पर्सामा १४ हजारभन्दा बढी बालबालिका पूर्ण खोपबाट वञ्चित
वीरगन्ज : पर्सामा गत पाँच वर्षको अवधिमा १४ हजार बढी बालबालिका पूर्ण खोपबाट वञ्चित भएका छन्।
स्वास्थ्य कार्यालय पर्साको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालू आर्थिक वर्ष २०७९/८० सम्म जिल्लाका १४ वटै पालिकामा गरी पूर्णखोपबाट १४ हजार ७१५ बालबालिका वञ्चित भएका हुन्।
जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई विभिन्न १० प्रकारका खोप नेपाल सरकारले स्वास्थ्य संस्थाहरू मार्फत निःशुल्क उपलब्ध गराउँदै आएको छ।
सरकारले जिल्लाका हरेक वडामा खोपकेन्द्र स्थापना गरि निशुल्क खोप उपलब्ध गराउँदै आएको भएपनि जिल्लामा यति धेरै संख्यामा बालबालिकाहरू पूर्ण खोपबाट बञ्चित हुन पुगेका हुन्।
जिल्लाको १४ पालिकामध्ये सबैभन्दा बढी वीरगन्ज महानगरमा मात्रै ७ हजार ५९३ बालबालिका पूर्ण खोपबाट वञ्चित हुन पुगेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी गराए।
पर्सामा चालू आर्थिक वर्ष २०७९/८० मा पूर्णखोप (१० वटै प्रकारका खोप ) लिनुपर्नेमा बीचमै खोप लिन छाड्ने (ड्रप आउट) बालबालिकाको संख्या २६ प्रतिशत रहेको ठाकुरले बताए।
वीरगन्ज महानगरपालिकामा भने ड्रप आउट हुने बालबालिकाको संख्या झन् धेरै अर्थात् ३८ प्रतिशत रहेको ठाकुरले बताए।
खोप केन्द्रमा खटिने स्वास्थ्यकर्मीको लापरबाही, चाडपर्वका बेला खोप सेसन सञ्चालन नहुनु, खोप सेसनको सञ्चालन मिति र समय निश्चित नहुनु, अभिभावकहरूको हेलचेक्रयाई, अभिभावकमा सचेतनाको कमी लगायतका कारणले जिल्लामा यस्तो समस्या देखिएको ठाकुरले बताए।
त्यसैलाई मध्यनजर गरी स्वास्थ्य कार्यालय पर्साले वीरगन्जमा आइतबारदेखि स्वास्थ्यकर्मीका लागि तीन दिने पुनर्ताजगी तालिम सञ्चालन गरेको छ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि पुनर्ताजगी तालिमममा जिल्लाका १४ वटै पालिकामा रहेका सरकारी ३३ वटा र निजी ४ वटा स्वास्थ्य संस्थाका गरि ९२ जना स्वास्थ्यकर्मी सहभागी छन्।