लथालिंग विकासको प्रतिबिम्ब सडक
ऐन, कानुनका छिद्रमा खेलेर जसरी निर्माण अलपत्र पार्ने गरिएको छ, त्यसको समूल अन्त्य नभएसम्म सडकमा मात्रै होइन विकासको हविगत जताततै लथालिंग र भताभुंग नै भइरहन्छ।
देशका दुईकुना पूर्व–पश्चिम जोड्ने राजमार्गको यात्रा यति नै समयको हुन्छ भनेर कसैले भन्न सक्दैन। नारायणगढदेखि बुटवलसम्मको खण्ड जुन स्तरोन्नति हुँदैछ, त्यहाँ वर्षौंदेखि काम अलपत्र छ। गाडी सजिलै गुड्न पाउँदैनन्। काम सकिने छेकछन्द छैन।
राजधानी काठमाडौं र पर्यटकीय गन्तव्य पोखरा जोड्ने पृथ्वी राजमार्गको यात्रा दिनभर लाग्छ। कारण त्यही हो–स्तरोन्नतिको काम र खाल्डाखुल्डी सडक। सडकको बिजोग देशका प्रमुख राजमार्गमै त्यस्तो छ भने अन्त त झन् भन्नै परेन। त्योभन्दा बढी बिजोग अन्त छ। राजधानी सहरकै जोरपाटी–चाबहिल सडक खण्डको कन्तबिजोग अन्त्य भएको धेरै भएकै छैन, त्यस्ता कष्टसाध्य दृश्य राजधानीमा अरू कति छन् कति। राजधानी जोड्ने मुख्य सडक सञ्जाल पृथ्वी राजमार्ग भए पनि त्यसबाहेक त्रिभुवन राजपथ वा कान्ति राजमार्गको हालत पनि उही हो, जताततै भताभुंग र लथालिंग अनि हिलो र धुलोमात्रै।
सर्वसाधारण आउजाउको एकमात्रै विकल्प सडकको बिजोगले देशको हालत बुझाउँछ। देश विकासको पहिलो सूचक नै सडक हो। त्यसैमा हुन्छ– देशको विकास र समृद्धिको प्रतिबिम्व। अहिले देशभरका सडक कतै स्तरोन्नतिका कारण, कतै पुराना भई भत्केबिग्रेर हरिबिजोग अवस्थामा छन्। सडकको दुरवस्थाले सर्वसाधारणको दैनिक यात्रामात्रै कष्टकर भएको छैन, ढुवानीका सम्पूर्ण साधनलाई पनि सास्ती छ। थोत्रो सडकमा धेरै समयको कष्टकर यात्रा भनेको दिक्दारीपूर्णमात्रै हुँदैन, आर्थिक रूपमा पनि नोक्सानी पर्ने खालको हुन्छ। निजी र सार्वजनिक लगायत सम्पूर्ण सवारी साधनलाई जुनखालको नोक्सानी थोत्रा सडकहरूका कारण भएको छ, त्यसको हिसाब वा लेखाजोखा गरिसाध्यै छैन।
सडक स्तरोन्नति गर्न पनि खण्डखण्डमा ठेक्का त दिइन्छ तर काम भने एकैचोटि गर्दा सबैतिर लथालिंग र भताभुंगमात्रै देखिन्छ। काम सुरु गर्ने तर बेलामा नसक्ने प्रवृत्ति र विकास निर्माण गर्दा भाँती नपुर्याउने हुँदा नै आज देशभरका सडकहरू सडकजस्ता नभई केवल ट्र्याकमात्रै खुला भएका बाटाजस्ता भएका छन्। यस्तो दुरवस्थाको अन्त्यका लागि निर्माण कम्पनीहरू पनि व्यवस्थित हुन जरुरी छ। भनेका बेलामा काम गर्न सरकारले उनीहरूलाई नियमनमा कुनै पनि सम्झौता गर्न हुँदैन।
ऐन, कानुनका छिद्रमा खेलेर जसरी निर्माण अलपत्र पार्ने गरिएको छ, त्यसको समूल अन्त्य नभएसम्म सडकमा मात्रै होइन विकासको हविगत जताततै लथालिंग र भताभुंग नै भइरहन्छ। आहालजस्ता बेहाल सडक त नेपालको विकासको तौरतरिकाका प्रतिबिम्बमात्रै हुन्।