ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्न महायज्ञ
दोलखा : जिल्लाको शैलुङ गाउँपालिका-७, फस्कुमा रहेको चर्नावती धाममा नवाह ज्ञान महायज्ञ सुरु भएको छ। त्यहाँ रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्न महायज्ञ सञ्चालन गरिएको हो।
पूर्व मन्त्री आनन्द पोखरेलको विशेष पहलमा महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत प्राप्त झण्डै तीन करोड रुपैयाँको लागतमा चर्नावती त्रिवेणी विकास तथा प्रवर्द्धन संघले केन्द्र निर्माण गरेको थियो।
नयाँ आर्थिक वर्षबाट केन्द्र सञ्चालन गरिने संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताए। महायज्ञ जेठ १५गतेसम्म सञ्चालन हुनेछ। महायज्ञको मुख्य वाचक संस्कृतविद् विदुषी प्राध्यापक डाक्टर कान्ता भट्टराई रहेका छन्।
महायज्ञको प्रारम्भ संस्कृतविद् जगमान गुरुङले गरेका थिए। महायज्ञले धामको प्रचारप्रसारमा टेवा पुग्नेछ।
उनले दोलखामा प्रचारप्रसार गर्नुपर्ने धेरै ठाउँ रहेको बताउँदै गौरीशंकर र च्छोरोल्पा तालका बारेमा सबैभन्दा बढी प्रचारप्रसार गर्न पनि सरोकारवालाहरूलाई आग्रह गरेका थिए।
सोही अवसरमा पूर्व मन्त्री पोखरेलले ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गरेका छन्।