मुस्ताङको घरपझोङमा हरेक महिनाको पहिलो शुक्रबार सरसफाई
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकामा हरेक महिनाको पहिलो शुक्रबार सरसफाई गरिने अभियान सुरु भएको छ।
सदरमुकाम समेत रहेको जोमसोम बजारक्षेत्रलाई स्वच्छ,सफा,सुन्दर र वातावरणमैत्री तुल्याउन घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी शुक्रबार पालिका सरसफाई अभियान सुरु गरेका हुन्।
उनीहरूले जोमसोमस्थित पक्की पुलको कालीगण्डकी नदीको तटीय क्षेत्रसहित जोमसोम बजारक्षेत्रको वृहत् सरसफाई गरेका हुन्। सरसफाईमा पालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ३५ जनाको सहभागिता रहेको थियो।
सरसफाईका क्रममा निक्लिएका कुहिने फोहोरलाई जलाएर नष्ट गरिएको छ भने नकुहिने सिसाका बोतल,फलाम,प्लास्टिक र टिन जस्ता फोहोरलाई एकत्रित गरी व्यवस्थापन गरिएको छ।
अभियान अन्तर्गत पालिकाका जनप्रतिनिधि र कर्मचारीले कालिगण्डकी नदी तथा जोमसोम बजारक्षेत्रको वृहत् सरसफाई गरेका छन्।
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको रोहबरमा जोमसोम बजारमा वृहत सरसफाई गरिएको बताइएको छ।
फोहोरमैलाबाट विभिन्न रोगको संक्रमण बढ्ने र यसले सदरमुकामको सौन्दर्यलाई प्रतिकुल बनाउन सक्ने भन्दै उक्त अभियान सञ्चालन गरिएको हो।
यसअघि घरपझोङ गाउँपालिकाले प्रत्येक महिनाको पहिलो हप्ता शुक्रबारको दिन जोमसोम बजार क्षेत्र र कालिगण्डकी नदीको वृहत सरसफाई गर्ने निर्णय गरेअनुसार जनप्रतिनिधि र कर्मचारी फोहोर व्यवस्थापन तथा सरसफाईमा जुटेको गाउँपालिकाका अध्यक्ष लालचनले जानकारी दिए।