उच्च शिक्षा अध्ययन गर्ने छात्राहरूलाई साइकल र नगद सहयोग
सिन्धुली : जिल्लाको मरिण गाउँपालिकाले पालिकामा उच्च शिक्षा अध्ययन गरिरहेका १ सय ६५ जना छात्रा तथा किशोरीलाई साइकल र प्रोत्साहान स्वरूप नगद सहयोग गरेको छ।
दोस्रो निर्वाचनबाट निर्वाचित भई कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा पालिकाले कक्षा ११ मा अध्ययनरत १६० जना छात्रालाई एकेक थान साइकल र विवाह अघिनै स्नातक तह उतिर्ण पाँच जना किशोरीलाई जनही एक एक लाख रुपैयाँ प्रदान गरेको हो।
गाउँपालिकाको अध्यक्ष शिक्षा सुधार कार्यक्रम अनुसार अविवाहित छात्राहरूलाई प्रोत्सहान स्वरूप जनही एक/एक लाख र कक्षा ११ का छात्राहरूलाई साइकल प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले जानकारी दिए।
रकम पाउनेहरूमा मन कुमारी कडेल, चित्र कुमारी कडेल ,रजनी मैनाली, सुकृता घिसिङ र विमला तामाङ रहेका छन्।
स्नातक उतीर्ण गरेपछि मात्र विवाह गर्ने छात्राहरूलाई पालिकाले एक/एक लाख रुपैयाँ उपहार दिने व्यवस्था गरेपछि सानै उमेरमा विवाह गर्ने र बीचैमा कक्षा छाड्ने छात्राहरूको संख्यामा कमी आउने अपेक्षा गरिएको पालिकाका अध्यक्ष मोक्तानले बताए।
यस्तै उच्च शिक्षा अध्ययनका लागि छात्राहरूलाई विद्यालयसम्म आउनजान सहज होस् भन्ने उद्देश्यले छात्राहरूलाई साइकल वितरण गरिएको हो।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार साइकल र प्रोत्साहन रकम प्रदान गरिएको हो।