एउटै बौलाहा कुकुरको टोकाइबाट २० जना घाइते
वीरगन्ज : वीरगन्जमा शनिबार एउटा बौलाहा कुकुरको टोकाइबाट २० जनाभन्दा बढी मानिस घाइते भएका छन्।
रातो खैरो रंगको कुकुरले शनिबार दिउँसो १ बजेदेखि शहरको विभिन्न स्थानमा मानिसहरूलाई टोक्दै हिँडेको र साँझसम्म नारायणी अस्पतालमा २० जनाभन्दा बढी मानिस उपचारका लागि आएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटीले बताए।
दिउँसो १ बजेतिर वडा नम्बर ६ रामटोलस्थित ६ नम्बर गेट अगाडिको सडकमा एक व्यक्तिलाई टोकेको उक्त कुकुरले त्यसपछि पानगल्ली, माइस्थान, घण्टाघर, रानीघाट, छपकैया लगायतका टोलमा पुग्दै सडकमा भेटिएका जोकोहिलाई जथाभावी टोकेर आतंकित बनाएको उनले बताए।
उक्त बौलाहा कुकुरको टोकाइबाट घाइते भएका २० जना व्यक्ति उपचारका लागि अस्पतालमा आएको अस्पतालका प्रवक्ता डाक्टर उदयनारायण सिंहले जानकारी दिए।
उनका अनुसार कुकुरले टोकेर घाइते बनाएका २० जना मध्ये प्रायः सबै बालबालिका नै रहेका छन्। कुकुरको टोकाइबाट घाइते भएकामध्ये एक जनाबाहेक अरू सबै ३ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरू रहेका छन्।
टोलटोलमा पुगेर मानिसलाई टोकेर घाइते बनाएको उक्त कुकुरलाई साँझ ६ बजेतिर आदर्शनगरस्थित जैन धर्मशाला भवन पछाडिबाट वीरगन्ज महानगरपालिकाको टोलीले नियन्त्रणमा लिएर व्यवस्थापन गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।