बजेट २०८० / ०८१ : उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड
काठमाडौं : आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारी,निजी र सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पादन,उत्पादकत्व र रोजगारीका अवसर बढाउने,आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण गरी उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड दिइएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक स्रोतको समुचित तथा उपलब्धिमूलक परिचालन गर्नुका साथै उपलब्ध अवसर तथा लाभको समन्यायिक वितरण गरी धनी र गरीब बीचको खाडल कम गर्नुपर्ने आवश्यकता महशुस गरी बजेटका उद्देश्य तथा प्राथमिकता तय गरेको बताए ।
अर्थतन्त्रलाई गतिशील बनाइ फराकिलो,दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने,गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने, लगानी मैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोवल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्नेतर्फ बजेट केन्द्रित रहेको बताए।
अर्थमन्त्री महतले समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, संघीयताको सवलीकरण र सुशासन कायम गर्ने, बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने बजेटका उद्देश्य रहेको बताए।