नविल बैंकको धरान शाखाबाट पनि चोरी भयो ग्राहकको रकम
धरान : धरान उपमहानगरपालिकामा रहेको नविल बैंकबाट ग्राहकको खाताबाट रकम चोरी गरिएको छ। नविल बैंकको धरान शाखामा रहेको सारदा राई र श्याम थुलुङको खातामा भएको रकम हराएको हो।
नविल बैंक धरान शाखाबाट आफ्नो ६६ हजार ३ सय ५० रुपैयाँ नगद हराएको धरान १३ की सारदा राईले बताएकि छन्। उनले आफ्नो खाताबाट पटक पटक गरी अन्य बैंकको खातामा रकम ट्रान्सफर गरि आफ्नो पैसा चोरी गरिएको बताएकी हुन्। उनले बैंकबाट रकम चोरी भएपछि रकम चोरी गर्नेहरुलाई पक्राउ गरि कारबाहि र आफ्नो चोरी भएको पैसा फिर्ताको माग राखेर इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको बताइन्।
त्यस्तै धरानका श्याम थुलुङले पनि नविल बैंकमा रहेको आफ्नो खाताबाट ८० हजार रुपैयाँ चोरी भएको बताएका छन्। उनले बैंकबाट गत बैशाख ३१ गते उक्त रकम चोरी भएको बताए। रकम चोरी भएपछि उनले पनि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन्। दुबै जनालाई अपरिचित व्यक्तिले बैंकबाट फोन गरेको भन्दै खाता नम्बर मागेर बैंक खाता ह्याक गरि रकम चोरी गरेको पीडितहरुले बताएका छन्।
उनले ग्राहकहरुको रकम ह्याक गरि ठगि गर्नेलाई पत्ता लगाउन बैंकको केन्द्रिय कार्यालयमार्फत पहल भइरहेको बताए। इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले नविल बैंकबाट ग्राहकको रकम हराएको विषयमा अनुसन्धान भइरहेको बताए।
यता एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख म्यानेजर सिन्धुपाल्चोक घर भएका बिश्वराज शाक्यसहित कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए।
एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए।