सम्बन्धको जोडघटाउ
सम्बन्धमा तपाईंले मात्रै समर्पण गरिरहनु भएको छ भने रोकिनुहोस्।
एक महिनाअघि वीर अस्पतालकी स्टाफ नर्सले कान्ति बाल अस्पतालमा कार्यरत बोहोराटारस्थित एक डाक्टरको घरमा गएर आत्महत्या गरिन्। केही महिनाअघि शंखमूलकी पुष्पा न्यौपानेले पनि प्रेमीको घर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह गरिन्। न्यौपानेको दरबारमार्गमा केल्मी ब्रान्डको सोरुम थियो। स्टाफ नर्स तथा पुष्पा दुवै पेसागत रूपमा सफल व्यक्ति हुन्।
दुवै घटनाको मुख्य कारण थियो, प्रेम सम्बन्धमा रहेको व्यक्तिले विवाह गर्न नमान्नु। माया गर्ने मानिसले धोका दिएको सहन नसकी दुवैले जिन्दगी अन्त्य गरे। यी त केही प्रतिनिधि घटना हुन्। पछिल्लो समय सम्बन्धमा दरार आउनासाथ जीवन नै गुमाउनेको संख्या बढ्दै छ। प्रहरी तथ्यांकअनुसार एक वर्षमा देशभर हजारौं मानिसले आत्महत्या गर्छन्। अधिकांश आत्महत्याको कारण हुन्छ, वैध/अवैध प्रेम सम्बन्ध, फ्रस्टेसन, डिप्रेसन, आर्थिक समस्या आदि।
जीवनभन्दा ठूलो केही हुन सक्छ ? तपाईं त्यस्ता मानिसका लागि ज्यान फाल्दै हुनुहुन्छ, जसको मनमा तपाईंका लागि अलिकति पनि संवेदना छैन। माया छैन अथवा तपाईंको जरुरत नै छैन भने किन ? सीमित समयमा पाएको मानसिक तनाव सहन नसकी आत्महत्याको बाटो रोज्नु अत्यन्तै गलत काम हो। के हामीसँग जोडिएका सम्बन्ध बिगँ्रदैमा अगाडि बढ्नै नसक्ने हो त ? या प्रेम वा वैवाहिक सम्बन्ध टुट्दैमा जीवन समाप्त हुने हो र ? जीवन अगाडि बढाउन सम्भव नै नहुने हो त ? पक्कै होइन।
सुख–दुःख, आरोह–अवरोह हरेकको जीवनमा आउँछ नै। यी त जिन्दगीका विशेषता नै हुन्। धनी होस् या गरिब सबैका आफ्नै समस्या हुन्छन्। समस्यासँग जुध्दै अगाडि बढ्नु नै जिन्दगीको बाटो हो। मानिस चेतना र विचारको हिसाबमा बलियो भयो भने जस्तोसुकै समस्यासँग पनि लड्न सक्ने खुबी राख्छ। अप्ठ्यारोसँग लड्न मुख्य आत्मबल नै दह्रो हुन जरुरी छ। दह्रो इच्छाशक्तिले धेरै रोगसमेत निको भएको प्रशस्तै उदाहरण छन्।
जो आवेगमा आएर जिन्दगीका नमिठो निर्णय गर्छन्, तिनले बुझ्न जरुरी छ कि आत्मबलभन्दा ठूलो औषधि जीवनमा केही छैन। समस्यासँग भागेर कहिल्यै समाधान हुँदैन। अप्ठ्यारो अवस्थामा हामीसँग दुईवटा मात्र विकल्प हुन्छन्। कि समस्यालाई स्विकारेर सँगै हिँड्ने वा समस्यालाई जुनसुकै हालतमा समाधान गर्ने। महिलाको क्षमता र दक्षताको कुरा गरिरहँदा सबैले जोड्ने विषय हो, आर्थिक पाटो। महिलाहरू आत्मनिर्भर भए भने हिंसामा पर्दैनन् भन्ने आमधारणा छ। लेखको सुरुमै लिइएको उदाहरणमा दुवै पात्र आर्थिक रूपमा सक्षम देखिन्छन्। हातमा सीप र क्षमता अनि आर्थिक हैसियत सबल नै रहेको अवस्थामा पनि उनीहरूले सानोतिनो समस्यासँग पनि लड्न नसकेको देखिन्छ। केही समयअघि पाटन अस्पतालमा काम गर्ने डाक्टर बूढानीलकण्ठको होटलमा मृत भेटिए। यस्तै, बहालवाला सिनियर प्रहरी अफिसर गत वर्ष भैरहवामा मृत भेटिएका थिए।
यो किन भयो त ? मुख्यतः हाम्रो समाज र सामाजिक चेतनाले मानसिक अवस्थाको भाष्य निर्माण गर्छ। अपवादबाहेक प्रायः महिला सामाजिक प्रथाको कब्जामा परेकै कारण आमप्रवृत्तिभन्दा माथि उठ्न सक्दैनन्। गलत नै भए पनि, यातना नै सहन परे पनि पुरुषबिना सम्भव छैन, लोग्ने नै सबथोक हो भन्ने गलत भाष्यको कब्जामा महिला छन्। यहाँ लोग्ने र विवाह संस्थाको विरोध गरिएको हैन। सम्बन्ध बिग्रनुमा महिलाको मात्रै दोष देख्ने सोच गलत हो।
प्रेम सम्बन्धमा रहँदा पटकपटक गर्भपतन गर्न बाध्य पारिने सम्बन्धमा प्रेम छैन भनेर बुझ्न जरुरी छ। पुरुषलाई महत्त्वपूर्ण स्थान दिनु पितृसत्तात्मक समाजको विशेषता हो। जहाँ छोरीहरूलाई सफल हुनभन्दा विवाह गरेर लोग्नेको घर जान तयार बनाएर हुर्काइने मनोविज्ञानले गलत भाष्य निर्माण गरिरहन्छ। महिलाको आर्थिक सबलतामा समाजको संस्कृति, धार्मिक नीति नियम र प्रथा परम्परा पनि जोडिएको हुन्छ। जबसम्म महिला यी सबै पक्षलाई बेवास्ता गर्दै मानसिक रूपमा दक्ष हुँदैनन्, जबसम्म छोरी, बुहारीको वैचारिक चेतना विकास गरिँदैन, तबसम्म महिलाहरू समाजका अगाडि निरीह बनिरहन्छन्। लोग्ने/प्रेमिका अगाडि झुकिरहन्छन्। हरछोरी बुहारीले यो सोच्न जरुरी छ, मैले सबथोक त्यागेर निभाएको सम्बन्धले मलाई कत्तिको सम्मान दिएको छ ? मेरो व्यक्तित्व निर्माणमा मेरो लोग्ने/प्रेमीको साथ छ ?
सम्बन्धमा तपाईंले मात्रै समर्पण गरिरहनु भएको छ भने रोकिनुहोस्। सम्बन्धमा महिला र पुरुषको समान लगाव र चाहना हुन जरुरी छ। जुनसुकै सम्बन्धमा सबैखाले स्वतन्त्रता हुन जरुरी छ। एउटा सम्बन्धमा हुँदाहुँदै अन्य व्यक्तिसँग नजिक हुनु भने हैन।यसैले हरेक सम्बन्धमा दायरा बनाउनुहोस्। मनोवैज्ञानिक रूपमा भएको स्वतन्त्रताले महिलामा आत्मबल बढाउँछ। वैचारिक चेतना बलियो बनाउन जरुरी छ।
राजनीति गर्न हुन्न भन्ने मान्यतामा सम्पूर्ण वैचारिक चेतनाको बहसबाट पछिल्लो पुस्ता छुटिरहेको छ। यसले हामी मानसिक रूपमा कमजोर भएका व्यक्तिहरू उत्पादन भइरहेका छौं। अतः सम्बन्धमा समस्या आओस् या अन्य खालका समस्या नै भोग्न किन नपरोस्, मानसिक रूपमा तयार हुनै पर्छ।