पर्यटकको पर्खाइमा मनमोहक ‘टिटी ताल’

पर्यटकको पर्खाइमा मनमोहक ‘टिटी ताल’
मुस्ताङको थासाङ-५ मा अवस्थित प्राकृतिक तथा जैविक महत्व बोकेको ‘टिटी ताल’। तस्बिर : धिरेन्द्र ल्वागुन
सुन्नुहोस्

जोमसोम : मुस्ताङको थासाङ थासाङ गाउँपालिकामा तीनवटा ताल रहेका छन्। ती हुन् टिटी ताल, भुतर्छो ताल र सेकुङ ताल। सेकुङ र भुतर्छो ताल पालिकाको वडा-२ र टिटी ताल थासाङको वडा-५ अन्तर्गत पर्छ।

राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकको पूर्वतर्फ समुन्द्री सतहदेखि २६ सय ७९ मिटर अग्लो उचाइमा अवस्थित छ। जैविक विविधतासँगै मनोरम प्राकृतिक सौन्दर्यताले भरिएको टिटी ताल उचित संरक्षणको अभाव र आवश्यक प्रचारप्रसार हुन नसक्दा सदिंयौदेखि ओझेलमा  परेको हो। 

म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसा हुँदै मुस्ताङ प्रवेश गरेका कतियप पर्यटक टिटी तालबारे अनविज्ञ हुन्छन्। बेनी जोमसोम सडकको छाक्ताङदेखि  कालिगण्डकी नदी पारी ३ किलोमिटर पैदल यात्रा गरे टिटी ताल पुग्न सकिन्छ भने थासाङ-३ को लेते-छयो हुँदै पनि टिटी तालको गन्तव्य तय गर्न सकिन्छ।

संघीयता अघि यो तालसम्म पुग्न मोटरबाटोको सहज पहुँच थिएन। तर,  संघीयता पछि भने उपभोक्ता समितिमा मार्फत लेते, छयो, कुञ्जो हुँदै टिटी ताल सम्म र टिटी तालदेखि सिर्खुङ र धम्पुसम्म कच्ची सडक विस्तार भइसकेको छ। यद्यपि कच्ची सडक बनेपनि यहाँसम्म पुग्न मोटरेबल पुल नहुँदा यातायातका सवारी साधन लान सकिँदैन। 

कालिगण्डकी पारी रहेको छयो,  कुञ्जो, टिटी जोड्ने मोटरेबल पुल निर्माणाधीन अवस्थामा छ। यहाँ गण्डकी प्रदेशले पुल निर्माण थालेपनि विविध कारणले पुल निर्माणमा ढिलाइ भइरहेको छ। यसैगरी प्रदेश सरकारकै योजनामा रहेको लेते-धम्पु पुल पनि निर्माणाधीन अवस्थामा छ।

थासाङको लेते-छयो,  कुञ्जो,  ताक्लुङ,  टिटी,  सिर्खुम  जोड्ने कच्ची सडक स्तरोन्नति तथा कालोपत्रे सडकको काम समेत भइरहेको छ। यहाँ संघीय एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक अन्तर्गत सडक विस्तारको काम भइरहेको छ। सडक तथा पुल समयमै सम्पन्न नहुँदा टिटी तालसम्मको सहज पहुँच हुन नसकेको हो। थासाङको दुई स्थानमा पुल बनेमा राष्ट्रिय राजमार्गबाट कुञ्जो टिटी हुँदै रिङरोडको यात्रा तय गर्दै पुनः राष्ट्रिय राजमार्गमा जोडिने छ।

टिटी गाउँमा करिब १५–२० घरधुरी छन्। जहाँ ३ घरधुरी थकाली समुदायको बसोबास छ भने अन्य गैर थकालीको वस्ती छ। यहा पर्यटक लक्षित ३ वटा होटल मात्र छन्। तालको चारैतिर ठूला ठूला सल्ला र धुपीका रुख छन्। जैविक सम्पदाले भरिएको टिटी तालमा १ सय ८६ प्रजाति चराको बासस्थान छन्। 

३ प्रजातिका हास देख्न पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले उल्लेख गरेको छ। यहाँ खर्कमा रहेका याकचौरीलाई पशुपालक किसानले पानी खुवाउन लैजाने गर्छन्। यो ताल संरक्षणका लागि स्थानीय तह,  एक्याप तथा अन्य सरोकारवाला निकायले बेलाबेलामा सरसफाईका कार्यक्रम गर्ने गरिएको छ। यहाँ एक्यापले फोहोर संकलन गर्ने डस्मिनको व्यवस्था गरेको छ।

एक्यापका कार्यालय प्रमुख अशोक सुवेदीले टिटी ताललाई सिमसार तालको रूपमा सूचिकृत गर्न पहल गरिनुपर्ने जोड दिए। उनले ३ महिनाभन्दा बढी निरन्तर पानी रहने क्षेत्रलाई सिमसार भनिने र टिटी तालमा पानीको सिंञ्चित श्रोत भएकाले जमिनले पानी रिचार्ज गर्दै आइरहेकाले पानीको श्रोतमा कमी नहुँने जानकारी दिए।

समुन्द्री सतहको ६ मिटर गहिराई भएको भूगोलमा अवस्थित ताल सीमसार तालको रूपमा परिभाषित हुने कार्यालय प्रमुख सुवेदीको भनाइ छ। ‘यो क्षेत्र सिमसार क्षेत्र हो, तालको श्रोतनै जमिन हो, ’उनले भने, ’विश्वकै परिवेशमा सिमसार क्षेत्रले ठूलो योगदान दिन्छ, टिटी तालमा जमिन र तालको सम्बन्धको योगदान सिमसारले पुर्‍याएको छ।'

तालको सिमसार जैविक विविधताले सांस्कृतिक,  प्राकृतिक, रासायनिक र जैविक फाइदा पुर्‍याउने र यसले खोला नाला र खेतीयोग्य जमिनलाई सिञ्चित गर्न योगदान दिएको एक्याप प्रमुख सुवेदीले बताए।

टिटी ताल सिमसारले जैविक तथा चरा प्रजातिको बासस्थानका लागि सहयोग पुर्‍याएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले उल्लेख गरे। नेपालमा १० वटा ताललाई सिमसारक्षेत्रमा सूचीकृत भएको र टिटी ताललाई पनि सूचीकृत गर्न सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अध्ययन अनुसार  १ सय ८६ प्रजातिका चरा टिटी ताल रहेको पुष्टी गरेको थियो। तालभित्र कमन मलाटले बच्चा प्रजनन् गर्ने ठाउँ रहेको छ। तालमा चराको बासस्थानका लागि घाँसे गुड बस्ती छ। जहाँ विभिन्न जातका चरा बस्छन् भने तालमा चराहरूले आपसमा क्रिडा गर्छन्।

थासाङ–५ को टिटी ताल पवित्र धार्मिक तालको रूपमा लिने गरिएको छ। यहाँ बर्सेनि श्रावण महिनाको पूर्णिमा तिथिमा स्थानीयले हंस बराहीको पूजाआजा गर्ने गरेको स्थानीय तेजेन्द्र गौचनले जानकारी दिए। यहाँ सन्तान नभएका जोडीले बर मागेमा सन्तान लाभ हुने धार्मिक विश्वास रहेको गौचनले खुलाए।

जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पूर्‍याउने गरेका चरा र हाँस मारेमा अनिष्ठ हुने उनको भनाइ छ। उनले चारैतिर हिमाल र हरियाली दृष्यले सुसज्जित सुन्दर ताल हुँदाहुँदै पनि तालको स्तरोन्नति र विकास हुन सकेको छैन। 

मुस्ताङमा दैनिक सयौं पर्यटक आउँने गरेपनि यो तालका बारेमा पत्तो नहुँदा टिटी ताल नहेरी पर्यटक फर्किन्छन्। यद्यपि वैकल्पिक पदमार्ग हुँदै टिटी ताल पुगेका न्यून विदेशी पर्यटकले भने ताल अवलोकन गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.