नयाँ आएका पार्टीबारे चिन्ता नगरौं : गगन थापा
‘पार्टी सपार्ने नाममा महामन्त्री पद गए जाओस्, सुधारको अभियानमा लाग्छु’
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ आएका पार्टीबारे चिन्ता गर्न जरुरी नरहेको बताएका छन्। ललितपुरमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा थापाले कांग्रेसले काम गरेर देखाउनुपर्ने बेला आएको भन्दै नयाँ आएका पार्टीबारे चिन्ता गर्न जरुरी नरहेको बताएका हुन्।
थापाले भने, ‘कांग्रेसले काम गरेर देखाउने हो। हाम्रा कांग्रेसका मन्त्रीहरुले काम गरेर देखाउने हो। म त अरु राजनीतिक दलको कमेन्टनै नगरौं भन्छु। हामी जनताको सुःख दुःखमा लाग्ने हो। कांग्रेस देख्ना साथ ओज देखियोस्। यतिधेरै नागरिकको भरोसा छ हेर्नुस्। हामीले केहि कुरा सच्याउनु पर्नेछ।’
थापाले कांग्रेसको तला बिग्रिएको र जरा ठिक रहेको बताए। थापाले भने,‘कांग्रेसको धुरी बिग्रिएको हो। जरा ठिक छ। पार्टी सुधार गर्नका लागि गुट बिर्सिनुस्। समूह बिर्सिनुस्। सबै समूह, गुट भत्काउने हो। कांग्रेसमा अब सुधार चाहने र सुधार रोक्ने गुट मात्रै हुन्छ। पार्टीलाई जनमुखी बनाउन जरुरी छ। हामी नयाँ पुराना कोहीसँग डराउनुपर्दैन।’
पार्टीलाई सुधार गर्न प्रत्येक सदस्य जोखिम उठाउन तयार हुनुपर्ने बताए। थापाले भने, ‘पार्टी सपार्ने नाममा महामन्त्री गए जाओस्। तर, म पार्टी सुधारको अभियानमा लाग्छु। निराशालाई अन्त्य गर्नुपर्छ।’