उदयपुरको कटारीमा चट्याङले लागेर बालकको मृत्यु
उदयपुर : उदयपुरको कटारी नगरपालिका १२ चिलाउनेमा चट्याङले लागेर मंगलबार एक बालकको घटनास्थलमा नै ज्यान गएको छ । गाईगोठमा बसिरहेको बेलामा वर्षासँगै परेको चट्याङले लागेर स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्गबहादुर तामाङको ज्यान गएको हो ।
लगातार परेको पानी नरोकिएपछि बालक गोठमा नै ओत लागेर बसेका थिए ।
घटनास्थलमा नै ज्यान गुमाएका बालकलाई प्रहरी चौकी बसेरी र ईलाका प्रहरी कार्याल कटारीको टोलीले आवश्यक सर्जमिन मुचुल्कापछि कटारी अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरीनन्दन चौधरीले जानकारी दिए ।