गोलभेडा खेतीबाट आत्मनिर्भर बन्दै दोलखाका युवा
दोलखा : भीमेश्वर नगरपालिका-४ जिलुका रमेश चौलागाईं व्यावसायिक गोलभेडा खेतीतर्फ आकर्षित भएका छन्।
सडकको सहज पहुँचसँगै घरमै बसेर आम्दानी गर्न सकिने भएपछि उनी तरकारी खेतीतर्फ आकर्षित भएका हुन्।
जिल्लाकै परिचित गाउँ जिलु तरकारी उत्पादनका लागि उर्वर भूमिका रूपमा चिनिन्छ। जिलुको तरकारी, दूध र खाद्यान्नले चरिकोटमा खपत हुँदै आएको छ। तर कुनै एक व्यवसायले पनि आत्मनिर्भरता बनाउन भने सकेको छैन।
चौलागाईंलाइ सर्व मावि जिलुमा कृषि बाली विज्ञान अध्ययन गरेका सोही वडाका सचिन चौलागाईंले साथ दिएका छन्। करिब एक वर्ष अगाडि आफ्नै ४ रोपनी र भाडामा ४ रोपनी गरी जम्मा ८ रोपनी जग्गा लिएर व्यावसायिक गोडभेडा खेतीको सुरुवात गरेका थिए।
वैशाख जेठको समयमा गोलभेडाको उच्च मूल्य हुने हुँदा आफैं उत्पादन गरेर दोलखालाई आत्मनिर्भर बनाउने उद्देश्यले थोपा सिँचाइ प्रविधिबाट करिब २० लाखको लगानीबाट गोलभेडा खेती सुरु गरिएको चौलागाईंको भनाइ छ।
'अहिले गोलभेडाको उत्पादन सुरु भएर बजार गइसकेको छ मैनापोखरी बजार,जिरी बजार र सिँगटी बजारमा पनि गोलभेडा पुगिसकेको छ,' उनले भने।
अर्गानिक रूपमा उत्पादन गरिएको गोलभेडा खेतीबाट अबको केही समयमा दोलखामा जिलुको उत्पादनले पुग्ने व्यवसायी रमेश चौलागाईंको भनाइ छ।
'दोलखामा सातामा ७० देखि ७२ क्रेट गोलभेडा खपत हुन्छ। हामी हप्तामा १ सय क्रेट उत्पादन गर्छौ। यसैले पनि हामी दोलखालाई चाहिने गोलभेडा पुर्याउन सक्छौं। यसै वर्ष गोलभेडा फर्ममा कर्मा एण्ड कर्मा जातको गोलभेडा १ सय ६५ ग्रामको फलाउन सफल बनेका छौ, अबदेखि दोलखालीले बाहिरबाट आएको गोलभेडा खानु पर्दैन,' उनले भने।
अहिले मासिक १ लाखको गोलभेडा बिक्री हुने गरेको छ। एक मौसममा करिब ४५ लाख बराबरको गोलभेडा बिक्री गर्ने लक्ष्य रहेको व्यवसायी चौलागाईंले बताए। 'दैनिक १५ जनाभन्दा धेरै स्थानीय महिलाहरूले फर्ममा प्रत्यक्ष रोजगारी प्राप्त गर्न सफल भएका छन्। अझै कामदार अपुग छन्, उनले थपे।
रासायनिक विषादीको प्रयोग नगरी परम्परागत जैविक विषादीको प्रयोग गरेर उत्पादन गरिएका गोलभेडाको महत्व उपभोक्तालाई बुझाउन नसक्दा बाहिरबाट आउने विषादीयुक्त गोलभेडासँग प्रतिस्पर्धा गर्न चुनौती रहेको चौलागाईंको गुनासो छ।
भीमेश्वर नगरपालिका-४ का वडाध्यक्ष तारानाथ चौलागाईंका अनुसार अहिले पनि ५ देखि ७ जना वैदेशिक रोजगारका लागि वडामा सिफारिस लिन आउँछन्। 'युवाको विदेश पलायन रोक्न कृषि विकास अनिवार्य सर्त हो।
यसका लागि प्रदेश सरकारले लगानी गर्न जरुरी छ। किसानका उत्पादनलाई बजारीकरण गर्न स्थानीय सरकारले पहल गर्ने छ। जिलुलाई कृषिको पकेट क्षेत्र बनाउने योजना रहेको वडाध्यक्ष चौलागाईंले बताए।
गाउँका उत्पादन सहज रूपमा बजार लैजान जिलु भटमासे सडक पक्की हुने क्रममा छ। ५ वर्षे कार्यकालमा वडाभित्रका सबै कृषि सडक निर्वाध रूपमा सञ्चालन गर्न सक्ने बनाएर अर्गानिक उत्पादन गर्दै कृषि हबका रूपमा विकास गर्ने वडाको योजना रहेको अध्यक्ष चौलागाईंको भनाइ छ।