शिविरमा भेटिएको मोतियाविन्दुका पीडितहरूको आइतबार अप्रेशन गरिएको हो।
जानकी आँखा अस्पतालका आँखा सर्जन मेडिकल डाइरेक्टर डाक्टर आशिष बोहरा नेतृत्वको टिमले आँखा अप्रेशन गरेको थियो।
आँखा अप्रेशन गरिएका बिरामीहरूलाई कमलामाई नगरपालिका सिन्धुलीका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले चस्मा प्रदान गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए।
अप्रेशन गरिएका बिरामीहरूलाई रेडक्रस सिन्धुलीले निःशुल्क चस्मा र औषधी समेत प्रदान गरेको श्रेष्ठले बताए।