आफू जन्मेको थातथलोलाई छाड्न त्यति सजिलो छैन। तर जीवन बाध्यता पनि हो। मानव जीवनको विकासक्रम हेर्ने हो भने बसाइँसराइ वा स्थानान्तरले एकपछि अर्को उन्नत जीवनको खोजी गर्छ। वंशाणु गुण त जन्मदाँ नै लिएर आएका हुन्छन्, त्यसबाहेक जन्मेको साइत र वातावरण, माटोको पहिलो स्पर्श र लिएको श्वास आदि इत्यादि कुराले पनि जीवन चक्रलाई केही न केही प्रभाव पारेको हुन्छ। प्रत्येक जीवनको गुण अवगुण फरकफरक भए पनि कर्मलाई धर्म ठान्नेहरू पनि छन् समाजमा। त्यही समाजभित्र अटाएका छन्, विविधतामा एकताका मीठा गीतहरू। जुनकवि र साहित्यकारको मानसपटलमा सुटुक्क घुस्छ र फेरि निकास खोज्छ। त्यसैको परिणाम हो, ‘तादी किनारको गीत।’
सबैले आआफ्नै विवेकीय हैसियतको जीवन बाँचेका हुन्छन्। कसैले आकाशमा विमान उडाउँछन् त कसैले नदीमा माछा मार्छन्। यहाँ एउटा विमान चालक मछुवारा बन्न सक्छ कि सक्दैन ? तर एउटा माझीले छोरालाई विमान उडाएको हेर्न चाहन्छ, अंग्रेजी बोलेको सुन्न चाहन्छ। कथानक प्रस्तुति बडो चाखलाग्दो छ, यो उपन्यासभित्र। सुनकोसी र इन्द्रावती नदीकिनारमा पुस्तौंदेखि चलिखेली आएको माझी समुदायको मुख्य आयस्रोत माछा मार्ने, दोलालघाटमा लगेर बेच्ने अनि डुंगा चलाएर मान्छेलाई नदी वारपार गराउने। ‘कहानी एक, सन्देश अनेक’ दिने माझीहरूको वास्तविक जीवनलाई सलल बगाएको छ लेखकले। कुनैकुनै उपन्यास पढ्दा उबडखाबडको झन्झटिलो लामो यात्राले थकित पार्ने गर्छ भने यो ‘तादी किनारको गीत’ले नै पार्छ।
‘आमा अबदेखि म एक्लै सुत्छु ल।’ लखुमको यो भनाइले परिपक्वताको संकेत गर्छ। उता बुल्कीलाई कोसी नदी तार्दा पानीको बहाबभित्र समाउन, उचाल्न र बोक्न बाध्य परेथ्यो लखुमलाई। तर त्यो जिम्मेवारी बहन गर्ने क्रममा बुल्कीको चोली च्यातिएको विषय गाउँको नाइके माझी बासम्म पुग्यो। त्यो अञ्जानमै भए पनि माझी समुदायको विश्वास, इज्जत, इमान्दारी र सोझोपनभित्र कहिलेकाहीँ धर्मसंकट पर्ने बिम्बात्मक प्रयोग देखिन्छ। उता दुखिनीलाई विवाह गर्नुपूर्व लखुमलाई रूखमा बाँधेर काइँला माझी बाले अर्ती उपदेश दिएको प्रसंगले आफ्नो विधि र पद्घतिप्रति अडिक रहेको देखाउँछ। संस्कार, संस्कृति, रहनसहन र रीतिरिवाजको वर्णनले उपन्यासकार पनि त्यही माझी समुदायकै हुन् कि जस्तो लाग्नु लेखनशैलीको अर्को आकर्षण हो।
पढ्दै जाँदा माझी समुदाय बसेको सेरोफेरोमा पुर्याउँछ। त्यहीँको समाजसँग घुलमिल गराउँछ। अनि लखुम, गम्फे, तिल्के, आते, बिकवा, दुखिनी, माबु, ओमे, जुल्फे, बुल्कीजस्ता समुदायानुसारको नाम, नामानुसारको काम, कामानुसारको दाम, दामानुसारको पात्र, पात्रानुसारको चरित्र र चरित्रानुसारको चेतनास्तर आदिलाई उत्कृष्ट ढंगले कथाहरूमा बुनेको पाइन्छ। सम्पूर्ण माझीलाई अनुशासित राख्न एकजना माझी बा खडा गरिएको छ जसको न्यायालयले समस्याहरूको छिनोफानो तुरुन्त गर्दछ। उता बालमस्तिष्कले उपन्न गराएका तरंगमा अनेक रंग देखिन्छ। कथामा परापूर्वकालदेखि चलिआएको सानो उमेरमै बुहारी छान्ने प्रथालाई निरुत्साहित पार्दै परिवर्तनको नयाँ आयामलाई स्थापति गर्न खोजिएको छ।
पुस्तौंदेखि डुंगा खियाउने र माछा मारेर जीविकोपार्जन गर्दै आएको श्रम सीपलाई अहिलेको प्रविधिले विस्थापित गर्दै लगेपछि माझी समुदायलाई ठूलो बज्रपात परेको कथामा देखाइएको छ। अन्याय, अत्याचार, शोषण अनि प्रविधिले गाँस खोसेपछि लखुमलाई बाध्य परेथ्यो बसाइँ सर्न। अन्तै सर्दाको पीडालाई नजिकबाट नियाल्दा माझीको सोझो र सरल जीवनले पाठकलाई पनि उतैतिर तान्दै लान्छ भने कतिपय सन्दर्भले बहसको विषय जन्माएको छ। लाग्छ, लेखकले मसलेदार परिकारमा अचार पनि चट्ट राखिदिएका छन्। जसको स्वादले जिब्रो होइन, आँखा रसाउँछ।
आखिर लखुम परिवार नुवाकोटको तादी किनारको गीत बनेर त्यहीँ सुसाउन थाले। बस्दा रहँदा त्यहाँ तिल्केको छोरी मालश्रीसँग लखुमको छोरा बिकवाको नाम जोडिन थाल्यो। छोरा बिकवा बीस वर्ष पुगेपछि मात्र विवाह गरिदिने सोचमा थियो, लखुम। बालशुलभ मनहरू रमाउने, जोडिने क्रममा बालबालिकालाई हामी बुडाबुडी हौं भन्नेसम्म थाहा छ। तर व्यवहार, बिहे र घरजम भन्ने थाहा छैन। तर पनि भाँडाकुटी खेल्दाखेल्दै उनीहरूले धेरैचोटि बूूढाबूढी भएर बालुवाको घर व्यवहार चलाए। रमाए। कहिले के सर्त त, कहिले बाजी राखे। दुखिनीले भनी, ‘मलाई बिहे गर्ने हो भने त्यो बग्न लागेको धुपीको रूखलाई रोक्नुपर्छ, नत्र हाम्रो बिहे हुँदैन।’ नदीसँगै बग्दै गएको रूखलाई बिकवाले रोक्न खोज्दा उसैलाई बगाएर लग्यो, झन्डै ज्यानै गयो। यस्ता अन्धविश्वासका कुराले ठूलो दुर्घटना निम्त्याउन सक्छ भन्ने पाठ सिकाएको छ। परिवारले रोक लगाएपछि बिकवा सेराको तादी किनारतिर जान छाडे। पछि ठूलो हुँदासम्म बिकवा र मालश्रीको भेट भएन। मालश्री त्यो बाल्यकालको अतीत सम्झिँदै तादी किनारमा बसेर गीत गाइरहन्छे ‘तादी खोला कठै बग्यो सलल, मेरा आँसु कठै चुहिए तरर।’
बाल्यकालमा न त छलछाम, न त छलकपट, न त घिन न त लाज केही नहुने भगवान्को एक रूपलाई देखाइएको छ। किशोरावस्थाको कौतुहलता, शारीरिक विकास, वर्गीय विभेद अनि युवावस्थामा हुने आकर्षणजस्ता विषयलाई समेटेर ज्ञानवद्र्धक खुराक पस्केको छ। अर्कोतिर माझी समुदायको जीवनशैली, समाज, संस्कार, संस्कृतिको जगेर्ना गर्दै सानैमा बुहारी रोज्ने चलनलाई भत्काएर नयाँ संरचना खडा गरेको छ। पुस्तौंदेखि माझीहरूले बगाएको पसिनाले नदीको रंग कहिल्यै बदल्न सकेन। त्यसैले होला, साहित्यकार महेश पौड्यालले ‘तादी किनारको गीत’ रचेर सिमान्तकृत समुदायको जीवनचक्रलाई इतिहासको पानामा सुरक्षित गरेको।