१७ वर्षीय किशोरद्वारा बालिकाहरूको अश्लिल भिडियो संकलन र ब्ल्याकमेलिङ
बालबालिकालाई सामाजिक सञ्जालमा अभिभावकको निगरानी आवश्यक
काठमाडौं : बारा जिल्ला घर भएका यादव थरका उनी भर्खर १७ बर्षका भए । उनी हाल घट्टेकुलोमा रहेको एक होस्टलमा बसेर कक्षा ११ मा अध्ययन गर्छन् । प्रायजसो कलेज जाँदैनन् उनी ।
कलेज नगइ होस्टलमै बसेर ल्यापटपमा घोत्लिने उनको बानी पत्याउन नसक्ने खालको छ । उनलाई नाबालिकाहरुको अश्लिल भिडियो संकलन गर्ने, ब्लु फिल्म हेर्ने र अश्लिल भिडियो हेर्ने लत लागेको छ । यही लतले उनलाई प्रहरीको हिरासतमा पुर्यायो।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तरगतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भैरहेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले दिएको जानकारी अनुसार केही दिनअघि ४ जना नाबालिका लिएर एक महिला व्युरोको कार्यालय भोटाहिटीमा आएकी थिइन् । बालिकाहरु लिएर अत्तालिंदै महिला आएपछि व्युरोका अनुसन्धान अधिकृत सशंकित भए । बालिकामध्ये एक जना केही लोलाएको देखिन्थिन् । बोल्दै नबोल्ने र डराउने स्वभावकी थिइन् । उनकी आमाले उनलाई साथीहरुसँगै साइबर व्युरो ल्याएकी थिइन् ।
रिता केसी ‘नाम परिवर्तन’ १२ वर्षकी भइन् । उनी भक्तपुरमा बुवा र दाइबहिनीसँगै बस्छिन् । नजिकैको स्कुलमा कक्षा ७ मा पढ्ने उनी फुर्सदको बेलामा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्थिन् । शिक्षण पेशामा संग्लन उनकी आमा काठमाडौं बाहिर नै बस्छिन् । उनका बाबु डेकोरेसन कम्पनीमा काम गर्छन् । दिदी र भाइसँगै स्कुल जाने उनी एकाएक घरमा फरक व्यवहार देखाउन थालिन् । बाथरुम जाँदा घण्टौ बस्ने । एकान्तमा घोत्लिइरहने । स्कुल जान मन नगर्ने, तर्सिने गर्न थालिन्।
साइबर व्युरोका इन्सपेक्टर राजकुमार खड्कीका अनुसार व्युरोमा आउँदा बाथरुम पसेकी रिता निकै बेर बाहिर निस्कन मानिनन् । निकै जोडबलले उनलाई बाहिर निकालियो । खड्की भन्छन्, 'बाहिर निस्कदा पुरै अचेत जस्तो थिइन् उनी । किन ढिला गरेको भनेर सोध्दा मलाई थाहा नै भएन भन्ने जवाफ दिएकी थिइन् ।'
कुराकानीको क्रममा रिता अनलाइन यौन दुर्व्यवहारमा परेको थाहा भयो । केही समयअघिदेखि उनी युवकसँग कुराकानी गर्ने गरेको अनुसन्धानमा खुलेको छ । इन्स्टाग्राम अकाउन्टमा आफ्नो सही परिचय राखेका युवकले फेसबुक आइडी भने विदेशी नामको बनाएका थिए। महिना महिनामा आइडी परिवर्तन गर्थे । प्रहरीका अनुसार युवकले इन्स्टाग्रामबाट नाबालिकाहरुसँग कुराकानी गर्थे । फोटा आदानप्रदान हुन थालेपछि उनले उक्त फोटोको टाउको अन्य व्यक्तिको नग्न फोटोमा जोडेर बालिकाहरुलाई पठाउने गर्थे । उक्त फोटो सार्वजनिक गरिदिने धम्की दिंदै बालिकालाई उस्तै प्रकारको नग्न फोटो र भिडियो खिचेर पठाउन दबाब दिन्थे ।
अनुसन्धानका क्रममा ती युवकले अन्य बालिकालाई पनि तेस्तै हर्कत गर्दै म्यासेज पठाउने गरेको खुलेको छ । रिताकै कक्षामा पढ्ने अन्य ३ जना बालिकालाई पनि उसले त्यस्तै फोटो पठाएको बुझिएको छ । अन्य बालिकाले युवकको धम्कीलाई टेरेनन् । उक्त आइडी नै ब्लक गरिदिए । तर मानसिक रुपमा हतोत्साहित भएकी रिताले आफ्नो नग्न फोटो र भिडियो युवकलाई पठाइन् । त्यसपछि उसले रितालाई स्कुल बंक गरेर भेट्न आउन दवाव दिन थाले । युवकले दवाव दिन थालेपछि नाबालिका मानसिक रुपमा विच्छिप्त हुन थालिन् । साथीहरुको सहयोगमा उनको आमासँग घटनाको बारेमा बताएपछि यो घटना साइबर व्युरो समक्ष आएको थियो ।
व्युरोका इन्सपेक्टर राजकुमार खड्गीका अनुसार व्युरोले यस घटनाको अनुसन्धान सुरु गरेको छ । यही जेठ १ गते राती उक्त युवक बस्ने होस्टलमा प्रहरीले छापा हानेको थियो । उक्त होस्टलमा उनीसहित २८ जना युवक बस्ने रहेछन् । घट्टेकुलोमा रहेको उक्त होस्टलमा उनी बस्ने कोठामा प्रहरीले प्रवेश गर्दा सुरुमा उनले आफूले उक्त कार्य नगरेको बताएका थिए । अनुसन्धानको क्रममा युवकले अन्य बालिकालाई पनि उस्तै हर्कत गरेर दुख दिने गरेको खुलेको छ । उनको ल्यापटपमा विभिन्न बालिकाहरुको नग्न फोटो र भिडियो फेला परेको छ ।
साइबर व्युरो प्रमुख एसएसपी नविन्द्र अर्यालका अनुसार बालबालिकालाई मोबाइल दिएपछि अप्रत्यक्ष रुपमा निगरानी गर्नुपर्ने हुन्छ । उनी भन्छन्, ‘१८ वर्ष पनि नपुगेको युवकको यस्तो हर्कत सुन्दा पत्याउनै नसकिने छ । युवकले ५ महिनामा ४ वटा फेसबुक अकाउन्ट बनाएको र यस्ता भिडियो फेला परेपछि फेसबुक अकाउन्ट डिलिट गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।’
बालबालकिालाई सामाजिक सञ्जालमा पहुँच दिंदा निकै विचार गर्नुपर्ने अर्यालले बताए । उनी भन्छन्, 'आवश्यक पर्दा बाहेक अन्य समयमा सकभर सामाजिक सञ्जाल प्रयोग गर्न दिनु हानिकारक हुन्छ । बच्चा सानै छन् भनेर बेवास्ता गर्दा उनीहरुले सामाजिक सञ्जालमा कहाँ के गरिरहेका छन् थाहा नहुन सक्छ । सबैले साइबर अपराधको विषयमा जान्न आवश्यक छ । अप्रत्यक्ष रुपमा बालबालिकाको सामाजिक सञ्जालमा निगरानी बढाउन उनले सुझाए।