रेशम चौधरी छुटेनन्, जन्मकैदको फैसला सर्वोच्चबाट सदर
काठमाडौं : टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसला सर्वोच्च अदालतले सदर गरेको छ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले चौधरीलाई जन्मकैदको फैसला भएको अन्नपूर्णलाई जानकारी दिए।
न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद सजाय सदर गरेपछि नागरिक उन्मु्क्ति पार्टीका संरक्षक समेत रहेका चौधरी जेलमुक्त भएनन्।
सर्वोच्चको फैसलासँगै चौधरीको राजनीतिमा फर्किने संभावना सकिएको छ।
सोही घटनामा दोषी भनिएका 'विद्रोह' भन्ने सिताराम चौधरी र गंगाराम चौधरीले भने सफाइ पाएका छन्। सर्वोच्चले अदालतले उनीहरूलाई अन्य मुद्दा वा कारणबा६ थुनामा राख्नुपर्ने नदेखिएकाले थुनामुक्त गरिदिनू भनेको छ।
त्यसैगरी अर्का प्रतिवादी लक्ष्मण चौधरीको हकमा भने कैलाली जिल्ला अदालतको फैसला सदर भएको छ। कैलाली जिल्ला अदालतले चौधरीलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो।
जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो। विसं २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो।