तीन पटक म्याद थप्दा पनि बनेन पुल, स्थानीय अनसनमा
रौतहट : पुलको ठेक्का रद्ध गरि अर्को ठेकेदारलाई काम दिनुपर्ने माग राख्दै अलपत्र पुलमुनि स्थानीयले रिले अनसन सुरू गरेका छन् । पुल अलपत्र पारेर ठेकेदार निस्क्रिय बसेको भन्दै सडक डिभिजन कार्यालय र ठेकेदारलाई स्थानीयले ध्यानाकर्षण गराउँदै आएका थिए ।
गैंडाटारहुँदै मकवानपुर जोड्ने चन्द्रपुर–४ र ३ स्थित चाँदी नदीमा निर्माणाधीन पुल अलपत्र पारिएको भन्दै अनसन थालिएको हो । सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साह, ठेकेदार दयाराम साह गैरजिम्मेवार हुँदा पुल नबनेको स्थानीयको ठम्याइ छ ।
पुल निर्माण संघर्ष समितिका अध्यक्ष गोविन्द तिमल्सिनाले पुल निर्माणको काम सुरु नभएसम्म अनसन जारी राख्ने जानकारी दिएका छन् । उनले सडक डिभिजन प्रमुख र ठेकेदार लाई कारबाही गर्न समेत माग गरेका छन् ।
पुल निर्माण गर्न पप्पु शिवशंकर जेभीले २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजारमा सम्झौता गरेको थियो । सम्झौतामा २०७६ असार ३१ गते पुल निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने थियो । तेस्रो पटक यही असार मसान्तसम्म सक्ने गरी म्याद थप भएको छ ।
थपिएको म्यादमा निर्माण सम्पन्न नहुने भएपछि स्थानीय अनसनमा बसेका हुन् । सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगा प्रसाद साहले सम्झौता मितिमा निर्माण नसकिएपछि पहिलो पटक साधारण खरिद नियमावली अनुसार अनुसार डेढ वर्ष म्याद थप गरेका थिए ।
थपिएको म्याद अनुसार २०७७ पुस १४ मा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदारले कोरोना महामारी,लकडाउन,बन्द हड्ताल देखाउँदै अलपत्र राखेको थियो । कोरोनाको कारण देखाउँदै दोस्रो पटक २०७७ माघ ११ को निर्णय अनुसार २०७८ असार १३ गतेसम्म काम सम्पन्न गर्ने गरी ६ महिना म्याद थप गरिएको थियो ।
अलपत्र पुलको पुन: तेस्रो पटकका लागि २०७९ असार सम्मको म्याद थपे पनि निर्माण सम्पन्न हुन सकेन । ठेकेदारलाई काम सम्पन्न नगरेकोमा यसअघि नै स्पष्टीकरण सोधिएको डिभिजन सडक कार्यलयको भनाइ छ । पुलको हाल सम्म ७५ प्रतिशत काम भएको बताइएको छ ।
ठेकेदारले आर्थिक र निर्माण सामग्रीको अभावको कारण देखाउँदै निर्माण सम्पन्न नभएको स्थानीयको गुनासो छ।