मह सिकारको महाउत्सव

मह सिकारको महाउत्सव
धार्चे गाउँपालिका–३ खोर्लाको निम्रुङखोलामा मह सिकार गर्दै । शिव उप्रेती
सुन्नुहोस्

अहिले गोरखाका लेकतिर मह सिकार गर्ने सिजन सुरु भएको छ। विशेषगरी २२ सय मिटरभन्दा अग्ला लेकहरूमा अहिले दैनिक भीर मौरीको मह सिकार हुन्छ।

गोरखा : भारतीय सेनामा कार्यरत धार्चे–३ खोर्लाका धनराज गुरुङ एक साताअघि छुट्टीमा आए। निम्रुङखोलामा मह उत्सव हुने दिन नजिकिएपछि घर बिदामा आएका हुन्।

उनी आएपछि गत जेठ १ गतेदेखि गाउँमा मह सिकारको सिजन सुरु भएको छ। सुरुमा निम्रुङखोलामा मह उत्सव गरेर सिजन सुरु हुन्छ। निम्रुङखोलाको छाँगोमा सामूहिक मह सिकार गरिन्छ, त्यसपछि अरू ठाउँको सिकार हुन्छ। यहाँबाहेक अरू ठाउँमा आ–आफ्नो क्षेत्र छुट्याई मह सिकार गरिन्छ। गत मंगलबारदेखि निम्रुङखोलामा भीरमौरीको मह सिकार सुरु भएको छ। धार्चे गाउँपालिकाको सहयोगमा त्यहाँ केही वर्ष अघिदेखि मह सिकारलाई उत्सवकै रूपमा मनाउने गरिन्छ।

धनराज सिकारु मह सिकारी हुन्। उनी मह सिकारीका सहयोगी हुन्। उनका बुबा सूर्य गुरुङ अग्रपंक्तिका मह सिकारी हुन्। केही वर्ष अघिसम्म हजुरबुबा डम्बर गुरुङ प्रमुख सिकारी थिए। छोरा र नातिले मह सिकारको अभिभारामा काँध हालेपछि ७७ वर्षका डम्बर गुरुङ अहिले खुसी छन्। ‘मह सिकार गर्न थालेको हाम्रो आठ पुस्ता भयो’, उनी भन्छन्, ‘खोर्ला गाउँको सबैभन्दा पहिलो मह सिकारी हाम्रो पुर्खा टुनी हुन्। त्यसपछि हाम्रो बाजे दमै गुरुङले सिकार गर्न थाले। त्यसपछि हाम्रो बाउ कुम्सिङ, बाउपछि हाम्रो दाइ लालबहादुर, दाइपछि म डम्बर, अहिलेचाहिँ छोरा सूर्यबहादुरले सिकार गरिरहेको छ। नाति धनराजले पनि सिक्न थालेको छ।’ मह सिकार गर्दागर्दै हजुरबुबा दुलु गुरुङको डोरीबाट खोलामा खसेर मृत्यु भएको उनले बताए।

हजुरबुबाको मृत्यु भए पनि आफूहरू कर्तव्यबाट पछि नहटेको उनको भनाइ छ। ‘बाजे डोरीबाट खसे भनेर डराएर काम छाड्ने कुरै भएन’, उनी भन्छन्, ‘बाजे खसे पनि बुबाले काम सम्हाले। बुबा नसक्ने भएपछि दाइले सम्हाले। दाइपछि मैले सम्हालेको हुँ। अहिले छोराले सम्हालिरहेको छ।’ नयाँ पुस्ताका नातिले पनि पुर्खाको काममा चासो देखाएपछि खुसी लागेको उनको भनाइ छ। ‘जति जोखिम भए पनि मह निकाल्न छोरानाति तम्सिँदा औधि खुसी लागेको छ’, उनले भने, ‘भीर मौरीको मह धेरै रोग बिमारको औषधि हो। यो निकाल्ने सामाजिक काम हो। मह बेचेर गाउँलेलाई दुईचार पैसा कमाइ पनि हुन्छ। मह बेचेको पैसाले समितिको कोषमा अलिअलि बचत पनि हुन्छ।’ यस वर्ष मह काढ्यो भने अर्को वर्ष पनि मौरीले चाका लाउने उनको भनाइ छ। ‘मह काढेन भने मह सुकेर जान्छ। अर्को वर्ष त्यहाँ आउँदा पनि आउँदैन’, उनले भने, ‘त्यसैले मह सिकार गर्नुपर्छ।’

अहिले गोरखाका लेकतिर मह सिकार गर्ने सिजन सुरु भएको छ। विशेषगरी २२ सय मिटरभन्दा अग्ला लेकहरूमा अहिले दैनिक भीर मौरीको मह सिकार हुन्छ।

गोरखाको विशेषगरी धार्चे र अजिरकोट गाउँपालिकाका लेकहरूमा मह सिकार गर्ने गरिन्छ। धार्चेको वडा नं. ३ को उहिया, खोर्ला, वडा नं. ४ को लाप्राक, वडा नं. १ को हुल्चुक, वडा नं. ७ को नौली खोलामा भीर मौरीको मह सिकार गरिँदैछ।  ‘अग्लो भीर र ठूलो खोलाको छहराको छेउछाउ, अप्ठ्यारो ठाउँमा मौरीले मह पार्छ’, सिङ्लाका राज गुरुङ भन्छन्, ‘सबैभन्दा धेरै यहाँ निम्रुङ खोलामा २१ वटा मौरीको चाका छ। मूलबाटोबाट सबैभन्दा नजिक पर्ने र खोर्ला गाउँबाट पनि नजिक पर्ने भएकाले यहाँ चाहिँ गाउँपालिकाले उत्सवको रूपमा मनाउने गरेको छ।’

गाउँका धामी, जैसीले भीरमौरीको सिकार गर्ने साइत जुराउँछन्। मह सिकार गर्ने मुख्य सिकारीको सल्लाह सुझावअनुसार सिकार गर्ने अघिल्लो दिनमा गाउँका युवा महको गोला आसपास सरसफाइ गर्न भेला हुन्छन्। महिला र पुरुषले गर्ने कामको श्रम विभाजन गर्छन्। झाडी फाँड्ने, खोलामा फड्के हाल्ने, भीर चढ्नका लागि डोरीको भर्‍याङ बनाउने, मौरी धपाउन धुवाँ लगाउने भाँडा बनाउने, मह काढ्ने घोचा बनाउने, चाका काट्ने र भुइँमा झार्ने उपकरणहरू बनाउँछन्। 

मह काढ्दा अप्रिय घटना नहोस् भनेर अघिल्लो दिनको साँझमा कुखुरा काटेर सिमेभुमे पूजा गर्छन्। त्यसरात कतिपय मौरीको गोलो कुरेर जंगलमै बास बस्छन्, कतिपय घर फर्कन्छन्। भोलिपल्ट बिहान झिस्मिसेमै खाना खाइवरी दिउँसोलाई झोलाभरि खाजा लिएर मह सिकार गर्न जान्छन्।

यहाँ मह सिकार गर्नका लागि गाउँभरिका बासिन्दा हरेक घरको कम्तीमा एकजनाका दरले उपस्थित हुन्छन्। एकठाउँका सकेपछि त्यहाँभन्दा माथिको मौरीको सिकार गर्न अलगअलग जाने चलन हुन्छ’, उनी भन्छन्, ‘सामूहिक रूपमा मह काढ्दाचाहिँ पुरुष आलोपालो गरी मह काढ्ने, कोही डोरी समात्ने, कोही डोकोहरू पुग्न दिने, कोही मह भरेर पठाएको डोको समात्ने, कोही ओसार्ने गर्छन्।

महिला चाहिँ मौरी भगाउन सुकेको र हरियो स्याउला पोलेर धुवाँ उडाउने, चाका निचोरेर मह बनाउने र मह काढ्न भेला भएका सिकारी दललाई घरबाट लगेको खाजा खुवाउने काम गर्छन्। उत्सवमा भेला भएकाहरूलाई दामासाहीले मह बाँड्ने काम पनि उनीहरूले नै गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.