बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
वीरगन्ज : बारामा १३ वर्षिया एक बालिकालाई बलात्कार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको आदर्श कोतवाल गाउँपालिका-३ घटनियाका २५ वर्षीय बिशोरी बैठा रहेका छन्।
प्रहरीका अनुसार गत कात्तिक १६ गते राति साढे ९ बजे बैठा र उनका साथीले शौचालय गर्न घर बाहिर निस्किएकी गाउँकै १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए।
बलात्कारको घटनालगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।
काभ्रेबाट पक्राउ परेका बैठालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पाण्डेले बताए।
घटनामा संलग्न बैठाका साथी अझै पनि फरार रहेकाले उनको पनि खोजी भइरहेको पाण्डेले बताए।