४३ डिग्री तातोमा राहदानी र परिचयपत्रको लाइन
जिल्ला प्रशासन कार्यालयमा दैनिक सबैभन्दा बढी भीड राहदानी र परिचयपत्र बनाउनेको हुन्छ।
जनकपुरधाम : ४३ डिग्री तापक्रमको गर्मी। पसिनाले निथु्रक्क। तैपनि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय धनुषाको प्रांगण युवाले भरिभराउ हुन्छ। राहदानी बनाउन राष्ट्रिय परिचयपत्र चाहिने भएकाले उनीहरू चर्को घाममा लाम लागेर काम गराइराखेका हुन्छन्। जिल्ला प्रशासन कार्यालयमा दैनिक सबैभन्दा बढी भीड राहदानी र परिचयपत्र बनाउनेको हुन्छ।
स्वदेशमा बढ्दो बेरोजगारी र आर्थिक दूरवस्थाले गर्दा मधेसका युवाका लागि घरपरिवार चलाउने भरपर्दो माध्यम भनेको विदेशमा श्रम गर्न जानु नै हो। वैदेशिक रोजगारीबाट कमाएको पैसाले स्वदेशमा घर बनाउने, बिहेवारी गर्ने र आर्थिक रुपमा सशक्त हुने सपना बुनेका हुन्छन्। त्यसपछि फेरि जीवन धान्न दोहोर्याएर विदेश जानेको संख्या मधेस प्रदेशमा अत्यधिक छ।
देशभरिमा सबैभन्दा बढी वैदेशिक रोजगारमा जाने युवा मधेसका पाँच जिल्लाबाट रहेको श्रम, रोजगार तथा सामाजिक कल्याण मन्त्रालयको तथ्यांकले देखाएको छ। जसमध्ये पहिलो स्थानमा धनुषा जिल्ला छ।
धनुषाबाट आर्थिक वर्ष २०६६ देखि २०७९ सम्म २ लाख १६ हजार १ सय २२ जना बिदेसिएका छन्। दोस्रो स्थानमा रहेको महोत्तरीबाट यही अवधिमा १ लाख ९६ हजार ८ सय ९५ युवा विदेश गएका छन्। तेस्रो स्थानमा सिरहा छ। यस जिल्लाबाट बिदेसिने युवाको संख्या १ लाख ७८ हजार २ सय ३५ छ। चौथो स्थानमा रहेको सप्तरीबाट १ लाख २७ हजार १ सय ४८ युवा बिदेसिएका छन्। सर्लाही र रौतहट क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।
तथ्यांकअनुसार चालु आर्थिक वर्षमा मात्रै धनुषाबाट भदौमा सबैभन्दा बढी ४३ सय २२ जना विदेशमा श्रम बेच्न गएका छन्। घरपरिवार छाडेर अर्थोपार्जनकै लागि बिदेसिन बाध्य अधिकांश युवाको घरपरिवारमा मनोसामाजिक समस्या, बालबालिका विद्यालय नजाने, घरमा झैझगडा, ऋणको कारण घरबारविहीन हुनुपर्नेलगायत सामाजिक र मानसीक कठिनाइ भोग्नुपरेको सुरक्षित आप्रवासन केन्द्र धनुषाका कार्यक्रम प्रमुख सौरभ कर्ण बताउँछन्।
‘मधेसमा अधिकांश युवा मजदुरको काम गर्न खाडी मुलुक जान्छन्। प्रायः अशिक्षित युवा हुन्छन्। उनीहरुले न राम्रो सीप सिकेका हुन्छन् न त उनीहरूलाई कामका बारेमा जानकारी हुन्छ। यस्तोमा दलालबाट ठगीको सिकार हुने र पछि ऋणको भारले घरपरिवार नै बर्बाद हुने गर्दछ’, कर्ण भन्छन्, ‘हामीले यो परियोजनाअन्तर्गत विदेश जाने युवालाई सूचनामा पहुँच गराउने, न्यायमा पहुँच, वित्तीय साक्षरता, सीपमा पहुँच र मनोसामाजिक परामर्श प्रदान गर्ने काम गर्छौं।’
चालु आर्थिक वर्षमा ३ सय २८ जना न्यायमा पहुँच नभएका युवाको समस्या आप्रवासन केन्द्रलाई प्राप्त भएको उनको भनाइ छ। त्यसमध्ये १ सय १८ जनाको समाधान भइसकेको छ। अन्यकोमा प्रयास जारी छ। त्यसैगरी जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त ५३ जनाको समस्यामा १३ जनाको समाधान भइसकेको छ। अन्यको हकमा प्रयास जारी रहेको जनाइएको छ।
केन्द्रले धनुषामा गन्तव्य मुलुकबाट उद्दार र सम्पर्क विहिन भएको ६९ वटा समस्या प्राप्त गरेकोमा ४२ जनालाई मुलुक फर्काउन सफल भएको छ। शव व्यवस्थापनमा १५ जनालाई सहजीकरण गरेको छ।