दिल्लीमा प्रचण्ड मुस्कान !
नयाँ दिल्ली : भारत भ्रमणमा आएकै साँझ नेपाली दूतावासको रात्रिभोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलि मलिन देखिन्थे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर संयुक्त पत्रकार सम्मेलन गरेको भोलिपल्ट झिसमिसेमै नेपाली सम्पादकहरूमाझ भने उनी निकै प्रफुल्ल मुद्रामा प्रस्तुत भए । उनको मुस्कान मात्र होइन, भाषैले नै भन्थ्यो, ‘भ्रमण राम्रो भयो ।’
‘राम्रो भयो । कुल मिलाएर राम्रो भयो,’ उनले भने, ‘यसअघिका मेरा तीन वटा भ्रमणमा भारतका मूलधारका सञ्चारमाध्यमले यति धेरै कभर गरेका थिएनन् । त्यसैले अहिले भारतले अलि बढी नै महत्त्व दिएको जस्तो देखियो ।’ यसका लागि आफूले निकै मेहनत गरेको प्रधानमन्त्रीको भनाइ थियो । ‘धेरै मेहनत गरियो, हेर्नुहोस् । एकपटक त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो । तपाईंहरूले हेर्नुभयो भने दूतावासको कार्यक्रममा मेरो अनुहार उज्यालो थिएन । दबाबमा परेको जस्तो थियो,’ उनले भने, ‘तर, त्यसमा (अवस्था सुधार्न) मोदीजीले नै बढी पहल गरेको देख्छु । वान टु वान मिटिङबाट स्थिति सम्हालिँदै आयो ।’
उनले दीर्घकालीन ऊर्जा व्यापारमा भएको सम्झौतालाई सबैभन्दा महत्त्वशाली र ऐतिहासिक भने । ‘नेपाललाई समृद्धिको दिशामा लैजान मार्केटिङ गर्न सक्ने विषय भनेको ऊर्जा व्यापार नै थियो । बंगलादेशसँग हाम्रो पहिल्यै सहमति भएको थियो । अब नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सरहकै सम्झौता भएको छ,’ उनले थपे ।
प्रधानमन्त्री दाहालले यसलाई ‘ब्रेक थ्रु’ को उपमा दिए । त्यस्तै प्रधानमन्त्री मोदी हाइड्रोजन इनर्जीमा चाँडो जान चाहिरहेको, त्यसका लागि क्लिन इनर्जी चाहिने र क्लिन इनर्जीमा नेपालमा प्रचुर सम्भावना भएकाले दुवैले यसबाट लाभ लिन सक्ने उनले बताए ।
हवाई रुटबारे नेपालले कुरा राख्न नसकेको प्रधानमन्त्रीमाथि आरोप लागेको छ । त्यसबारे उनले भने, ‘नेपालगन्जबाट कम अल्टिच्युटमा रुट दिन भारत तयार छ । हामीले महेन्द्रनगरबाट बढी अल्टिच्युटबाटै चाहिन्छ भन्ने अडान राखेका छौं । त्यसमा सकारात्मक रहेको पाएका छौं ।’
सीमा समस्यामा प्रधानमन्त्री मोदी गम्भीर रहेको आफूले पाएको दाहालले बताए । ‘प्रधानमन्त्री मोदीसँग तीन पटक वार्ता भयो । त्यसक्रममा उहाँले यसलाई गम्भीरतापूर्वक लिएको र सदाका लागि हल गरौं भन्नु भएको छ । संयुक्त पत्रकार सम्मेलनमा पनि यसबारे प्रतिबद्धता जनाउनुभयो । म खुसी छु,’ उनले थपे, ‘सिमानाको समस्या समाधान गर्नुपर्छ भनेर हामी मात्रै भन्थ्यौं । अहिले भारतले पनि भनेको छ ।’
आफ्नो पटक—पटकको अडानका कारण मोदी यसमा सकारात्मक भएको र उत्साहपूर्वक हिमालयन हाइट र सुपरहिटजस्ता शब्द प्रयोग गरेको आफूलाई लागेको प्रधानमन्त्री दाहालले बताए । ईपीजी प्रतिवेदनबारे भने आफूले प्रसँगै नठाएको उनले सुनाए । ‘नेपालमा यो विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं । तर, मलाई के लाग्यो भने यस विषयमा विवाद गरेर सबै काम अड्काएर बस्नुभन्दा सकाउने काम सकाउँदै जाने र पछि वातावरण बनाएर ईपीजी पनि सल्टाउँ भन्ने ठानें । यो विषय नै उठेन । उठाएर माहोल बिगार्नेतिर लागिएन ।’
भारत भ्रमणमा आएकै बिहान नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुको कारणबारे राखिएको जिज्ञासामा दाहालले भने, ‘मैले त धेरै पहिले नै राष्ट्रपतिजीले प्रमाणीकरण गर्नुपर्छ भनेको थिएँ । अब राष्ट्रपतिजीले सल्लाह गर्दैगर्दै जाँदा त्यो दिन पर्न गयो । मात्रै यति हो त्यो, मैले बुझ्दाखेरि । संयोग मात्रै हो ।’
अलिअलि लुकाउन चाहेको, अलिअलि खुलाउन खोजेको भावमा उनी प्रस्तुत भएका थिए । कतिपय प्रश्नको उत्तरमा उनले प्रस्टै भने, ‘यसबारे यहाँ होइन, उतै गएर भनौंला ।’