फेवातालको सिमसार जोगाउन माग गर्दै प्रदर्शन
पोखरा : तालको अस्तित्वसँग जोडिएको फेवातालको मुहानको ढाप,दलदल क्षेत्र पुरेर स्थानीयले धमाधम घडेरी बनाउन थालेपछि पोखराका नागरिक अभियान्ता, संरक्षणकर्मी र युवाहरु सिमसार जोगाउन सडकमै प्रदर्शन गर्न थालेका छन् ।
पोखरेली जेठोबुढो धानको पकेट क्षेत्र समेत रहेको फेवा फाँट यति बेला धमाधम पुरिएको छ । पहिला डुंगा घाट रहेको पामे नजिकै घाट समेत पुरेर अहिले घडेरी बनेको छ । यसरी पानीको घोल,दलदल,सिम क्षेत्र पुरिदा वर्षायाममा यस्ता घोल,सिमसार क्षेत्रमा फैलन माटो, गेग्रयान समेत सोझै बगेर तालमा पुग्दा ताल पुरिने क्रम तीब्र बनेको छ ।
वर्षायामको मुखमा ताल मुहानको सिमसार पुरिदा ठूलो पानी पर्दा आलो माटो तालमा पुगेर ताल पुरिने अवस्था रहेको छ । तालको अस्थित्वसँग जोडिएको विश्व रासमसार सूचीमा सूचिकृत ताल पुरेर घडेरी बन्ने क्रम तीब्र बढेकाले स्वस्फूर्त रुपमा युवाहरु सिमसार संरक्षणका लागि दबाब दिन सडकमा उत्रन परेको अभियान्ता मध्येका एक इञ्जिनियर दिपक सुवेदीले बताए ।
युवाहरु पोखराको फेवाताल किनार हल्लनचोकमा भेला भएर नो लेक नो लेकसाइड, फेवाको अस्थित्व मास्ने गरी फेवा सिमसार पुर्न पाइँदैन,ताल मास्नेलाई कारवाही गर लगायतका नारा लेखिएका प्लेकर्ड लिएर प्रदर्शनमा उत्रेका थिए । प्रदर्शन निरन्तर जारी रहने सुवेदीले बताए ।
यसअघि वातावरण संरक्षणका लागि महाअभियन कास्की र नागरिक समाज कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटेर सिमसार पुर्ने काम तत्काल रोकेर फेवाताल संरक्षणका लागि पहल गर्न अनुरोध गरेका थिए ।
तालको मुहान क्षेत्रको डाँडा काटेर पोखरा १८,२२,२३ र २४ वडा नम्बर वडामा पर्ने फेवा सिमसार पुरेर घडेरी बनाउने क्रम चलिरहेको भन्दै वातावरण संरक्षणका लागि महाअभियन कास्की र नागरिक समाज कास्कीका संयोजक सहितको टोलीले मुख्य मन्त्री पाण्डेलाई ज्ञापन पत्र बुझाएका थिए ।
तालको सिरानका घोल, दलदल क्षेत्र, मुल पुरेर घडेरी बन्दा ताल सुक्ने र तालको मुख्य स्रोत हर्पन खोला प्रदूषण बढीरहेकोले सिमसार पुर्ने क्रम तत्काल रोक्न मुख्यमन्त्रीसँग अनुरोध गरिएको वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले बताएका छन् ।