संघीय अस्पताललाई स्वास्थ्यमन्त्रीको निर्देशन : ओपीडी अनलाईन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउनू
काठमाडौं : स्वास्थ्य मन्त्रालयले दुई वर्षसम्म पनि प्रयोग नभएका स्वास्थ्य उपकरणलाई फिर्ता लिइ आवश्यकता अनुसार अर्को अस्पतालमा पठाउने भएको छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कुनै अस्पतालमा दुई वर्षसम्म पनि प्रयोग नभएका वा प्रयोग हुन नसक्ने स्वास्थ्य उपकरणलाई स्वास्थ्य सेवा विभागले फिर्ता लिइ आवश्यकता अनुसार अर्को अस्पताललाई मन्त्रालयको सहमतिमा हस्तान्तरण गरिने जानकारी दिए।
त्यस्तै उनले स्थान नभएर वा जनशक्ति नभएर पनि उपकरण खरिद गरेका अस्पताललाई स्पष्टिकरण सोधिने जानकारी दिए । अब स्वास्थ्य उपकरण खरिद गर्दा न्युनतम सेवा मापदण्डले औल्याए अनुसारका सामग्री मात्रै मन्त्रालयको समन्वयमा खरिद गर्ने,प्रत्येक अस्पताललाई आगामी २ वर्षको कार्ययोजना बनाएर पेश गर्न लगाउने र सो अनुसार आवश्यक उपकरण मात्रै खरिद गर्ने मन्त्री बस्नेतले बताए।
उनले स्वस्थ्य सेवा विभागलाई खरिद एवं वितरण प्रक्रियालाई थप व्यवस्थित गर्न र सबै अस्पतालको उपकरण जाँच गर्न निर्देशन दिएको पनि उल्लेख गरे। मन्त्री बस्नेतले सबै संघीय अस्पतालमा ओपीडी अनलाईन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन निर्देशन दिएको बताए।
मन्त्री बस्नेतले आफ्नो जेनेभा भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्र राष्ट्रहरू दाताहरू तथा सम्बद्ध निकायहरूसँग पनि भेट गर्ने र नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तार एवं सुधारका बारेमा छलफल हुने जानकारी दिए।