मुक्तिनाथमा अन्तर्राष्ट्रिय ‘ज्योतिष, वास्तु तथा तन्त्र’ सम्मेलन
जोमसोम : मुस्ताङको मुक्तिनाथ मन्दिरमा ज्योतिषहरूको ‘ज्योतिष, वास्तु तथा तन्त्र ’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनका लागि नेपालको अधिकांश जिल्लाका ज्योतिष विज्ञ तथा भारतबाट डा. अशोक कुमार मिश्र, लगायतको टोली सहभागी छन्।
धार्मिक पर्यटन प्रवर्द्धन, सबै विभिन्न ज्योतिष विधामा अनुभव, आदानप्रदान, ज्योतिषको जिज्ञासाहरूको समाधान, ज्योतिष आचारसहिंताको कार्यान्वयन गर्न र ज्योतिषी गुरुहरूलाई विभिन्न अवार्डद्वारा सम्मान वितरण गर्ने लगायतका कार्यक्रम समेट्दै दक्षिण एसियाली ज्योतिष महासंघ गण्डकी प्रदेशले सम्मेलन आयोजना गरेको हो।
ज्योतिष वास्तु तथा तन्त्र अन्तर्राष्ट्रिय सम्मेलन जेठ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने जनाइएको छ। यसका लागि विश्व ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषदको समेत सहभागी रहेको बताइएको छ।
सम्मेलनमा भाग लिन नेपाल र भारतका गरी ६२ जनाको सहभागिता रहेको दक्षिण एसियाली ज्योतिष महासंघ गण्डकीका अध्यक्ष विष्णु सुवेदीले जानकारी दिए।
दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थी, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष सहदेव बिष्ट, आचार्य लक्ष्मण गौतम लगायतका ज्योतिषका विद्वानहरूको उपस्थिति रहेको ज्योतिष महासंघ गण्डकीका अध्यक्ष सुवेदीले बताए।
उनले गण्डकी प्रदेश ज्योतिष महासंघले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरकै पहिलो कार्यक्रम मुक्तिनाथधामबाट सुरु गरेको बताए। सम्मेलनमा ज्योतिष वास्तु तथा तन्त्रको पूर्वीय दर्शनका विभिन्न क्रियाकलाप सञ्चालन हुने अध्यक्ष सुवेदीको भनाइ छ।
ज्योतिष, वास्तु तथा तन्त्र सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेलले एक समारोहकाबीच उद्घाटन गरे।
उनले धार्मिक क्षेत्र मुक्तिनाथबाट सुरु भएको सम्मेलनले विश्व समुदाय माझ ज्योतिष, वास्तु तथा तन्त्रको शिक्षा, प्रवर्द्धन र धार्मिक पर्यटनलाई टेवा पुग्ने बताए।
वास्तु तथा ज्योतिष सम्मेलनमा फलित ज्योतिष सम्बन्धी डा. लोकराज पौडेल, वास्तु सम्बन्धी आचार्य लक्ष्मण पन्थी, तन्त्र ज्ञान सम्बन्धी डा.सहदेव विष्ट र धर्मशास्त्र सम्बन्धी पण्डित विष्णु प्रसाद सुवेदीले प्रशिक्षण दिने बताइएको छ।
अन्तर्राष्ट्रिय सम्मेलनको पहिलो दिन मुक्तिनाथ मन्दिरमा वैदिक पूजा अनुष्ठान, तान्त्रिक अनुष्ठान र करिब २० जनालाई विशेष सम्मान र सहाभागीहरूलाई मुक्तिनाथ अवार्डद्वारा सम्मान गरिएको अन्तर्राष्ट्रिय समितिका सभापति लक्ष्मण पन्थीले जानकारी दिए। सम्मेलनमा श्री खाटु महाराज भित्तेपात्रोको पनि लोकार्पण गरिएको उनले बताए।
सभापति पन्थीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट ज्योतिषहरू एकै स्थानमा उपस्थित भई सम्मेलन आयोजना भएको र यसलाई धार्मिक पर्यटनलाई टेवा पुग्ने विस्वास व्यक्त गरे।