नक्कली भुटानी शरणार्थी प्रकरण
बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनिरहनु भएको छ : कांग्रेस प्रवक्ता महत
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाश शरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँणलाई निलम्बन नगर्नुको कारण स्पष्ट पारेका छन्।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा प्रवक्ता डा.महतले खाँणले आफू निर्दोष भएको बताएपछि पार्टीले निलम्बन नगरेको बताए।
अदालतले दोषी ठहर नगरेसम्म पार्टीले खाँणलाई निलम्बन नगर्ने बताए। उनले नेता खाँणमाथि अनुसन्धान जारी रहेको र कांग्रेस निष्कर्षको पर्खाइमा रहेको जिकिर गरे।
उनले भने,'पार्टीका नेता खाँणमाथि अनुसन्धान जारी रहेको र कांग्रेस निष्कर्षको पर्खाइमा रहेको जिकिर गर्नुभयो । खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो।'
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीको पूर्ण सहयोग रहेको उनको भनाइ छ। उनले निर्दोष दोषी हुने अवस्था र दोषी निर्दोष हुने अवस्था आउन नदिन सरकार सजक हुनुपर्ने बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी,तत्कालीन गृहसचिव टेकनारायण पाण्डे,पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राइ,नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलगायत १्३ जना पक्राउ परेका छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको छ।