प्रेमले भक्ति भाव जन्माउने भएकाले लक्ष्य पूरा गर्न प्रेमिल बन्नको विकल्प छैन भन्ने बोध हुन्छ र अचानक सान्टियागोमा परिवर्तन आउँछ।
सान्टियागो अर्थात् ‘द अल्केमिस्ट’को नायक। सान्टियागोलाई नायक बनाउने पात्र हुन्, पाउलो कोलो। खासमा पाउलो पात्रभन्दा माथि छन्, द अल्केमिस्ट नामक उपन्यास लेखेर। यथार्थमा त पाउलोले यस उपन्यासमा मूलपात्र त सान्टियागोलाई बनाएका हुन्। पाउलोले सान्टियागोलाई भेडागोठालो बनाएर कृतिमा नायक बनाइदिए। किशोरावस्थाका सान्टियागो स्पेनको एउटा पुरानो गिर्जाघरमा बस्छन् र भेडा चराउँछन्। जंगलको एकान्तमा अनायसै सोचमग्न भए उनी। भेडा चराइरहेको त्यसबेला उनले आफूसामु एउटी महिला पाउँछन्।
दुवैबीच कुराकानी हुन्छ। महिलाले अचानक भेडागोठालाको हात तानिन्। केहीबेर घोत्लिएपछि भनिन्, ‘तिमी मिश्रदेश (इजिप्ट)मा जाँदा प्रसस्त धनोपार्जन गर्न सक्छौं।’ सान्टियागो अचम्ममा पर्छन्। ‘भेडागोठालो म अर्को देश पुगेर कसरी धनी हुन सक्छु ?’, आफैंलाई प्रश्न गर्छन्, ‘मेरो भविष्यवाणी !’ एकदिन, अचानक भेडागोठालोमा मिश्र देशसम्मको यात्रा गर्ने चाहना पलाउँछ। इजिप्ट पुग्ने ‘लक्ष्य’ निर्धारण गर्छन्। केही सातापछि महिलालाई भेटेकै आसपासमा उनले मल्किजदेक नाम गरेका पुरुषलाई पाए। उनी पनि भविष्यवक्ता रहेछन्। कुराकानीकै क्रममा उनले आफ्नो पनि भविष्य बुझ्न चाहेको सुनाए। भविष्यवक्तालाई पनि कसैको चाहना पूरा गर्न पाएकोमा मनैदेखि उत्साह थपियो।
मल्किजदेकले सानिटयागोलाई भने, ‘तिमीलाई भगवान्ले आशीर्वाद दिनुभएको छ। तिम्रो हृदयमा ईश्वरको बास भइसकेको रहेछ। सबै भेडा बेचर ‘मिश्र देश जाउ अनि आफ्नो भाग्य चम्काउ।’ अब भने सान्टियागो जीवन र भाग्यप्रति पूर्ण विश्वस्त बने। लगत्तै भाग्योदयका निमित्त उनी सहारा मरुभूमिमा अवस्थित मिश्र देश पुग्छन्। स्पेन हुँदै मिश्र देश इजिप्टको पिरामिड पुगे। स्वप्नभूमिको देशमा पुग्न सान्टियागोले विभिन्न कठिनाइको सामना गर्नुपर्यो। यसरी जोखिमपूर्ण यात्रामा सामेल ती नायक भौतिक रूपमा मात्र होइन, मानसिक र आध्यामिक रूपमा पनि परिपक्व वने। अन्त्यमा मानसिक परिवर्तन समेतका कारण उनले अध्यात्मको शिखर चुमे जब उनले आफ्ना गुरु अल्केमिस्टलाई पनि भेटे। यो तब सम्भव भएको थियो, जब अल्केमिष्ट गुरुले सान्टियागोको बाहिरीसँगै विशेषगरी भित्रि पाटो बलियो बनाउने आधार दिए। अर्थात्, कुण्डलिनी योगका ७ वटै चक्र जगाउन उपन्यासका नायक सक्षम भए।
कुण्डलिनीमा पहिलो चक्र हो मूलाधार। यो चक्रमा कुण्डलिनी ऊर्जा रहन्छ त्यो ऊर्जा नै पृथ्वी शक्ति हो वा ऊर्जाको स्रोत हो। सबैभन्दा तल रहेको ऊर्जाले मानिसका अति आवश्यक वस्तुको पूर्ति गर्छ। गाँस, बास, कपास र सहवास। सान्टियागो पनि उनको किशोर अवस्थामा सँगै जीवनको अत्यावश्यक वस्तुको पूर्ति गर्न घर छोड्छन्। भेडा गोठालो बनेर उनी भविष्य रच्ने स्वप्न बुन्छन्। यो चक्रको ऊर्जा सकारात्मक गराउन मानिसमा इच्छाशक्ति चाहिन्छ। सो शक्ति विचारले ल्याउँछ। गिर्जाधरमा आश्रय लिएर बसेको भेडा गोठालो आन्तरिक ऊर्जाले बिउझन्छन् र लक्ष्य बनाउँछन्। जसरी एउटा अभ्यस्त योगीले यी शारीरिक इच्छालाई वास्ता नगरी अध्यात्मको सहारा लिएर मोक्षको बाटो लिन्छ। त्यसैगरी सान्टियागो लक्ष्यको छनोट गर्छन्। सांसारिक आवश्यकता त छँदैछ तर सोभन्दा अगाडि जान बाटो खोज्छन्। कोलोको नायक इजिप्टका पिरामिडहरू भौतिक रूपमा यात्रा गर्न जुट्ने साहस गर्छन् र भाग्य चम्काउन अघि बढ्छन्। यो सक्रियता नै मूलाधार चक्रको ऊर्जा प्रवाह हो। मानसिक तयारी हो।
दोस्रो चक्र स्वाधिष्ठानले खुसियालीको खोज गर्छ। मानसिक र शारीरिक रूपले तयार नायक सान्टियागो अब त्यसै यात्रामा जे कठिनाइ आए पनि सहर्ष स्वीकार्छन्। यौन जनेन्द्रीय नजिक रहेको यो चक्रले यौन पियासाको सहारामा लक्ष्य प्राप्त गर्ने ऊर्जा प्रदान गर्ने भएकाले आफ्नो जीवनको अस्तित्व जोगाउन, नाम र दाम कमाउन उद्दत पार्छ। नायक सान्टियागो मन पर्ने केटी साथी (व्यापारीकी छोरी) छोडेर यात्रा तय गर्छ। युङले भनेझैं यौनचाहना त्यागेर त्यो शक्तिलाई अन्तिम स्वतन्त्रतातिर लगाउँछन्। बरु अर्काे भाग्य भविष्यवक्ता मल्किजडेक भेट्न पुग्छन्। उनको सल्लाहअनुसार आफ्ना सबै भेडा बेचेर इजिप्टमा भाग्य रहेको निष्कर्षका साथ अठोट गर्दै यात्रा तय गर्छन्।
सक्रियता र खुसीको ऊर्जापछि तेस्रो चक्र मणिपुरमा प्रवेश गर्छन्, सान्टियागो। यो चक्रको नामै काफी (हीरा जुहारत) को ‘पुर’ नगर नाभी क्षेत्रमा अवस्थित यो चक्रले सहास जगाउँछ। स्वप्न (लक्ष्य) पूरा गर्न हिम्मत बढाउँछ। सान्टियागो साहसिक वन्छन् तर तरिफाका भविष्यवक्ताले दिएका पासारूपी दुई ढुंगा (उरीम् र थमीम्) लिएर एउटा क्रिस्टल व्यापारीसँग व्यापारमा सघाउन पुग्छन्। खुब मिहेनत गरेर बिग्रिएको व्यापार सपार्छन् दुवै मिलेर। तर, पैसाले इजिप्ट यात्रा रोक्दैनन् नायक। सान्टियागो इजिप्टमा रहेको ‘गाड धन’ लुकाएको सम्पत्ति प्राप्त गर्न विदा हुन्छन्। साहसका साथ यात्रा सुरु गरी अझ अघि बढ्छन् उनी।
चौथो चक्र अनाहत वा हृदय चक्रमा प्रवेश गर्नुअघि सान्टियागो सक्रिय, खुसी र साहसी बनिसकेका छन्। अब, उनलाई कुनै अवरोधले छेक्न नसक्ने अवस्था छ। यो चक्र प्रेमको प्रतीक भएकाले इजिप्ट पुग्नुअघि पार गर्नुपर्ने सहारा मरुभूमिमा समेत उनलाई प्रेमको बर्षा हुन्छ। अल्केमीबारे सैद्धान्तिक ज्ञान भएको एउटा अंग्रेजसँग भेट हुन्छ। सोबारे सान्टियागोले सिक्ने मौका पाउँछन्। मरुभूमि पार गराउने अरबी ऊँट चालक उनलाई खुब माया गर्छन् र साहासिक उद्देश्य पूरा गर्न सहयोग गर्छन्। नायकले अरूलाई प्रेम गर्ने भावको विकास गर्छ। प्रेमले भक्ति भाव जन्माउने भएकाले लक्ष्य पूरा गर्न प्रेमिल बन्नको विकल्प छैन भन्ने बोध हुन्छ र अचानक सान्टियागोमा परिवर्तन आउँछ।
वाह्य जगतमा प्राप्त हुने भौतिक वस्तु आन्तरिक जगत्मा वा हृदयमा पलाउने प्रेमले सहज र सरल बनाउने रहेछ भन्ने कसी उनलाई बोध हुन्छ। अथवा, प्रेम मानव र मानवइतर वस्तुमा समभाव देख्ने कोसेढुंगोका रूपमा रहेको यथार्थ उनलाई अवगत हुन्छ। ईश्वर–क्राइष्ट वा महमद, हिन्दू वा बुद्ध केवल बाहिरी आवरण रहेछन्, आन्तरिक रूपमा हरेक व्यक्ति ‘मानव’ एकैरूप रहेछ भन्ने रहस्य खुल्छ। रहस्यमय ज्ञान पुञ्ज त हृदय रहेछ अन्य ज्ञान त बाह्य आडम्बर पो रहेछन् भन्ने कुरा उनलाई छर्लङ्ग हुन्छ। कोलोले नायकलाई आन्तरिक ज्ञान चैं महत्त्वपूर्ण छ तर बाह्य ज्ञान भौतिक जगत्मा दिने स्रोतको रुपमा प्रष्ट पारेको कुरा यहाँबाट अबगत हुन्छ।
सान्टियागोको विशुद्धी पाँचौं चक्रमा प्रवेश हुने पात्र ता बनिसकेको छ। यो चक्र ज्ञानचक्र हो। सक्रियतापूर्वक यात्रामा प्रवेश गरेको नायक खुसी हुँदै, रमाउँदै साहसपूर्वक अघि बढ्छन् र प्रेमभावले ओतप्रोत बन्न पुग्छन्। यी चारैवटा सीप प्राप्त गरेपछि नायक अव ज्ञानको खोजमा पुग्छन्। ज्ञान भौतिकमात्र हैन, आन्तरिक पनि रहेछ भन्ने लाग्छ र अझ यात्रा अगाडि वढाउँछन्। अचानक प्यारामिड भौतिकयात्रा दुई सय वर्षका वृद्ध अल्केमिस्ट (रसायन शास्त्री) को खोजमा परिणत हुन्छ। उनीसँगै एक अंग्रेज उनै प्रयोगसिद्ध अल्केमी (रसायनशास्त्री ) को खोजमा मिश्र देश आएकाले नायक पनि अलमलमा नपरी उसैको कुरामा रमाउँछन्। उनको वृद्ध अल्केमिस्टसँग भेट हुन्छ। सान्टियागोलाई उनले बढी विश्वास गर्छन्। नायकले सारा वाह्य ज्ञान आन्तरिक अठोटबाट प्राप्त हुने कुरा वृद्ध अल्केमिस्टबाट सिक्छन्।
छ्रैटौं चक्र आज्ञा हो। यो चक्रले हरेक मानिसलाई लक्ष्यमा पुग्न आन्तरिक तयारीका साथ सधैं त्यसमै दत्तचित्त हुन वा ध्यान मग्न हुन सिकाउँछ। सान्टियागो लक्ष्य लिएर वृद्ध अल्केमिस्टलाई भेट्न पुग्छन्। त्यतिखेर उनले नायकलाई तिमीले ‘अल्केमी’ (रसायन शास्त्र) जानिसकेका छौं, त्यो त तिमीभित्रै छ’ भन्दा उनी छक्क पर्छन्। यसै कुराको प्रमाण दिन्छन्, रसायनशास्त्रीले।
अठोट र प्रतिज्ञाले यात्रा गर्ने व्यक्ति बाह्य रूपमा मात्र हैन आन्तरिक रूपमा पनि सफल हुन्छ। आन्तरिक परिवर्तन नै वाह्य वस्तु प्राप्त गर्ने एउटा बाटो हो, जसको विकल्प छैन। आन्तरिक परिवर्तन (योग वा ध्यान) को प्रमुख बाटो हो। सोअनुरूप नहिँडे जीवन यात्रा दिग्भ्रमितबाहेक केही हुन्न। त्यो भ्रमरुपी माया नै असफल पार्ने तत्व हो भन्ने कुरा बूढा रसायनशास्त्रीले सिकाए पाइन्छ। रसायन विद्या सिकेपछि प्राप्त ज्ञानले सान्टियागो अति प्रफुल्ल हुन्छन्। लक्ष्यअनुरूप लुकाएको सम्पत्ति हात पार्न उनी अझै पिरामिडतिरको यात्रामा सामेल हुन्छन्। तर, आफूभित्रको परिवर्तन नै सबैभन्दा प्रमुख उपलब्धि भएको कुरा नायक स्वीकार्छन्। वृद्ध रसायन शास्त्रीले पनि त्योभन्दा ठूलो अर्काे उपलब्धि छैन, तिम्रो आन्तरिक परिवर्तन नै ‘अल्केमी’ हो भन्ने कुरा नायकलाई सुझाउँछन्। यो अल्केमी नै कुण्डलिनी चक्रका रूपमा प्रयोग गरिएको पाइन्छ।
सातौं चक्र कुण्डलिनी योगअनुसार सहस्रार हो। अगाडिको हरेक चक्रद्वारा प्राप्त सक्रियता, खुसी वा सुख, साहस वा भौतिक उपलब्धि, प्रेम वा सम्पूर्णमा दयाभाव, ज्ञान वा आन्तरिक वोध, आज्ञा वा अठोट पछि प्राप्त हुने बाह्य वा आन्तरिक स्वतन्त्रता नै सहस्रार चक्रको प्रतिफल हो। आनन्दबाहेक अर्काे विधा कुनै रहँदैन र छैन पनि।
सहस्रारमा प्राप्त ज्ञानले निर्वाण वा बुद्धत्वमा पुर्याउँछ, आनन्दको हिमशिखर चुम्न पुर्याउँछ। पाउलो कोलोको नायक, अल्केमिस्टको हिरो यसै आनन्दमा हुने एक अग्रणी पात्रका रूपमा चिनिन्छन्। जब वृद्ध रसायनशास्त्री (अल्केमिस्ट)ले विज्ञान र भौतिकताका सुखभन्दा पर यात्रा गराउँछन्, सान्टियागो आत्मादेखि परमात्माको बोध गर्न पुग्छन्।
भौतिक सुखवाट आन्तरिक आनन्दको महसुस गर्दै निर्वाणरुपी आनन्द प्राप्त गर्छन्। यात्रामा कष्ट खेप्छन्। धेरैपटक पैसा वा बहुमूल्य धातु चोरी हुन्छ। भौतिक सुख टुट्छ तर पनि सान्टियागो बिचलित हुँदैनन्। अन्त्यमा पिरामिडमा प्राप्त गाडधन पनि लुटिन्छ तर पनि उनी हतोत्साही नभई पुनः आफुले यात्रा शुरु गरेकै ठाउँमा पुग्छन्। भौतिक सम्पत्ति त उनमा छैन तर आन्तरिक परिवर्तनले प्राप्त आध्यात्मिक सम्पत्तिले उनी आनन्द चुम्छन्। अझ, बुद्धत्व प्राप्त ब्यक्ति झैं बन्छन्। भन्छन्– अनावश्यक भौतिक खोजमा प्राप्त धनभन्दा आन्तरिक परिवर्तनवाट आर्जित आनन्दको धनले जे खोजे पनि हात पार्न सकिने कुरामा विश्वस्त बन्छन्।
अन्त्यमा, ‘द अल्केमिस्ट’मा साँच्चि नै कुण्डलिनी योगमा चक्रको आन्तरिक यात्रा हो। व्यक्तिमात्र होइन, कोलोले पुस्तकमा सबै धर्म र संस्कृति समेटेका छन्। सबै धर्मका पात्र यहाँ आबद्ध छन्। बरु, हिन्दू वा पूर्वीय योगीको उल्लेख भने छैन। रमणीय कुरा के छ भने यो पुस्तकको पूरै पृष्ठभूमि चैं कुण्डलिनी योगको चक्रसँग मेल खान्छ। एउटा इसाईको यात्रा, अर्काे इसाईसँगको मिलन, यहुदीहरूको सहयोग, बुद्धिष्ट मंकसँगको भेट र मित्रता, रसायन शास्त्र वा अल्केमीको शास्त्रीय
पारखी अनि चक्रहरूको ऊर्जाले ल्याएको आन्तरिक परिवर्तन, सबैको मिलनले यस पुस्तकलाई आधुनिक ‘धर्म शास्त्र’ भन्ने संज्ञा दिन अत्युक्ति नहोला।
विश्व मानव जगत्मा उदाएको यस्तो समग्र धर्म ग्रन्थले सबै मानवलाई आन्तरिक परिवर्तन गरी ‘अहं ब्रह्मास्मि’ वा ‘बसुदैव कुटुम्बकम्’ भन्ने नाराका साथ विश्वमा शान्ति फैलाउन सकोस्। डरलाग्दा आणविक युद्ध रोक्न सफल बनोस् र यो ब्रमाण्ड नै स्वर्गभूमि बन्न मद्दत मिलोस्। अस्तु।