सिन्धुली अस्पतालमा सेवा अबरुद्ध

सिन्धुली अस्पतालमा सेवा अबरुद्ध
सिन्धुली अस्पतालको आकस्मिक कक्षमा सूचना टाँसेर लगाइएको ताल्चा।
सुन्नुहोस्

सिन्धुली : मंगलबार गर्भवती महिलाको मृत्यु भएपछि सिन्धुली अस्पतालमा भएको विवाद साम्य भएको दुई दिन भइसक्दा पनि डाक्टरहरू काममा नफर्कदा सबै सेवा बन्द भएका छन्। 

अस्पतालका डाक्टर तथा कर्मचारीहरू काममा नफर्कँदा बिहीबारसमेत बिरामीहरूले सेवा लिन पाएका छैनन्। अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पीडित पक्षबीच भएको बुधबारको वार्तामा तिन बुँदे सहमति भएको थियो। घटनाका विषयमा सत्य तथ्य छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गर्ने, मृतकका आफन्तले शव बुझ्ने, अस्पताल व्यवस्थापनले नियमित सेवा दिने सहमति भएको थियो। 

तर, सहमतिपछि पनि अस्पतालमा कार्यरत १४ जना डाक्टरहरूले सामूहिक पत्र लेख्दै सेवा प्रवाह गर्न नसक्ने भन्दै काममा नफर्केपछि इमरजेन्सी सेवासमेत बन्द गरिएको छ। बुधबार बिहानै सहमति भए पनि दिउँसोसम्म आक्रोशित भीड र प्रहरीबीच झडप भएको थियो। तर, बिहीबार पनि डाक्टरहरू काममा नफर्केपछि भने जिल्लाबासी झन् आक्रोशित भएका छन्। 

अस्पतालमा सयौंका संख्यामा आएका विरामी डाक्टरले सेवा नदिने भनेपछि अन्यत्र जान बाध्य भएका छन्। डाक्टरको कमजोरीका कारण गर्भवती महिलाको मृत्युका विषयमा छानबिनपछि सत्य कुरा आउने भए पनि अन्य डाक्टरहरूले हड्ताल गरेर नागरिकले स्वास्थ्य उपचार पाउने अधिकारबाट बञ्चित गराइएको दिपक श्रेष्ठले गुनासो गरे। डाक्टरको हड्ताल देखाएर घटनाको ढाकछोप गर्न लागिएको भन्दै उनले अस्पतालको सेवा दिन नसक्ने व्यवस्थापन समितिलेसमेत राजीनामा दिनु पर्ने माग गरे।

गर्भवती महिलाको मृत्युका कारण उनीहरूका परिवार कति पीडित छन् भन्ने हेक्कासमेत नराखी उल्टै डाक्टरहरूले आफ्नो मानसपटलमा सेवा दिन नसक्ने अवस्था आएको भन्नु गैरजिम्मेवार र धम्कीपूर्ण व्यवहार भएको भन्दै मृतक महिलाका आफन्तहरूले प्रतिक्रिया दिएका छन्। डाक्टरहरूले भने जिल्ला प्रशासन कार्यालयलाईसमेत बोधार्थ लेखेर काममा फर्कन दबाब दिए सामूहिक राजीनामा दिने धम्कीसमेत दिएका छन्। 

कमलामाई नगरपालिका–५ सिलामेकी २६ वर्षकी गंगाकुमारी गुरुङ श्रेष्ठको प्रसूति गराउने क्रममा सिन्धुली अस्पताल ल्याएकोमा डाक्टरले प्रयोग गरेको सुईका कारण मृत्यु भएको पीडित पक्षको आरोप छ।

उक्त घटनालाई दिएर मंगलबार र बुधबार सिन्धुली अस्पताल परिसर तनावग्रस्त बनेको थियो। आक्रोसित भिडले अस्पतालका भौतिक संरचनामाथि तोडफोड गरेर क्षति पु¥याएका  थिए।  यस्तो अवस्थामा काम गर्न नसक्ने भन्दै डाक्टरहरूले सहमतिपछि पनि अस्पताल व्यवस्थापन समितिलाई पत्र लेख्दै धम्की दिएका हुन्। 

अस्पतालमा सेवा सुरु हुन नसकेको स्वीकार गर्दै अस्पताल व्यवस्थापक विमल श्रेष्ठले स्थानीय प्रशासन, मेडिकल काउन्सिलका प्रतिनिधिले घटनाबारे छानविन नगरेसम्म काममा नफर्कने डाक्टरहरूले बताएको जनाए। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिस ढकालले अस्पतालमा अबरुद्ध सेवाहरू सूचारु गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसिरहेको जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.