विश्वेश्वर विहंगम

सोमदत्ताजस्ता पात्रहरूले कहिलेकाहीँ निन्द्रा भत्काउँछन्। किताब पढेकै भरमा पात्रहरू मनमुटुमा बसे भने सम्झनुस् त्यो लेखक अमर हो। बिपी तिमीलाई सम्झिरहेछु !

विश्वेश्वर विहंगम
सुन्नुहोस्

बिपीको विश्लेषण छ– नारी र पुरुष भिन्न जगत् हुन्। उनीहरूको मनोजगत् परस्पराच्छादित हुँदैन; आंशिक मिल्छ; त्यो पनि प्रेमले जोडेर। प्रेम, यौवन अनि वासना कसरी परिभाषा गरेर भिन्न गर्न नसकिने तत्त्वहरू बोकेर हिँड्नुपरेको छ मानवले।

घरको कुनै एक कुनाको सोफामा बसेर पनि दिनदिनै नयाँ ठाउँ घुम्छु। दिनदिनै नयाँ पात्रको जीवन जिउँछु। कहिले म अफ्रिकाको कुनै जंगलमा पुगेकी हुन्छु त कहिले अन्टार्कटिकामा पेनगुइनसँग बात मार्दै हुन्छु। कस्तो रमाइलो छ, हामी पाठकको जिन्दगी। एउटा किताब साथमा भयो भने सारा संसार घुमिसके जस्तो लाग्छ।

मानव शरीरको अन्त्य एकदिन अवश्य छ। मृत्यु शाश्वत छ तर कृति युगौंयुग बाँचिदिन्छ, बाँचिरहन्छ। एक स्रष्टा छिट्टै नै समय समाधीमा पसेर शान्त भइसकेको हुन्छ। तर, त्यही स्रष्टा फेरि ब्यँुझेर आउँदैन, उसको सिर्जना पनि फेरि अर्को स्वरूपमा आउँदैन। परन्तु त्यसका पाठक र दर्शक त प्रत्येक युगमा नयाँ दृष्टि अनि नयाँ चेतना लिएर आइरहन्छन्, गइरहन्छन्।

बिपी अर्थात् विश्वेश्वरप्रसाद कोइरालाको कुरा गर्दा उनलाई नचिन्ने कोही छैन। कसैले राजनीतिज्ञको नामले चिन्लान् त कसैले साहित्यकार सम्झेलान्। उनी दुवै हुन्, जसरी सम्झे पनि पाइन्छ। तर म उनलाई साहित्यकारका रूपमा विशेष चिन्छु। बिपीको साहित्य लेखन असाध्यै रसिलो लाग्छ। नेपालको राजनीतिक क्षेत्रमा मात्र होइन, आर्थिक, सामाजिक, साहित्यिक, सांस्कृतिक प्रवृत्ति सबै क्षेत्रमा युगान्तकारी जागरणका प्रेरणास्पद व्यक्तित्व लाग्छन्। जननायक उनलाई कसैले पनि बिर्सन सक्दैन।

मनोवैज्ञानिक विश्लेषकका रूपमा चिनिने बिपीको नेपाली साहित्यमा बेग्लै र विशिष्ट योगदान छ। साहित्यकार उनले फ्रायडवादी दर्शनमा आधारित कथा लेखेपछि नेपाली साहित्यमा यौनले स्थान पाएको अधिकांश समालोचक तथा लेखकले स्वीकारेका छन्। उनले १९९२ सालको शारदा पत्रिकामा चन्द्रवदन शीर्षकको कथा लेखेर नेपाली साहित्यमा यौन मनोविज्ञान प्रवेश गराए। तर उनले यो चन्द्रवदन कथा लेख्नुअघि नै हिन्दी भाषामा कविता लेखेर साहित्यको सुरुआत गरेका थिए। एक नवीन चेतना ः विश्व मानवतावादका संस्थापक बिपीका लेखन तिनै कुराले भरिपूर्ण छन्। उनको जीवनको व्यापक पृष्ठभूमि नहेरी ती कुराको पत्ता पाउन सकिन्न। नसकेर बिपी छोपिएका थिए, छोपिएरै रहे।

प्रथम प्रयोत्ताmाहरूका उदाहरण

पछाडि फर्किएर हेर्दा आदिकवि भानुभक्तदेखि सुरु गरेर आजसम्म सम्झेर ल्याउँदा नेपाली साहित्याकाशमा उदाएका चम्किला तारामध्ये बिर्सनै नसकिने स्रष्टाको नाम हो, बिपी कोइराला। साँच्चै भन्नुपर्दा बिपीको स्थानमा अर्को त्यस्तै मनुष्यको जन्म आजसम्म भएकै छैन। त्यसैले नेपालको राजनीति र साहित्यको स्थिति दुवै कुरा बोध गर्न बिपी साहित्यको पठन अनिवार्य छ।

१९७१ सालमा बनारसमा जन्मिएका बिपीले उच्च माध्यमिक शिक्षा पनि बनारसमै पूरा गरे। त्यसपछि बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे। उनी यात्रा उपन्यासको प्रथम प्रयोक्ता बने। अनि डायरी पद्धतिका प्रथम प्रयोक्ता पनि। उनी विश्व घटनालाई साहित्यमा उतार्ने प्रथम स्रष्टा थिए। उनको हिटलर र यहुदी अन्तर्राष्ट्रिय मानवतावादको आह्वान गर्ने प्रथम नेपाली आख्यान थियो। साँच्चै, साहित्यबाहेक मानव सभ्यताको अवशेष सम्झाउने, चिनाउने अरू कुनै तत्त्व छैन। हामीले पनि अतित झैं अति सम्पन्न भएको संस्कृत वाङ्मयलाई अँगाल्दै र बचाउँदै आउन सकेका थियौं भने पश्चिमतिरका प्लेटो, अरस्तुसँगै साँफोक्लिस वा नित्सेसँगै कालिदास, भवभूति वा पाणिनी अघिका वेदव्यास आदिबाट आरम्भ भएको ज्ञानगंगाको उद्गम र प्रवाहतिर हेर्दै भावविभोर हुन्थ्यौं होला। तर, हामीले अतितको त्यो अनमोल पथ भुलेर अर्कातिर लाग्यौं र भर्खर एक नविन गोरेटो खन्दैछौं।

बिपी शताब्दीमा बिपी

बिपी शताब्दी (१९७१–२०७०) को एक उद्देश्य छेलिएका, छोपिएका वा चिनिन बाँकी बिपीलाई उघारेर नयाँ समयसमक्ष प्रस्तुत गर्नु हो। नयाँ पुस्तालाई यो लिगेसी हस्तान्तरण गर्दै लानु हो। बिपीसँग उठबस भएको पुरानो पुस्ताले बिदा लिँदैछ। प्रत्यक्ष भेटका बयानहरू सकिनै लागेको समय बिपी शताब्दीको अभियानले नयाँ जागरण ल्याउने छ। बिपी शताब्दीको उद्देश्य उनका अतुलनीय योगदानको मूल्यांकन गर्दै नेपालका एक शिखर व्यक्तित्वलाई नयाँ युगसमक्ष चिनाउनु हो। कारण उनी जीवनभर राजनीतिक र साहित्यिक दुवै रूपमा ज्यादा प्रतिरोध वा आलोचनाका केन्द्र बनिरहे। 

रूढ समाजमा उनका नवीन विचारको आवागमनले त्यस्तो स्थिति ल्याएको थियो। परम्परामा अचानक नवीन मार्ग हिँड्नेको नियति यस्तै हुन्छ। ढिलै भए पनि यो शुभकार्य सुरु भएकोमा बिपी ट्रष्टलाई हार्दिक बधाई। नेपाल सरकारलाई पनि साहित्यका विकासका निम्ति केही पहल गर्न गरिदिन हार्दिक अनुरोध।

कृतिहरूमा बिपी

​​​​​​​बिपीका साहित्यिक कृतिको चर्चा गर्नु पर्दा उनका दुइटा कथा संग्रह दोषी चस्मा र श्वेत भैरवी हुन्। ६ आख्यान कृतिहरू सुम्निमा, तीन घुम्ती, बाबुआमा र छोरा, मोदी आइन्, नरेन्द्र दाइ, हिटलर र यहुदी हुन्। चारवटा आख्यानेत्तर गद्य सिर्जना आफ्नो कथा, जेल जर्नल, आत्मवृतान्त र फेरि सुन्दरीजल हुन्।

बिपीको कविता कृति प्रकाशित छ– विश्वेश्वरप्रसाद कोइरालाका कविता। विविधमा बिपी कोइरालाका छरिएका सामग्री। थोरैमात्र लेखिएको र धेरैले थाहा नपाएको कविता काव्यबारे आफ्नो कथामा उल्लेख भएअनुसार बिपीको प्रथम प्रकाशित कविता बम्बई के प्रति हो। जुन हिन्दी भाषामा लेखिएको यो कविता उनका गुरु शान्ति प्रियले प्रेमचन्दको सम्पादकत्वमा ‘हंस’ पत्रिकामा प्रकाशित गराएका थिए।

२०१७ सालमा राजा महेन्द्रले बिपीलगायत देशका शीर्ष नेताहरूलाई कुप डे’ एट्याट गरी जेल हालेपछि कारावास जीवनमा पुनः बिपीको साहित्य प्रारम्भ भयो। उनको प्रथम प्रकाशित उपन्यास तीनघुम्ती हो। जुन काठमाडौंको परिवेशमा रचना गरी २०२५ सालमा प्रकाशन गरियो। जसमा यौन र प्रेमको विषयवस्तु समेटेर सशक्त महिला पात्रको साहस र अनुकरणीय कार्य प्रस्तुत गरिएको छ। २०२७ सालमा प्रकाशन भएको अर्को उपन्यास हो, नरेन्द्र दाइ।

सुम्निमा २०२७ सालमा प्रकाशित अर्को सामाजिक उपन्यास हो। यो उपन्यासमा नारी पात्रलाई प्रथम श्रेणीमा राखिएको छ। जसमा आर्य र किराँत दुई भिन्न संस्कृतिको कथा छ। आर्य संस्कृतिमा पढे बढेका सोमदत्त र पुलोमा सन्तान प्राप्तिका निम्ति शास्त्रसम्मत अनुष्ठानअनुसार शारीरिक सम्पर्क राख्छन्। तर प्रेमबिनाको जबर्जस्ती यौनमिलनले मात्र गर्भ नरहने बरु मानसकुण्ठा र विकृतिको विकास हुने कुरा यो उपन्यासले देखाएको छ। प्रेमले मानिसलाई शारीरिक रूपले टाढा भए तापनि मानसिक रूपले नजिक अनुभूत गराउँछ भन्ने कुरा नै सुम्निमा उपन्यासको सार हो।

मोदी आइन् २०३६ सालमा प्रकाशित भएको यो उपन्यास कौरव र पाण्डवहरूको कुरुक्षेत्रको मुख्य विषय बनाई लेखिएको हो। यसमा मानवताको पक्षमा लेखिएको परम्परागत सोचभन्दा अलग विषयवस्तु छ। पुस्तकमा दरभंगानिवासी मोदी आइन् नाम गरेकी एउटी नारी प्रमुख पात्र छन्। महाभारत युद्धलाई आफ्नै कथा बनाएर सुनाउने मोदी आइन्ले एउटा सानो बालकसँग गरेको संवाद नै यो किताबको मुख्य कथावस्तु हो। ‘कौरव र पाण्डवको अठार दिनसम्म युद्ध मच्चियो। अन्तमा मृत्युको यन्त्र थामियो, छेदित हुने ग्रिवाको अभावमा। युद्धमा केवल सात जना बाँकी रहे; लाखौं पुरुष मारिए। पृथ्वी पुरुषबाट शून्य भयो। केवल एकल नारी असहाय बाल सन्तानलाई आफ्नो पागल छातीमा टाँसेर बाँचिरहे यस लोकमा। मेरो एउटा मृत्यु त कुरुक्षेत्रमा भयो। जुन दिन मेरा पति मरे होलान्; अर्को मृत्युका लागि धेरै दिन पर्खनु परेन। मलाई थाहा छैन कुनदिन म मरें।’ (पृ.७१ मोदिआइन्)  बिपीकृत यी सबै पुस्तक मेरो जिन्दगी चलाउन सिकाउने हतियार हुन्।

१९९२ देखि २००६ सालसम्म लेखिएका कथाहरूलाई संकलन गरी २००६ सालमा बिपीको पहिलो कथा संग्रह दोषी चस्मा प्रकाशन भयो। जसमा समावेश सबै कथामा नेपालको सामाजिक, मनोवैज्ञानिक, राजनीतिक चेतनालाई उठाउने प्रयास गरिएको छ। २००६ पछिको देशको राजनीतिक अवस्थाले जटिल मोड लिएपछि बिपीले साहित्यभन्दा राजनीतिलाई बढी समय दिएको देखिन्छ। जेल गएपछि फेरि २०१७ सालदेखि कारावास जीवनमा पुनः अध्ययन र लेखनको प्रारम्भ भएको छ उनको।

देश र जीवनका भोगाइमा आख्यान

बिपीका आख्यानहरू आफ्नै जीवनका भोगाइ र राष्ट्रिय परिवेशका कुरा हुन्। राजनीतिक रूपमा विशिष्ट छवि बनाउन सफल बिपीका साहित्य राजनीतिक विचारबाट मुक्त भए नभएको भन्ने बारेमा लेखक डा. गोविन्दराज भट्टराईको भनाइ जस्ताको तस्तै– ‘सोझो रूपमा कुनै किसिमको राजनीतिक प्रभाव नदेखिनु उनको विशिष्टकृत साहित्यिक पहिचान हो। उनका साहित्यका ठाउँ–ठाउँमा राजनीति पाइएको छ।’

राजनीतिमा बिपीको उचाई अतुलनीय भएकैले अपमानद्वारा त्यसलाई निस्तेज गराउन निरंकुश सत्ता लागिरह्यो। अर्कातिर उनका राजनीतिक दर्शनसित असहमतहरू पनि बिपीविरुद्ध लागिरहे। त्यसकारण उनको राजनीतिक आस्थाका कारण पनि साहित्यलाई ओझेलमा पारियो। भारतीय सभ्यताको एक आदर्श केन्द्र बनारसमा उनको बाल्य एवं युवाकाल व्यतित भयो। त्यसले उनले हिन्दी भाषाबाटै साहित्य लेखन सुरु गरे। बाल्यकालको समयलाई कथामा यसरी उतारेका छन् बिपीले। चाँद, माधुरी, सरस्वती मतवाला आदि पत्रपत्रिका घरमा पुग्नेबित्तिकै तिनलाई उनी आद्योपान्त पढ्न नसक्ने र पढे पनि राम्रो अर्थ लाउन नसकेर तिनलाई मायाले सुम्सुम्याउनु, कागजको गन्ध सुँघ्नु र ओल्टाइपल्टाइ हेर्नु नगरी हुँदैनथ्यो।

त्यसैले सातामा एक÷दुईपटक साँझपख आउने डाकियालाई बाटैमा घेरेर ऊसँग पत्रपत्रिका लिन्थे बिपी। बुजु्रगहरूसँग हात पर्नुभन्दा पहिले नै साँझको झिसमिसमा तिनको नुतनत्वको सतिच्छेद भंग गरिदिन्थे। तिनताका उनलाई आपूmले पढेका उपन्यासहरूमा ‘विमाता’ उपन्यासको सम्झना थियो। जसलाई बारम्बार पढेर उनी वारम्बार असंयमी भएर रोएका थिए। स्कुले जीवनमा धेरैभन्दा धेरै चेखवका कथाहरू पढ्ने बिपी चेखवलाई सर्वश्रेष्ठ कथाकार भन्छन्। बिपीले आफ्ना कथाहरूलाई चेखवको आदर्शमा चलाउने कोसिस गरेका छन्।

कथा साहित्यमा चेखव र मोपासाँ दुवैले खुब प्रभाव पारेको कुरा उनी स्वीकार गर्छन्। नेपाली भाषा साहित्यमा मनोवैज्ञानिक कथाको नयाँ प्रयोग गरेका बिपीले राजनीतिमा पनि नयाँ युगको कल्पना गरेर निरंकुश सत्तामाथि आक्रमण गरेका थिए। अत्यन्त ठूलो उथलपुथलले भरिएको समयमा जीवनभरि समयलाई त्यसबाट मुक्त गराउन बिपी लडिरहे। उनको स्वतन्त्रताप्रतिको अटल आस्थाका कारण जीवनभर दुःखकष्ट, संकट र आपतहरू आइरहे तर नझुकी र नहारी उनी लडिरहे।

बिपीको जीवन नै अनमोल पुस्तक

बिपीका अत्यन्तै उच्च विचार र चिन्तन देख्दा खासगरी दार्शनिक आधारमा र अत्यन्तै गम्भीर अध्ययनमा उठेको शक्ति देख्दा सामान्य मानिसलाई उदेक र आश्चर्य लाग्छ। तारिणीप्रसाद कोइरालाले भनेझंै महान् योगी र महान् भोगीले बनेको त्यो अगम्य व्यक्तित्व नेपाली साहित्य राजनीति, विचार, चिन्तन, साहस र दूरदर्शिता सबैमा अतुलनीय देखिन्छ। त्यसैले उनलाई महामानव भनिएको हो। साँच्चै भन्नुपर्दा बिपीको जीवन स्वयं एक अनमोल पुस्तक हो। त्यो जीवनका केही क्षण लेखिएका उनका कृतिहरू पढेर आजको पुस्ताले फेरि नयाँ ऊर्जा ग्रहण गर्नुपर्ने समय आएको छ।

प्रत्येकजसो बिपीका आख्यानमा नारीको उच्च स्थान, उनका निर्णयहरूमा विवेकको प्रयोग पाइन्छ। यो पनि विशेष रूपले विचारणीय छ। पुरुषलाई आफ्ना विश्लेषणात्मक तर्कहरूले ज्ञान, सिद्धान्त र व्यावहारिक कुरामा पछि पार्न सक्ने अथवा मार्ग निर्देशन गर्न सक्ने सुपठित नारीहरूले भरिएको बिपीको सम्भ्रान्त परिवारमा सबै एक भएर लडेका छन्। त्यस्ता विपत्तिहरूमा नहार्ने नारीहरू नै बिपीका मानसबाट आख्यानमा सरेका हुन्। उनको यौन र प्रेमप्रतिका धारणा पनि तिनै उनका किताबमा भेटिने पात्रहरू मुनरियाकालीन, बालिका, कन्या र युवती नारी पात्रदेखि निर्मित हुँदै गएको थियो।

त्यसैले मातृशक्तिप्रति उनको स्नेह, ममता, श्रद्धा र करुणा सबै पोखिएको छ। हिटलर र यहुदीभित्र पुस्तकमा लेखिएको उद्धरण– ‘लन्डन अँध्यारो ठाउँ रहेछ। यहाँ आकाश छैन। सूर्य पनि छैन। आकाशको ठाउँमा धुँवाको बादल। शून्य ठाउँ रहेछ लण्डन, जेसुकै पनि चिसो। कोठा चिसो, लुगा चिसो र स्ुत्ने बिछ्यौना पनि। म तिमीलाई सम्झिरहन्छु, न्यानो भनेको तिम्रो सम्झना मात्र। सधैं तिम्रो, मेरो प्यारी लक्ष्मी।’ एउटी नारीप्रतिको सम्मान हो यो। लण्डनसँग दाँजिएकी लक्ष्मीसँगको माया शब्दमा उतारेका छन् बिपीले।

​​​​​​​फ्रायडवादी चिन्तन

फ्रायडवादी चिन्तन बोकेर अगाडि बढेका बिपीले अध्ययन गरेका दार्शनिक कृतिमा ‘हिस्ट्री अफ फिलोसफी इस्टर्न एन्ड वेस्टर्न’ पनि पर्छ। यो पुस्तकले विश्वका दार्शनिक पद्धतिहरूको तुलनात्मक अध्ययन गर्न सिकायो होला। उनले पढेका अन्य दार्शनिकमा डेकाड, सोपेनहावर, हेगेल पर्छन् भने प्रसिद्ध अंग्रेजी दार्शनिक एवं बीबीसीका प्रस्तोता सी.इ.एम. जोडको पनि उल्लेख पाइन्छ।

बिपीले चन्दन, टीका लगाएनन्। माला जपेनन्, ग्रहशान्ति गरेनन्। घरमा कुनै धार्मिक यज्ञ गरेनन्। तीर्थाटन गरेनन्, जनै लगाएनन्। देवीदेवतासँग केही मागेनन् पनि। अरूलाई ईश्वर मान, नमान केही भनेनन्। व्यत्तिाm स्वतन्त्रतामा जोड दिए। मर्ने बेलामा मेरो काजकिरिया नगर्नू भनेर इच्छा प्रकट गरे।

भागवद् गीतालगायत धेरै पुस्तक पठनको, ती उपरका चिन्तनको बिपीका विचारमाथि अनि सृजनामाथि गहिरो प्रभाव छ। किनभने यी सबै पठन र विश्लेषणहरू कारावास कालमा सम्पन्न भएका थिए। उपन्यासकार भिक्टर ह्युगोको ठूलो उपन्यास ‘लेस मिजरेबल्स’ले बिपीलाई प्रभाव पारेको थियो। गोर्कीको ‘२१ पुरुष र एउटी स्त्री’ भन्ने कथा पनि अनेकचोटी पढेको कुरा उनले लेखेका छन्।

जीवनको जस्तोसुकै गहिरो अभाव र खोक्रोपन पनि स्नेह र हार्दिकताको सानो वर्षाले भरिन्छ। जीवनमा पाएको यस्तै स्नेह र ममताले आपूmलाई ऐश्वर्यवान बनाएको भन्दै उनी लेख्छन्– आफ्नो बन्न नसकेकी माहिली आमा, कवि तारानाथका दुई पत्नीले दिएको स्नेहको आशीर्वादले जीवन पर्यन्तका लागि उनी आपूmलाई समृद्धशाली ठान्छन्।

किट्सको एउटा पद्यको भावान्तर गरेर उनी लेख्छन्– एकक्षणको स्नेह सदाका लागि आनन्द हो। यसरी बिपी पथमा लागेका साहित्यकारहरू भवानी भिक्षु, पुष्कर लोहनी, ध्रुवचन्द्र गौतम, विजय मल्ल, पोषण पाण्डे, कृष्ण धरावासी, पारिजात, प्रेमा शाह आज पनि उत्तिकै सम्झने नाम हुन्। नयाँ स्रष्टाहरूमा भागिरथी श्रेष्ठ, खगेन्द्र भट्टराई (अँध्यारो कुनो– यौन कथा संग्रह), हरिस कल्पित (ग्याब्रियले–कथा संग्रह), जयराज भट्टराई (फ्राइडे कन्फ्युजन– कथा संग्रह) नयाँ कथाकार हुन्। जसरी समाज परिवर्तनका लागि ज्ञान हासिल गर्नु अनिवार्य छ। ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ।

यो समय मेरो हातमा डा. गोविन्दराज भट्टराईको बिपी साहित्यको अभिलेखन जन्म शताब्दीको सन्दर्भमा भन्ने पुस्तक छ। बिपीका आजका दिनसम्म संकलित सबै कृतिहरूलाई मिहिन रूपमा अध्ययन गरेर लेखिएको यो पुस्तक नेपाली साहित्य जगत्मा अत्यन्त उपयोगी हुनेछ। एकै पटकमा बुझ्न नसकिने र दोहोर्‍याएर पढ्न पर्ने जटिल पुस्तकको बारेमा जति बुभेंm, त्यो बुझेको कुरा म लेख्दैछु। साँच्चै भन्नु पर्दा बिपीको अध्ययनको त कुरै नगरौँ यो कृति लेख्ने स्रष्टाले पनि जीवनभर पढेका कुरा यही किताबमा लेखेको जस्तो लाग्छ। यस्ता विद्धानको किताबको चर्चा म जस्ताले गर्नु एउटा भुल हो। त्यैपनि कोशिस गरेकी छु। 

यौनलाई नलुकाऔं, नछेकौं– बिपी 

त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त प्रा. डा. गोविन्दराज भट्टराईले बिपी कोइरालाको समग्र पक्ष समेटेको पुस्तक ‘बिपी साहित्यको अभिलेखन जन्म शताब्दीको सन्दर्भमा’ जननायक बिपी कोइराला स्मृति ट्रष्टले प्रकाशन गरेको छ। लेखकका अनुसार बिपी विषयमा विशुद्ध साहित्यिक मूल्यांकन गरी लेखिएका कृतिहरूको ठूलो अभाव छ। उनको अतुलनीय सिर्जना, चेतना, शक्ति र कलालाई उनका राजनीतिक प्रतिद्वन्द्वीले सतत् दुर्बल पार्ने प्रयत्न गरेका थिए, अझै गर्दैछन्। उनी नेपाली साहित्यमा सर्वाधिक ‘मिसअन्डरस्टुड’ (गलत बुझिएका बुझाइएका) स्रष्टामध्ये एक हुन्।

बिपीको विश्लेषण छ– नारी र पुरुष भिन्न जगत् हुन्। उनीहरूको मनोजगत् परस्पराच्छादित हुँदैन; आंशिक मिल्छ; त्यो पनि प्रेमले जोडेर। प्रेम, यौवन अनि वासना कसरी परिभाषा गरेर भिन्न गर्न नसकिने तत्त्वहरू बोकेर हिँड्नुपरेको छ मानवले। बिपीको मान्यता छ– यो सहजवृत्ति (यौन)लाई नलुकाऔं, नछेकौं। तीन घुम्तीमा इन्द्रमाया पतिका अघि 

खुलेझैं; हिटलर र यहुदीमा पत्नी लक्ष्मीका अघि पति खुल्छ– यसरी म अन्य नारीसित सुतेको छु। लक्ष्मी मलाई त्यति विश्वास र प्रेम गर्छिन्। 

म किन ढाँटौं ?

तर, बाबु, आमा र छोराकी उमा भने प्रारब्धले गर्दा बडो सम्भ्रमित मानसिक स्थिति लिएर किञ्चित पापबोधसँग रहन्छे। यो आश्चर्य र हाम्रो परम्परित समाजले नस्वीकार्ने कुरा लाग्छ। परन्तु तीन घुम्ती अनि हिटलर र यहुदीका पात्रले भनेका कुरा बिपीको जेल जर्नलमा प्रस्तुत छ– सुशीलाले भनेका तीन कुराको परित्याग गर्नु छ– धूमपान, मद्यपान र अब परस्त्रीगमन पनि त्याग्छु। आश्चर्य लाग्ला, यौनका विषयमा स्त्री–पुरुषबीच यो तहसम्म कुरा हुँदा रहेछन्, यथार्थ जीवनमै पनि।

समाजको परम्परागत सोच स्तर भिन्न छ तर सबै निर्णय अस्तित्ववादीले स्वयं गर्नुपर्ने हुन्छ। त्यताबाट हेर्दा बिपीका पात्रहरू सबै स्वतन्त्र छन्। प्रत्येकले आफ्नो लेखान्त आफैं निर्माण गर्छ।  त्यसको जिम्मा आफैंले लिन्छ या प्रारब्धलाई दिन्छ (बिपी साहित्यको अभिलेखन, पृ. १५७)। बिपीले चन्दन, टीका लगाएनन्। माला जपेनन्, ग्रहशान्ति गरेनन्। घरमा कुनै धार्मिक यज्ञ गरेनन्। तीर्थाटन गरेनन्, जनै लगाएनन्। देवीदेवतासँग केही मागेनन् पनि। अरूलाई ईश्वर मान, नमान केही भनेनन्। व्यक्ति स्वतन्त्रतामा जोड दिए। मर्ने बेलामा मेरो काजक्रिया नगर्नू भनेर इच्छा प्रकट गरे। ब्राह्मण परिवारको मान्छे उनी हिन्दू धर्ममा पनि लागेनन्, विरोध पनि गरेनन्। न बुद्ध, क्रिश्चियन, मुस्लिम धर्महरूको समर्थन गरे न विरोध। यस्ता प्रतिभा नेपालमा आजसम्म थिएनन् र हुने पनि छैनन् (बिपी साहित्यको अभिलेखन)।

असल साथी किताब

बिपीकृत ‘जेल जर्नल’ किताब पढेर पनि बिपीको बारेमा धेरै कुराको जानकारी पाउन सकिन्छ। कुन कुराले बिपीको सिर्जना मान्यता निर्माण गर्ने कार्य तय गर्‍यो ? के–कस्तो संस्कार र परिवेशले त्यो गर्दै लग्यो ? त्यसले कसरी उनको अध्ययनको गम्भीरतालाई विस्तारित गर्दै लग्यो ? सबै प्रमाण जेल जर्नलमै पाइन्छ। यसमा विश्व साहित्यको व्यापक क्यानभास छ। वास्तवमा अनेक वाह्य परिस्थितिले, आन्तरिक मनोदशाले कृति निर्माण गराउँछ। त्यस कारण यस्ता रचनागर्भले अनेक कुराको उत्खनन् गर्छन् (बिपी साहित्यको अभिलेखन, पृ. ११)।

हेमिङ वेले भनेको सत्य रहेछ– ‘मान्छेको सबैभन्दा असल साथी किताब हो।’ प्रत्येक बिहानसँगै म त्यस्ता नामुद लेखकका नामहरू सम्झन्छु। ती नामहरूको लहरमा मिसिएर आउने नाम बिपी पनि हो। उनका प्रायः पुस्तक पढिसकेकी छु। त्यसैले सोमदत्तजस्ता पात्रहरूले कहिलेकाहिँ निन्द्रा भत्काउँछन्। किताब पढेकै भरमा पात्रहरू मनमुटुमा बसे भने सम्झनुस् त्यो लेखक अमर हो। बिपी तिमीलाई सम्झिरहेछु !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.