खाँणले बयानमा भने- मेरो राजनीतिक जीवन सिध्याउन राज्यले नियोजित षड्यन्त्र रच्यो
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफूविरुद्ध लगाइएको अभियोग कपोकल्पित र झुटो रहेको दाबी गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उनले जिल्ला अदालत काठमाडौंमा बयान दिँदै आफ्नो संलग्नता नरहेको बताएका छन्।
उनले आफ्नो राजनीतिक जीवन सिध्याउन राज्यले नै नियोजित षड्यन्त्र रचेको बयानमा भनेका छन्। 'मविरुद्ध लगाइएका सबै अभियोग कपोलकल्पित र झुट्टा हुन्। मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन नियोजितरूपमा राज्यले रचिएको षडयन्त्र हो। कुनै पनि कसुरमा मेरो कहीँकतै संलग्नता छैन,' बयानमा उनले भनेका छन्।
उनले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको भन्दै सफाइ दिन माग गरेका छन्।
'म विद्यार्थीकालदेखि नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकताका लागि संघर्ष गरेको व्यक्ति हुँ। पछिल्लोपटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानुनको पालना गर्दै देशमा शान्ति सुव्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको छु। विभिन्न रोग निवारणका लागि नियमित औषधीहरू सेवन गरिरहे पनि राज्यकोषबाट उपचार खर्चसमेत लिएको छैन। जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ,' बयानमा उनले भनेका छन्।