बहस आलोचनात्मक राजनीतिको

बहस आलोचनात्मक राजनीतिको

राजनीतिमा रहेका अनेकन विकृति, विसंगति र लुकेका स्वार्थलाई उजागर गर्न आलोचनात्मक विमर्श चाहिन्छ।

आलोचनात्मक संकथन विश्लेषण भाषा विज्ञानबाट सन् १९७० को उत्तरार्धदेखि बेलायत र अस्ट्रेलियाबाट उदय भएको हो। आसविका अग्रणी विद्वान्हरू नर्मन फेयरक्लफ, रुथवोडाक, तिउन ए भानडाइक र पल चिल्टोन हुन्। सन् १९९० को प्रारम्भदेखि नरमन फेयरक्लफले भाषिक र सन्दर्भपरकभन्दा अघि बढेर अभिव्यक्तिको वैचारिकी, सामाजिक शक्ति, वर्चस्व तत्कालीन राजनीतिक परिवेश र ऐतिहासिक परिप्रेक्ष्यमा मूल्यांकन गर्नुपर्ने नवीन धारणा विकास गरेका हुन्। आलोचनात्मक विश्लेषणलाई एउटा दृष्टिकोणको रूपमा लिइन्छ।

आलोचनात्मक संकथन विश्लेषणका प्रमुख तीन दृष्टिकोण छन्। फेयरक्लफले विकास गरेको द्वन्द्वात्मक सम्बन्धको दृष्टिकोण, भान डाइकले विकास गरेको समाज संज्ञानात्मक दृष्टिकोण र रुथ वोडकले विकास गरेको ऐतिहासिक संकथन विश्लेषण। यी तीन दृष्टिकोणलाई समाष्टिगत रूपमा संश्लेषण गरी ‘क्रिटिकल पोलिटिकल डिस्कोर्स’का मान्यताको विभिन्न प्रतिमानलाई आधार मानेर राजनीतिका यावत् पक्षको विश्लेषण गर्न सकिन्छ।

राजनीतिमा व्यक्त भाषा, गालीगलौज, प्रतिस्पर्धा, आलोचना र वैचारिक धरातलको आधारमा विश्लेषण, मूल्यांकन र सन्दर्भका रूपमा चर्चा परिचर्चा गर्न पनि आलोचनात्मक संकथनको उपयोग गरिन्छ। राजनीतिमा प्रयोग भएका भाष्य, कथ्य, झुट, सत्य, प्रोपोगान्डा, पर्चा, प्रयोग आदिलाई सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पक्षसँग तुलनात्मक अध्ययनको कोणबाट हेर्न मिल्छ।

आलोचनात्मक संकथन विश्लेषणमा प्रयोग भइरहने अवधारणाहरूमा शक्ति, अधीनस्थ, वर्चस्व, विचारधारा, जातीय विभेद, लैंगिक विभेद, भौगोलिक विभेद, रंगभेद, सामाजिक व्यवस्था, पुनरुत्पादन, प्रतिरोध र संघर्षजस्ता कुरा पर्छन्। आलोचनात्मक संकथन समस्या वा मुद्दाकेन्द्रित विश्लेषण हो। यसले सामाजिक समस्या जस्तै, यौनिकता, जातीयता, नश्लीयता, वर्गीयता आदि सामाजिक विभेद र असमानताको बारेमा अध्ययन गर्छ। यस्ता विषय र मुद्दामा राज्यको चरित्र, मौलिकता र गुणको विवेचना गर्न ध्यान केन्द्रित गराउँछ। विषय र समस्याको जरामा प्रहार गर्छ। सम्भवतः आलोचना कसैलाई मन पर्दैन। प्रायः मान्छेहरू आलोचनासँग तर्कने र भाग्ने गर्छन्। आलोचना अरुचिकर विषय हो। विद्वान्, बौद्धिक, प्राज्ञ र विज्ञको स्वस्थ आलोचनामा समस्याको पहिचान, निष्कर्ष र निर्देशन हुन्छ। राजनीति यस्तो चिज हो जहाँ आलोचनालाई मन नपराए पनि स्थान दिनुपर्ने बाध्यता सिर्जना भएको पाइन्छ। राजनीतिमा रहेका अनेकन विकृति, विसंगति र लुकेका स्वार्थलाई उजागर गर्न आलोचनात्मक विमर्श चाहिन्छ।

राज्य र वर्चस्वशाली निकाय धर्म, वर्ग र समुदायबाट हुने ज्यादती उत्पीडन, दमन र अधीनस्थ स्थितिको व्याख्या, विश्लेषण र अनुगमनमा आलोचनात्मक दृष्टिबोध चाहिन्छ। आलोचनात्मक हुनु भनेको विरोध भनेर बुझ्ने सोचमा परिवर्तन आवश्यक छ। राजनीतिमा ‘पोलिटिकल पब्लिक डिस्कोर्स’लाई ‘डाइरेक्ट डेमोक्रेसी’को अभिन्न पक्ष भनेर बुझ्नु बुझाउनु जरुरी देखिएको छ। स्वस्थ आलोचनाले राजनीतिक भाष्यमा आएका गुढ रहस्य वा अप्रत्यक्ष रूपमा आएका विचारधारात्मक पक्षहरूको पर्दाफास गर्न र त्यसलाई सतहमा ल्याउन भूमिका निर्वाह गर्छ। यसबाट शक्तिमा रहेका र अरूलाई अधीनमा राखेर व्यवहार गरिरहेका सत्ताधारीहरूका कार्यलाई छताछुल्ल पारेर तिनका वैचारिकता र अभिरुचिलाई तार्किक रूपमा प्रभाव पार्ने र दबाब सिर्जना गर्ने काम गर्छ।

शक्तिलाई दुरुपयोग गर्ने शक्तिशाली वर्ग र सम्भ्रान्तहरूले फैलाएका अवधारणाले मान्छेका मनमा सिर्जना गरेका गलत भाष्य, भ्रम र मस्तिष्कमाथि गरेको नियन्त्रणलाई विनिर्माण गर्न र प्रतिपक्षी स्थान ग्रहणयोग्य बनाउन यसको आलोचनात्मक दक्षता उपयोग भएको हुन्छ। यसले केन्द्र भञ्जन गरेर स्थानीयकरण र विकेन्द्रीकरणमा जोड दिन्छ। स्थानीय स्वायत्तताको कुरा गर्छ।

दमित वर्गसँग सहकार्य गर्न र तिनका पक्षमा आवाज उठाउन सकिने प्रकारको दृष्टिकोण निर्माण गर्न प्रयासरत हुन्छ। यसबाट समाजमा प्रचलित र वर्चस्वशाली विचारधारालाई चुनौती दिने प्रतिशक्तिको विचारधाराको विकास हुन्छ भन्ने यसको मान्यता छ। दमन, जलन र पीडामा परेकालाई सामूहिक प्रतिरोधमा उत्रन, स्वपहिचान र प्रतिनिधित्वमूलक उपस्थिति राज्यका हरेक निकायमा खोज्न र सामाजिक रूपान्तरणमा आफ्नो भूमिका स्पष्ट गरी विभेद अन्त्यका लागि योगदान गर्न उत्प्रेरित गर्छ। विशेषगरी दलित, जनजाति, महिला, पछाडि पारिएको वर्ग र क्षेत्रको हित प्रवद्र्धन मानवाधिकारको रक्षा र समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्न राज्यलाई खबरदारी, निगरानी र साझेदारीमा जोड दिनु यस दृष्टिकोणको उद्देश्य रहन्छ।

निहित सामाजिक सन्दर्भहरूको खोजी, मौजुदा शक्तिसम्बन्धको विमर्श, क्रान्तिकारी रूपान्तरणको वैचारिकी, वर्चस्वमा धावा, अधिकारको दाबी, उन्मुक्तिको आवाज, षड्यन्त्रको भण्डाफोर र कानुनको पालनाबारे व्यापक विमर्शसहित समस्या निरूपणका उपायहरूबारे आलोचनात्मक ‘डिस्कोर्स’ गरिएको पाइन्छ। आलोचनालाई ऐतिहासिक, सन्दर्भपरक, वर्तमान परिप्रेक्ष्यमा आधारित र भवितामुखी भएर विश्लेषण गर्न सकिन्छ। आलोचनात्मक संकथन जीवन मान्यताको संज्ञानात्मक उपस्थिति, सार्वजनिक रूपमा प्रयुक्त भाषाद्वारा निर्मित सामाजिक व्यवस्था र व्यक्तिहरूको अन्तरक्रिया पनि हो। पात्रहरूको द्वन्द्वात्मक परिस्थिति र विरोधाभासपूर्ण परिणतिबारे गर्ने संश्लेषण र विचारको एउटा कडी मान्न सकिन्छ।

कतिपय राज्य सञ्चालक नेता र पार्टीहरूको सम्बोधनको भाषा जनतासँग अनुन्यात्मक हुन्छ भने कतिपयको विद्रोही र निर्देशनात्मक पाइन्छ। यी दुई चरित्रको भिन्नता प्रस्ट पारी नेताको बोलीलाई जनताप्रति उत्तरदायी बनाउन निरन्तर खबरदारी गर्नु आलोचनात्मक विश्लेषणको अभिभारा रहन्छ। विषय र मुद्दाको प्रकृति, अख्तियार दुरुपयोगको स्थिति हेरेर आलोचना अधिक र न्यून हुने गर्छ। पब्लिक डिस्कोर्सको प्रधान विषय भ्रष्टाचारमुक्त देश र सुशासनको पक्ष बनेको छ। भ्रष्टाचारविरुद्द जसरी जनमत बनेको छ, त्यसरी गलत रवैया अपनाएर सम्पत्ति थुपार्नु पनि गलत हो। सम्पत्ति नै मात्र सबथोक होइन, सामाजिक मान प्रतिष्ठा इज्जत र सम्मान ठूलो कुरा हो भन्ने सामाजिक चेतमा पनि आलोचनात्मक विमर्श अपरिहार्य देखिएको छ। राजनीतिलाई पेसा व्यवसाय मान्ने र अकुत आर्जनको साधन बनाउनेको विरुद्ध राजनीतिको तीर खिचिनुमा आलोचनात्मक विमर्शले काम गर्नुपर्छ।

सामाजिक मूल्य निर्माणमा समाजको सामूहिक विचारको भूमिका हुन्छ भन्ने इमाइल दुर्खिमको धारणा छ। आलोचनात्मक संकथन विश्लेषणका आधारभूत सिद्धान्तहरू, सामाजिक समस्यालाई उजागर गर्दै सम्बोधन गर्छ। शक्ति सम्बन्धहरू विमर्शयुक्त मान्छ, समाज र संस्कृतिको निर्माण गर्छ। विचारधारात्मक कार्य गर्छ। आलोचनात्मक विमर्श विश्लेषणात्मक, व्याख्यात्मक र वर्णनात्मक हुन्छ। संकथन सामाजिक क्रियाको एउटा रूप हो। राजनीतिमा आलोचनात्मक डिस्कोर्स एनालाइसिस अनिवार्य साधनको रूपमा विकास गरी अधिस्थापित मान्यता दिएर लैजानुपर्छ। अन्यथा राजनीति अझ दिग्भ्रमित हुने सम्भावना ज्यादा रहन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.