चिनियाँ भाषा सिक्दै सीमा क्षेत्रका विद्यार्थी

चिनियाँ भाषा सिक्दै सीमा क्षेत्रका विद्यार्थी
सुन्नुहोस्

चीनसँग जोडिएको उत्तरी नाका तातोपानीको व्यापार, सांस्कृतिक सम्बन्धमा भाषाका कारण समस्या उत्पन्न भएको भन्दै गाउँपालिकाले चिनियाँ भाषा अध्यनन गराउन सामुदायिक विद्यालयलाई जोड दिँदै आएको छ।

सिन्धुपाल्चोक : शिक्षिका रीना श्रेष्ठ थापाले चिनियाँ भाषाबाट क, ख लेख्न सिकाउँदा विद्यार्थी दंग परे। उनले चीनमा कसरी अक्षर र शब्दको उच्चारण गरिन्छ भनेर बोलेको टेपरेकर्डसमेत सुनाइन्। चीनमा ६ वर्ष चिनियाँ भाषा अध्ययन गरेकी शिक्षिका थापाले सुरुमा स्मार्टबोर्डमा एउटा अक्षर देखाइन्। अब कता लेखिन्छ भनेर विद्यार्थीलाई प्रश्न गरिन्। विद्यार्थीले माथि–तल, दायाँ–बायाँ भने। नेपाली भाषा बायाँबाट दायाँ लेखेजस्तै चिनियाँ अक्षर दायाँबाट बायाँ अनि माथिबाट तल लेखिँदो रहेछ।

उनले सुरुमा चिनियाँ अक्षर देखाइन् अनि तस्बिर र अंग्रेजी नाम। त्यसपछि उनले थप अक्षर लेख्ने तरिका पनि सिकाइन्। केही समय चिनियाँ अक्षरबारे विद्यार्थीलाई सिकाएपछि शिक्षिकाले उनीहरूलाई चिनियाँ अक्षर लेख्न लगाइन्। हरेक विद्यार्थीले धमाधम चिनियाँ अक्षर लेख्न थाले। पहिलो पटक धेरैले चिनियाँ भाषामा आफ्नो नाम लेखे।

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– ४ मा रहेको झिर्पु माध्यमिक विद्यालयमा चिनियाँ भाषा अध्यापन सुरु गरिएको छ। जिल्लामै पहिलो पटक चिनियाँ भाषा अध्यापन सुरु गरेको झिर्पु माध्यमिक विद्यालयमा चिनियाँ भाषा पढाउँदा विद्यार्थीमात्रै होइन शिक्षकसमेत उत्साहित भए। नयाँ भाषाको सुरुवात भएकोमा विद्यार्थीहरू निकै खुसी देखिए।

झिर्पु माध्यमिक विद्यालय चिनियाँ भाषा पढाउने सिन्धुपाल्चोकको पहिलो सामुदायिक विद्यालय बनेको छ। शैक्षिक सत्र २०८० बाट विद्यालयमा नियमित चिनियाँ भाषा कक्षा सुरुवात गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङछिरी शेर्पाले बताए। उनका अनुसार एकजना शिक्षिकाबाट ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई चिनियाँ भाषा पढाउन सुरु गरिएको हो। 

सोवर्स एक्सन हङकङ र सोवर्स एक्सन नेपालको आर्थिक सहयोगमा विद्यालयमा चिनियाँ भाषाको पढाइ सुरु गरिएको हो। एक्सन हङकङका प्रतिनिधि र गाउँपालिका तथा विद्यालयबीच चिनियाँ भाषा अध्यापन गराइने द्विपक्षीय सम्झौताअनुसार चिनियाँ भाषा कक्षा पढाउन सुरु गरिएको प्रधानाध्यापक टंक पन्थले जानकारी दिए। उनका अनुसार आवश्यकता र मागअनुसार तल्लो कक्षाबाटै चिनियाँ भाषा अध्यापन गराउन सोवर्स एक्सनसँग छलफल भएको बताए। संस्थाले कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई निःशुल्क रूपमा दिवा खाजाको व्यवस्थासमेत गराउँदै आएको छ।

भोटेकोसी गाउँपालिकालाई चिनियाँ भाषाको हब बनाउने गाउँपालिकाले रणनीतिअनुसार झिर्पु माध्यमिक विद्यालयबाट भाषा कक्षाको सुरुवात गरेको गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताए। ‘छिमेकी मुलुक चीनसँग भाषा सम्बन्धलाई विस्तार गर्ने उद्देश्य गाउँपालिको छ’, उनले भने– ‘यसको सुरुवात झिर्पु माध्यमिक विद्यालयबाट गरिएको छ।’

चीनसँग जोडिएको उत्तरी नाका तातोपानीको व्यापार, सांस्कृतिक सम्बन्धमा भाषाका कारण समस्या उत्पन्न भएको भन्दै गाउँपालिकाले चिनियाँ भाषा अध्यनन गराउन सामुदायिक विद्यालयलाई जोड दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.