प्रादेशिक जीडीपीमा बागमती सुस्त, रफ्तारमा गण्डकी
काठमाडौं : देशको अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिने बागमती प्रदेश आर्थिक वृद्धिमा सबैभन्दा सुस्त देखिएको छ। चालू आर्थिक वर्षमा देशका सात प्रदेशमध्ये बागमतीको कुल गार्हस्थ्य उत्पादन सबैभन्दा कम दरले बढ्ने भएको हो।
हालसम्मको उपलब्धि र बाँकी अवधि सामान्य रहने अपेक्षा साथ आर्थिक वर्ष २०७९÷८० मा बागमतीको अर्थतन्त्र सबैभन्दा कम १.४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको हो। देशको अर्थतन्त्रमा बागमतीको हिस्सा सबैभन्दा बढी ३७ प्रतिशत छ। बागमतीको कुल गार्हस्थ्य उत्पादन १९ खर्ब ८१ अर्ब पुगेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेशिक राष्ट्रिय लेखा अनुमानका अनुसार चालू आर्थिक वर्षमा प्रदेशको अर्थतन्त्र सबैभन्दा बढी ३.३ प्रतिशतले विस्तार हुने अनुमान गरिएको हो। गण्डकीको अर्थतन्त्र बढेर ४ खर्ब ८२ अर्ब रुपैयाँको हुनेछ। राष्ट्रिय अर्थतन्त्रको ९ प्रतिशत हिस्सा गण्डकी प्रदेश हो।
कार्यालयले चालू आवमा देशको अर्थतन्त्र १.८६ प्रतिशतले विस्तार हुने अनुमान गरेको थियो। कार्यालयको अनुसार बागमतीसँगै मधेस प्रदेशको आर्थिक वृद्धिदर देशको भन्दा सुस्त छ। यता गण्डकीले भने सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने गत वर्षको रेकर्डलाई निरन्तरता दिएको छ। संशोधित अनुमानअनुसार गत आर्थिक वर्ष गण्डकीको आर्थिक वृद्धिदर ६.४ प्रतिशत छ।
हालका दिनहरूमा नेपालमा कोभिड महामारीको प्रभाव छैन। तथापि विश्वका अन्य देशहरूमा भएका घटनाले विश्वव्यापीरूपमा आपूर्ति शृंखला खल्बलिएको छ भने पेट्रोलियम पदार्थलगायतका वस्तुमा भएको मूल्यवृद्धिको असर नेपाली अर्थतन्त्रमा पनि परेको केन्द्रीय तथ्यांक कार्यालयको अनुमान छ।
चालू आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन करिब ५३ खर्ब ८१ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। कर्णाली प्रदेशको सबैभन्दा कम करिब २ खर्ब २१ अर्ब अर्थात् ४.१ प्रतिशत योगदान हुने अनुमान छ। बागमती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान पुर्याउने प्रदेशहरू क्रमशः कोसी, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम हुन्।
संशोधित अनुमानअनुसार गत आवमा मधेस प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम दर ४.६ प्रतिशत रहने देखिएको छ।
औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापहरूलाई हेर्दा गत आव र चालू आवमा बागमती प्रदेशबाहेक सबै प्रदेशहरूमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ। बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी छ। यसो हुनुमा प्रदेशमा बढ्दो सहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोवार आदि हुन्। त्यसैगरी कोसी, मधेस र लुम्बिनी प्रदेशमा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र दोस्रो हिस्सामै कायम छ। बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रोमा छ।
यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा देखिन्छ। बागमती र मधेस प्रदेशबाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ।