महायज्ञको पहिलो दिनमा नै ६ लाख बढी आर्थिक संकलन
दोलखा : दोलखाको शैलुङ गाउँपालिका-७ फस्कुस्थित चर्णावती धाममा सञ्चालन गरिएको महायज्ञको पहिलो दिनमा नै ६ लाख बढी आर्थिक संकलन भएको छ।
जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि आयोजना गरिएको श्रीमदभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रमको पहिलो दिन ६ लाख ८२ हजार ७ सय १५ रुपैयाँ रकम संकलन भएको छ।
दोलखाको शैलुङ गाउँपालिका-८ का समाजसेवी सोभित उप्रेतीले ३ लाख रुपैयाँ प्रदान गरेको चर्णावती त्रिवेणी विकास तथा प्रवर्द्धन संघ दोलखाका अध्यक्ष गुणबहादुर बुढाथोकीले जानकारी दिए।
उनका अनुसार उप्रेतीलाई महायज्ञका अवसरमा सम्मान समेत गरिएको थियो। त्यसैगरी शैलुङ गाउँपालिका-७ मा रहेको भद्रेश्वर कृषि सहकारी संस्थाले १ लाख १ हजार १ सय रुपैयाँ तथा राप्रापका केन्द्रीय सदस्य प्रवीण कुमार थोकरले १ लाख १ हजार रकम प्रदान गरेका छन्।
जिल्लाको शैलुङ गाउँपालिकाको अध्यक्ष रिमाल बाबु श्रेष्ठले १५ लाख रुपैयाँ रकम अक्षयकोषमा राख्ने घोषणा गरेका छन्।
मेलुङ गाउँपालिकाको अध्यक्ष हिराकुमार तामाङले केन्द्र सञ्चालनका लागि अक्षयकोषमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा १० लाख रुपैयाँ रकम छुट्याउने गरेका छन्।