आज निर्जला एकादशी, तुलसीको बिउ राखिंदै
जेष्ठ शुक्ल दशमीका दिनसम्म विभिन्न तीर्थस्थलमा स्नान गरी दशमीकै दिन वर्षभरिको पूजाअर्चना प्रयोजनको फूलको दल राख्ने र भोलिपल्ट तुलसीको दल राख्दै निर्जला व्रत (अन्नजल नखाइ गरिने व्रत) बस्ने मैथिल चलन छ ।
महोत्तरी : वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए। आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ ।
त्यस्तै मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा पनि आज धार्मिक र औषधीय गुणयुक्त वनस्पति तुलसीको बीज छर्दै निर्जला एकादशी पर्व मनाइँदैछ । जेष्ठ शुक्ल एकादशीमा तुलसीको बीउ छरेर पानीसमेत नखाई व्रत गर्ने परम्पराअनुसार आज मैथिल (मिथिलाका बासिन्दा) यो पर्व मनाइरहेका छन् ।
पूर्वीय दर्शन परम्पराको मैथिल चलनमा जेष्ठ शुक्लपक्ष लाग्नासाथ दशहारास्नान मेला प्रारम्भ हुन्छ । जेष्ठ शुक्ल दशमीका दिनसम्म विभिन्न तीर्थस्थलमा स्नान गरी दशमीकै दिन वर्षभरिको पूजाअर्चना प्रयोजनको फूलको दल राख्ने र भोलिपल्ट तुलसीको दल राख्दै निर्जला व्रत (अन्नजल नखाइ गरिने व्रत) बस्ने मैथिल चलन छ ।
मिथिलामा सामान्यतया सबै एकादशीलाई धार्मिक विश्वासमा खास दिन मानिने परम्परा भए पनि निर्जला, हरिशयनी र हरिवोधनीचाहिँ विशेष नै मानिन्छन् । हिन्दू मैथिल परम्परामा एकादशी र तुलसीबीच गहिरो सम्बन्ध रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झा बताउँछन्।
'मैथिल परम्परामा वर्षभरिका सबै एकादशी र तुलसीको महत्व छ, यद्यपि निर्जला, हरिशयनी र हरिवोधनीचाहिँ विशेष मानिन्छन्', उनी भन्छन्, 'निर्जलामा तुलसी विजारोपण गर्ने, हरिशयनीमा बिरुवा मठमा रोप्ने र हरिवोधनीमा तुलसीको विवाह गर्ने चलन छ ।' हिन्दू मैथिल परम्परामा लक्ष्मीसहित भगवान् विष्णु समुद्रमा जाने, हरिशयनीका दिन विष्णु शयन गर्ने र हरिवोधनीका दिन जागा हुने विश्वास गरिँदै आएको छ ।
सत्ययुगमा सति नारी वृन्दाका दुष्ट पतिको संहार गर्न विष्णुले छलेर उनको सतित्व डगाउँदा वृन्दाले भगवान् विष्णुलाई श्राप दिएको बताइन्छ । त्यसै श्रापअनुसार वनस्पतिरूपमा भगवान् विष्णु तुलसी हुँदा उनको पूजाआराधनासँग तुलसीको प्रचलन जोडिएको जनविश्वास छ । तुलसी वातावरण र औषधीय गुणयुक्त वनस्पति हो । रासस