थप हवाई रुटबारे नेपाल– भारत छलफल जारी

थप हवाई रुटबारे नेपाल– भारत छलफल जारी
सांकेतिक तस्बिर।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नयाँ हवाई रुट स्वीकृतिका लागि वार्ता केन्द्रित

काठमाडौं : अन्तर्राष्ट्रिय जहाजको नेपाल छिर्ने हवाई विन्दु (इन्ट्री प्वाइन्ट) थप गर्ने सम्बन्धमा नेपाल र भारतबीच वार्ता भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरपोर्टस् अथोरिटी अफ इन्डियाका पदाधिकारीबीच भारतमा वार्ता भइरहेको हो।

नेपालका तर्फबाट मन्त्रालय सहसचिव बुद्धिसागर लामिछाने, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको प्राविधिक टोली नयाँ हवाई रुटको सम्बन्धमा भारतसँग सहमतिका लागि वार्तामा रहेको प्राधिकरणले जानकारी दिएको छ। 

बुधबारदेखि भारतमा जारी वार्तामा बिहीबार पनि छलफल भएको तर निष्कर्षमा पुग्न नसकिएको प्राधिकरण स्रोतले जनाएको छ। यो छलफल मुख्यतया पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नयाँ हवाई रुट स्वीकृतिको बारेमा केन्द्रित रहेको स्रोत बताउँछ। यसका लागि भैरहवा, नेपालगञ्ज र वीरगन्जको इन्ट्री प्वाइन्ट स्वीकृतिको सम्बन्धमा भारतसँग छलफल भइरहेको छ। अहिले अन्तर्राष्ट्रिय विमानहरू सिमराबाट मात्रै नेपाल छिर्छन्।

यस्तै, भैरहवामा अवतरणका लागि आवश्यक उपकरणमा आधारित अत्याधुनिक प्रणाली (इन्स्टु«मेन्ट ल्यान्डिङ सिस्टम–आइएलएस) गर्दा भारतीय भूमि (एयर स्पेस) छुने हुँदा यसका लागि भारतसँग साझा सम्झौताको सम्बन्धमा पनि छलफल भइरहेको छ। नेपाल र भारतले प्रयोग गर्न सक्ने गरी कमन युज अफ एयरस्पेशका लागि छलफल भइरहेको स्रोत बताउँछ। धावनमार्गमा जडान गरिएको आइएलएसले खराब मौसम, कम दृश्यता, अँध्यारोको समयमा नै सहजै जहाज अवतरणका लागि मदत गर्छ। आइएलएस प्रयोगमा भारतले असहमति जनाउँदै आइरहेको छ।

साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य उडान हुन नसकिरहेको अवस्थामा इन्ट्री प्वाइन्ट भैरहवा वा नेपालगंज या अरू गर्ने सम्बन्धमा पनि छलफल भइरहेको छ। योसँगै अन्य प्राविधिक विषयमा छलफल भइरहेको स्रोत बताउँछ। 

सिमराबाट मात्रै जहाज छिर्दा २० देखि २५ मिनेट बढी लाग्ने र संचालन खर्च बढ्ने हुँदा अन्तर्राष्ट्रिय विमान कम्पनीले चासो नदिएको प्राधिकरणले बताउँदै आएको छ। 

नेपालले दशकदेखि नै नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग छलफल गर्दै आएको छ। भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल गर्दै आएको छ। 

नेपाल–भारतबीच हुने कुनैपनि किसिमका उच्चस्तरीय भेटवार्तामा नयाँ हवाइमार्गको सम्बन्धमा छलफल हुने गरेको छ। करिब ५ वर्षपछि भइरहेको यो छलफल प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको केहि समय अघि भएको छ। यस पटकको प्रधानमन्त्रीको भ्रमणमा भारतले महेन्द्रनगरबाट इन्ट्री प्वाइन्टको स्वीकृति दिनसक्ने स्रोत बताउँछ। महेन्द्रनगर हवाई इन्ट्री प्वाइन्टका लागि भारत सकारात्मक रहेको स्रोतको भनाइ छ। तर, सुरक्षाका कारण देखाउँदै भैरहवाका लागि भारत सकारात्मक नभएको पनि बुझिएको छ। 

प्राधिकरणले भारतीय निकायसँग नयाँ रुटको विषयमा लामो समयदेखि छलफल गर्दै आएको छ। तर, भारतले हालसम्म यो विषयमा निष्कर्षसहितको निर्णय भने दिन सकेको छैन। यसले गर्दा भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भित्र्याउने सरकारको योजना अलपत्र पर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.