हत्कडीसहित फरार बुढा ६ दिनपछि पक्राउ
वीरेन्द्रनगर : एक हप्ता अगाडि हत्कडीसहित फरार भएका कालिकोटको पलाता गाउँपालिका–६ सैनका बलात्कार आरोपी शंक बुढा पक्राउ परेका छन् । आफन्तहरूको सहयोगमा पक्राउ गर्न गएका प्रहरीलाई नै कुटपीट गरी हत्कडीसहित फरार बनेका उनी ६ दिनपछि प्रकाउ परेका हुन् ।
वैशाख २५ गते बुढालाई प्रहरीले प्रकाउ गर्न जादा स्थानीय र उनका आफन्तले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । बुढालाई पक्राउ गरी कालिकोट सदरमुकाम ल्याउँदै गर्दा प्रहरीलाई नै कुटपिट गरी हतकडीसहित फरार भएका हुन् ।
बुढालाई वडा नम्बर ७ को दुर्सी खोलाबाट भाग्दै गर्दा आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिए । बुढाले गत असोज ३१ गते गाउँकै एक ३१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो ।
पीडित परिवारले गत कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । त्यसयता उनी फरार हुँदै आएका थिए । बुढाले पीडित महिलाका आफन्तलाई मारेर मात्र जेल जाने भन्दै धम्की दिँदै आएका थिए ।
बुढालाई पक्राउ गर्न जाँदा प्रहरी र पीडित परिवारमाथि आक्रमण गर्ने उनका ७ जना आफन्तलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनका आफन्त २८ वर्षीय मैना बम बुढा, सोही ठाउँका ४२ वर्षीया जानकी बुढा, ६० वर्षीया जैपुरा बुढा,५९ वर्षीया कलशा बम,६१ वर्षीया जनकला बुढा,३५ वर्षीय जल बुढा र १५ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा लगाइएको छ ।
उनीहरूको आक्रमणबाट स्थायी प्रहरी पोष्ट करदेवका असई लक्ष्मीरुद्र रावत र पीडित परिवारका सदस्य धनमान विक गम्भीर घाइते भएका थिए । उनीहरूलाई गाउँको स्वास्थ्य चौकीमा उपचार गरी थप उपचारका लागि पलाँता गाउँपालिका अस्पताल थिर्पुमा उपचार गरिएको थियो ।