काभ्रेमा सहकारी चोरी गरेर भागेका ४ जना पक्राउ
काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेले पनौती नगरपालिका वडा नम्बर ४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । सहकारी चोरी भागेका चार जनालाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरिएको हो ।
पक्राउ परेका चारै जना मकवानपुर जिल्लाका रहेका उनीहरुलाई काठमाडौं र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्रपुरुष ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय अमृत थिङ, २९ वर्षीय गम्भीर भनिने सोमलाल थिङ र वडा नम्बर ५ फाखेलका ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकुबर लामा रहेका प्रहरीले जनाएको छ ।
अमृत र सोमलाललाई काठमाडौंको चन्द्रगिरी नगरपालिका स्याङजाली चोकबाट पक्राउ परेको अन्य दुई अशोक र अकुबरलाई मकवानपुरको फाखेल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद ५ लाख ४५ हजार रुपैयाँ, एक थान भरुवा बन्दुक र सहकारी चोरी गर्दा प्रयोग भएका फलामका विभिन्न सामग्री बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी ढकालले जानकारी दिए ।
५–६ जनाको समूहमा आएका उनीहरुले पिपिइ ड्रेस र मुखमा माक्स लगाइ सहकारीभित्र सुरक्षार्थ खटिएका गार्डलाई एक्कासी नियन्त्रणमा लिइ सहकारीभित्र रहेको भल्ट फुटाइ सो भल्टभित्र रहेको रकम चोरी गरिएको प्रहरी अनुसन्धानमा खुलेको जनाएको छ ।
गत वैशाख १९ गते राति १ बजेर २० मिनेट जाँदा सहकारीका सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर उनीहरुले लुटपाट गरेका थिए । पक्राउ गरिएका चार जनालाई सम्मानित जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सहकारीबाट ३२ लाख ३१ हजार सात सय ४५ रुपैयाँ नगद चोरी गरी फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रे र मकवानपुर प्रहरीको सक्रियतामा पक्राउ गरिएको छ ।
सहकारीमा चोरीमा संलग्नहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपाने र ईलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रेशम बोहरा नेतृत्वको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।