मुस्ताङमा दोस्रो प्रदेशस्तरीय तारा खेल प्रतियोगिता हुने
जोमसोम : मुस्ताङमा विगत लामो समयदेखि परम्परागत सांस्कृतिक रूपमा खेलिने ‘तारा’ खेल प्रतियोगिता आयोजना हुने भएको छ। पछिल्लो समय यस तारा खेललाई आर्चरी खेल भन्ने गरिएको छ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा निर्मल स्पोर्टिङ क्लब थासाङ-३ लेतेको समन्वयमा दोस्रो प्रदेश स्तरीय परम्परागत ‘तारा’ खेल प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिता यही जेठ १७ र १८ गते थासाङको लेतेस्थित समाज घरमा सञ्चालन हुने निर्मल स्पोर्टिङ क्लब लेतेका अध्यक्ष महेन्द्र गौचनले जानकारी दिए।
खेलका लागि गण्डकी प्रदेशको ११ वटै जिल्लामा सहभागिताका लागि पत्राचार गरिएको भएपनि हालसम्म ६ जिल्लाका खेलाडीले सहभागिता जनाउने निश्चित भएको अध्यक्ष गौचनले बताए। खेलमा मुस्ताङसहित म्याग्दी,बाग्लुङ,पर्वत,कास्की र मनाङका तारा खेलाडीले सहभागिता जनाउने छन्।
प्रतियोगितामा प्रत्येक जिल्लाबाट ६ जना खेलाडीको सहभागिता रहने छ। प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीयले ५० हजार र तृतीय हुनेले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रदेश खेलकुद परिषदले जनाएको छ।