अझै बनेन वडा कार्यालयको भवन

अझै बनेन वडा कार्यालयको भवन

धनकुटा : जिल्लाको सहिदभूमि गाउँपालिका-१ को वडा कार्यालय भवन अझै निर्माण हुन सकेको छैन। वडा केन्द्र कहाँ राख्ने भन्ने विषयमा सहमति हुन भवन निर्माण हुन नसकेको हो। 

वडा स्थापना भएको ६ वर्ष बितिसक्यो। तर वडा केन्द्रको विषयमा अझै टुंगो लाग्न सकेको छैन। अहिले वडा कार्यालय अस्थायी रूपमा सेतीचोक स्थित निजी घरबाट कार्यालय सञ्चालन भइरहेको छ। वडा केन्द्र नतोकिएकै कारण २०७५ सालमा भवन निर्माणका लागि आएको बजेट समेत फिर्ता भएको थियो। 

जनप्रतिनिधि निर्वाचित हुनुअघि राज्य पुनर्संरचना आयोगले वडा नम्बर १ को केन्द्र धापलाई तोकेको थियो। तर २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बसेको पहिलो गाउँसभा बैठकले घङ्घरीलाई वडा केन्द्र तोक्ने निर्णय गर्‍यो। गाउँसभाको बहुमत सदस्यले उक्त निर्णय पारित गरेको थियो। गाउँसभा बैठकमा घङघरीको पक्षमा १८ र धापको पक्षमा १० मत आएको थियो।   

गाउँसभाको उक्त निर्णय विरुद्ध धापका स्थानीयले तत्कालीन गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे। अदालतमा मुद्दा दायर गरेपनि पछि सहमतिमा उक्त मुद्दा फिर्ता भएको थियो। 

त्यसबेला राजनीति संयन्त्रले वडाको केन्द्र टेक्केडाँडा हुनुपर्छ भन्ने अडान लिएका थिए। यस वडा अत्यन्तै विकटमा पर्छ। एकतिरबाट तमोर नदी बगेको छ भने अर्को तिरबाट अरुण नदीले घेरिएको छ।  

सर्वदलीय छलफल सुरु

वडा केन्द्र तोक्ने विषयमा सर्वदलीय छलफल सुरु गरेको वडाध्यक्ष रमेश राईले बताए। दुई चरणमा छलफल गरिएको उनले बताए। गत फागुन २७ र वैशाख १० गते वडाका सबै टोललाई समेट्ने गरी प्रतिनिधिमूलक रूपमा सर्वदलीय बैठक गरिएको थियो। 

वडाध्यक्ष राईका अनुसार छलफलबाट घर्घरी, टेम्केडाँडा, सेति चोक र धाप मध्ये एक ठाउँ हुनुपर्ने प्रस्ताव आएका छन्। सर्वपक्षीय छलफलबाट निर्णय हुनासाथ वडाबाट कार्यपालिका बैठकमा स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रस्ताव लगिने र उक्त प्रस्ताव गाउँसभाको बैठकबाट पारित गरिने उनले बताए। 

जीर्ण भवनमा कार्यसञ्चालन

सेती चोकको डाँडामा एउटा कच्ची घर छन्। सोही कच्ची घरमा विगत ६ वर्षदेखि वडा कार्यालय सञ्चालनमा छ। कर्मचारी र जनप्रतिनिधिको कार्यकक्ष एउटै कोठामा छ। भवन सेवाग्राही मैत्रीपूर्ण छैन। 

साँघुरो कोठा हुँदा कार्यसञ्चालनमा समस्या हुने गरेको वडा सचिव अरविन्द केसीले बताए। कोठा अभावमा वडा समितिको बैठक बस्न समेत असहज हुन्छ। वडा समितिको कतिपय निर्णय गोपनीयताको हिसावले संवेदनशील हुन्छ। वडा समितिको बैठक सञ्चालन हुँदा कर्मचारी बाहिर जानुपर्ने अवस्था समेत सिर्जना उनले बताए।

२०७४ असोज २९ गते प्रमाणीकरण भई जारी भएको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५ को वडाको संख्या, सीमाना र केन्द्र सम्बन्धको उपदफा ३ मा सभाले सम्बन्धित वडाको सिफारिसमा देहायका आधारमा तत्काल कायम रहेका सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरी वडाको केन्द्र तोक्नेछ भनेर उल्लेख गरेको छ। 

उक्त उपदफाले (क) जनसंख्या तथा जनसंख्या वितरणको अवस्था, (ख) भौगालिक निरन्तरता, अनुकूलता तथा विशिष्टता, (ग) भाषिक सांस्कृतिक तथा सामाजिक विशिष्टता, (घ) सेवा सुविधा वितरण अवस्था र सुगमता, (ङ) विद्यमान भौतिक पूर्वाधार लगायतलाई आधार मानेको छ।

त्यस्तै सोही ऐनको दफा ६ वडाको संख्या र सीमाना हेरफेर गर्न सक्ने सम्बन्धको उपदफा ७ मा कुनै वडाको केन्द्र हेरफेर गर्न आवश्यक भएमा वडा समितिको परामर्शमा गाउँसभा वा नगर सभामा तत्काल कायम रहेको सदस्य​​ संख्याको दुई तिहाइ बहुमतले प्रस्ताव पारित गरी वडाको केन्द्र हेरफेर गर्न सक्नेछ। 

तर यो ऐन प्रारम्भ भएपछि पहिलो पटकका लागि गाउँसभा वा नगर सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतले प्रस्ताव पारित गरी वडाको केन्द्र हेरफेर गर्न सक्नेछ भनि व्याख्या गरिएको छ।

यता सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले सर्वदलीय छलफल भई वडाबाट निर्णय आएको खण्डमा गाउँसभाले वडा केन्द्रको निर्णय गर्नसक्ने बताए। उनका अनुसार तर प्रस्तावको रूपमा भन्दा पनि परामर्शका रूपमा आउन आवश्यक छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.