उदयपुरमा ३६ जनालाई निःशुल्क चस्मा वितरण
उदयपुर : उदयपुरका क्रियाशील पत्रकारहरूलाई निःशुल्क चस्मा वितरण गरिएको छ।
नेपाल पत्रकार महासंघको ६८ औँ स्थापना दिवसका अवसरमा गत चैत्र १३ गते नेपाल नेत्रज्योति संघ र मदन भण्डारी आँखा अस्पतालको समन्वयमा आयोजित निःशुल्क शिविरमा आँखाका समस्या देखिएका ३६ जना पत्रकारलाई चस्मा बनाएर उपलब्ध गराइएको हो।
शिविरमा आँखा जाँच गराएका ५६ जना सक्रिय पत्रकारमध्ये ३६ जनाको आँखा कमजोर देखिएको चिकित्सकको सल्लाहअनुसार चस्मा उपलब्ध गराएको संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष भागवत राउतले बताए।
उनले पत्रकारहरू निरन्तर कम्प्युटर लगायत प्रविधिमा बसेर काम गर्नु पर्ने भएकाले आँखाका कारण देखिने समस्यालाई थोरै भएपनि समाधान गर्न चश्मा उपलब्ध गराएको बताए। राउतले भने, ‘पत्रकार समाजको ऐना हुन्, जे देख्यो त्यहीँ चित्रण गर्ने हो, यस्ता समाजका अभिन्न अंगलाई हामीले सानो सहयोग गरेका हौ।’
उनले नेत्रज्योति संघ र महासंघ बीच आँखाका समस्या भएका पत्रकारलाई निःशुल्क चश्मा उपलब्ध गराउने समझदारी अनुरूप आवश्यकताका आधारमा उपलब्ध गराएको बताए। मदन भण्डारी आँखा अस्पतालको अध्यक्षसमेत रहेका राउतले आँखाका समस्या भएका पत्रकारलाई उपचारका लागि सहकार्यसमेत गर्न सकिने बताए।
समाजलाई प्रष्ट पार्ने जिम्मेवारी पत्रकारमा रहेकाले पहिले पत्रकारहरूको आँखा स्वास्थ्य राख्नका लागि आफूहरूले सहकार्य गरेको उनले बताए। ‘पत्रकार र आफ्नो संस्थाका उद्देश्य एउटै छ,’ अध्यक्ष राउतले भने, ‘तपाईंहरूले समाजलाई आँखा देखाउने हो, हामी दृष्टिविहीनहरूको आँखा देखाउँछौं।’