मुस्ताङमा विश्वशान्ति प्रणिधान पूजा
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीस्थित काग छोदे गुम्बामा शनिबारदेखि सुरु भएको पाँचौं विश्वशान्ति प्रणिधान (मोन्लम) पूजा बुधबार सकिएको छ।
मुस्ताङ साक्या बौद्ध संघको आयोजना तथा व्यवस्थापनमा विश्वशान्ति प्रणिधान (मोन्लम) पूजाको अन्तिम दिन तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङको ५ वटै स्थानीय तहका बौद्ध धर्ममा आस्था र विश्वाश राख्ने सयौं सर्वसाधारण नागरिकले ४२औं गद्दीधारी रिन्पोर्छेबाट आर्य अवलोकितेश्वरको अभिषेक आशिष (वाङ)ग्रहण गरे।
विश्वशान्तिको कामना गर्दै मुस्ताङ साक्या बौद्ध संघले यसप्रकारको धार्मिक पुजा मुस्ताङमै रहेका गुम्बाहरुबीच बर्सेनि आलोपालो आयोजना गर्ने गरेको छ। लगातार ५ दिनसम्म चलेको विश्वशान्ति पूजाको पहिलो,दोस्रो र तेस्रो दिनको कार्यक्रममा दिनहुँ स्थवीर पूजा र प्रणिधानको उच्चारण, चौथो दिनको कार्यक्रममा तीनै रिन्पोर्छेहरूको अध्यक्षतामा सबै संघहरूद्वारा सर्वविद वैरोचना शुद्धीकरणविधिको वाचन गरिएको थियो। पूजाको पाँचौं तथा अन्तिमदिन श्रद्धालु भक्तजनहरुलाई आर्य अवलोकितेश्वरको अभिषेक आशिष (वाङ) र धार्मिक प्रवचन दिइएको थियो।