बासु पुरस्कारबाट चार साहित्यकार सम्मानित
स्याङ्जा : बासु पुरस्कारबाट चार साहित्यकार सम्मानित भएका छन्। स्याङ्जामा स्थापित बालनरसिंह-सुवर्णकुमारी अधिकारी गुठी पुरस्कारबाट प्रदान गरिने बालनरसिंह सुवर्णकुमारी (बासु) स्मृति साहित्य पुरस्कारबाट स्याङ्जाका ४ साहित्यकार सम्मानित भएका हुन्।
सम्मान पाउनेमा आँधीखोला गाउँपालिका जन्मभै हाल भरतपुर निवासी डा. एकनारायण पौडेल, अर्जुनचौपारी गाउँपालिका हाल भरतपुर निवासी डा. कृष्णप्रसाद सापकोटा, पुतलीबजार नगरपालिका-१४ निवासी चिन्तु गिरी र पुतलीबजार नगरपालिका-१ हाल काठमाडौं निवासी डा. रजनी ढकाललाई प्रदान गरिएको छ।
गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति प्राज्ञः सरुभक्तले पुतलीबजारमा आयोजित कार्यक्रममा ४ जनालाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन।
उनीलाई सो पुरस्कार क्रमशः २०७६, २०७८, २०७९ र २०८० सालको समेत गरी प्रदान गरिएको हो। जनही १५ हजार ५ रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ।
सम्मानसहित पुरस्कार प्रदान गर्दै प्राज्ञ श्रेष्ठले साहित्य मार्फत सामाजिक विकास र समृद्धिमा जुट्नुपर्ने बताए। समाजको वास्तविक प्रतिविम्ब उतार्ने गरी साहित्यकार काम गर्न पनि सुझाव दिए।
स्याङ्जा साहित्यको उर्वरथलो रहेको जनाउँदै उनले २०५५ सालमा संरक्षण कविता आन्दोलन स्याङ्जाको आँधीखोला किनारबाट सुरुवात गरेको जानकारी गराए।