मुस्ताङ रुटमा चल्ने लामो दूरीको यातायात भाडा घट्यो
जोमसोम : मुस्ताङ रुटमा चल्ने लामो दूरीको यातायातका सवारी साधनमा बिहीबारदेखि लागू हुने गरिएको नयाँ भाडादर समायोजन गरिएको छ। परिवर्तित समायोजन गरिएको भाडादर कायम गर्न यातायात व्यवसायी तथा यातायात व्यवसायीका प्रतिनिधि सहमत भएका हुन्।
मुस्ताङ रुटमा चल्ने लामो दूरीका सवारी साधनमा भाडादर महँगो भएको गुनासो सेवाग्राहीले उठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले भाडादर घटाउन पहल गरेको हो। बुधबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा प्रजिअ अनुप केसीको रोहबरमा यातायात व्यवसायीहरू, सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दलकका प्रतिनिधि र पत्रकार सम्मिलित अनौपचारिक बैठकले लामो दूरीको (जोमसोम-पोखरा) यातायात सेवाका लागि २० प्रतिशत र लामोदुरीको (जोमसोम-काठमाडौं) यातायात सेवाका लागि १३ दशमलव ०४ प्रतिशत भाडा घटाइएको हो। लामो दूरीको परिवर्तित समायोजन गरिएको भाडादर अनुसार जोमसोम-पोखरा एक हजार २ सय र जोमसोम-काठमाडौं यात्राका लागि २ हजार कायम गरिएको हो।
यसअघि जोमसोम-पोखरा यात्राका लागि १५ सय भाडादर रहेकोमा ३ सय घटाएर १२ सय कायम गरिएको हो। त्यसैगरी जोमसोम-काठमाडौं यात्राका लागि २ हजार ३ सय भाडादर रहेकोमा ३ सय रुपैयाँ घटाएर २ हजार रुपैयाँ कायम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। प्रजिअ केसीका अनुसार भौगोलिक विकटता र यातायात व्यवसायीहरूको समस्या र चुनौतिलाई मध्यनजर गर्दै नयाँ भाडादर समायोजन भएको उल्लेख गरे।
भाडादर समायोजन गर्न बसेको बैठकले जोमसोम-काठमाडौं र जोमसोम-पोखराबीचको स्थानमा यात्रा गर्ने यात्रुहरूको लागि घटाइएको भाडाको अनुपातमा सडक सहज र असहजको अवस्था मूल्यांकन गरी चाँडै भाडादर निर्धारण गरिने बताइएको छ।
मुस्ताङ रुटमा चल्ने ४ वटा समितिका सवारी धनी र समितिका प्रतिनिधिले आफ्ना समस्या प्रशासनसमक्ष राखेका थिए। उनीहरूले व्यक्तिगतरूपमा प्रयोग हुने रातो प्लेटको सवारी साधनले पटक-पटक यात्रु ओसार-पोसार गरेको र यसले लामो दूरीका यातायात व्यवसायीलाई मर्का परेको बताएका छन्। उनीहरूले मुस्ताङ भित्रिने रातो प्लेट र नगर बसलाई प्रशासन र प्रहरीले नियमन गर्न अनुरोध गरेका छन्।
प्रशासनले लामो दूरीमा चल्ने बसको भाडादर समायोजन गरेसँगै केही दिनभित्रै जीप र ट्याक्सीहरूको पनि बैठक बसेर भाडादर समायोजन गर्ने जनाइएको छ। बैठकमा यात्रु बुकिङका लागि बिचौलियाले लिने कमिसनलाई पनि कडाईका साथ निगरानी गरिने प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए। उनले सार्वजनिक सवारी हुन् या होइन र रुट इजाजत छ/छैन त्यसको समेत अनुमगन गरिने बताए।