बर्सेनि काठेपुल तर्ने झन्झटबाट छुलेबासीले पाए छुटकारा
गोरखा : असार लागेपछि बर्सेनि काठेपुल बगाउने,असोज लागेपछि सधैं काठेपुल थापिरहने झञ्झटबाट छेकम्पार,छुले,निलेका बासिन्दाले छुट्कारा पाएका छन् । कादुरी एग्रिकल्चरल एशोसिएशन ब्रिटिश गोर्खाले छुलस्थित पोस्योप खोलामा झोलुंगे पुल निर्माण गरेपछि गोरखा र तिब्बती सीमानाको अन्तिम गाउँ छुले र निलेका बासिन्दामा खुशी छाएको हो।
‘छुले, निलेका मान्छे मात्र होइन, यो पुल त मूलबाटोमा पर्छ । साविक छेकम्पार गाविसका नौवटै गाउँका बासिन्दा खुशी भएका छन्,' स्थानीय लोप्साङ लामाले भने,‘पहिले काठेपुल थियो । बर्खामा सालैपिच्छे खोलाले काठेपुल लगेर हैरान बनाउँथ्यो । अब बल्ल ढुक्क भइयो । अब यो दुखबाट मुक्ति पाइयो ।’
छुले गाउँका ३० भन्दा धेरै घरधुरी र निले गाउँका करिब ३० घरधुरीका बासिन्दा प्रत्यक्ष लाभान्तिव भएका छन् । ‘यो पुल तिब्बत जाने मुल बाटोमा पर्छ । तिब्बतमा सामान किन्न जान–आउन यही पुल तर्नुपर्छ’, लोप्साङ भन्छन्,‘म्हु गुम्बा जान पनि यो तर्नुपर्छ । आन्तरिक र बाह्य पर्यटक आवतजावत गर्ने बाटो पनि यही पुल भएर हिँड्छन् । सिंगै वडा नं. ७ का बासिन्दाले याक, चौरी लेकमा लैजाने बाटो पनि यही पुल तरेर हिँड्नु पर्छ ।’
यार्सागुम्बा टिप्न लेकतिर जान पनि यही पुल तरेर जानुपर्ने भएकाले छेकम्पारका बासिन्दा सो पुल बनेपछि धेरै खुशी भएको उनले बताए । कादुरीले छुले गाउँको बीच भाग भएर बग्ने पोस्योप खोलामा ५४ मिटर लामो पुल निर्माण गरेको हो । संस्थाको करिब एक करोड पाँचलाख रुपैयाँ र स्थानीयबासीको श्रमदानमा सो पुल बनेको स्थानीयबासीको भनाइ छ ।
ठाडो खोलो पोस्योपले बर्सेनि जग खोतलेर यहाँको घर समेत बगाउने गरेको थियो । त्यसैले पुल बनाउँदा धेरै गहिरो गरी जग निर्माण गरेको लोप्साङ लामाले बताए ।