साढे दुई केजी बढी चाँदीका सामग्री बरामद
परासी : भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा नवलपरासी प्रहरीले सोमबार साढे दुई केजीभन्दा बढी चाँदीका सामग्री बरामद गरेको छ।
भारतबाट परासीतर्फ चाँदी आउँदै छ भन्ने सूचना पाएर गएको प्रहरी टोलीले नवलपरासीको सीमावर्ती क्षेत्र पाल्हिनन्दन गाउँपालिका–४ लोहोरौलीबाट २ केजी ७५० ग्राम चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए।
बरामद चाँदीको मूल्य ३ लाख ४० हजार रुपैयाँ रहेको छ। बरामद चाँदीका सामग्रीमा चम्चा, कटौरा र पाउजुलगायतका रहेको पाण्डेले जानकारी दिए। अवैध रूपमा चाँदीका सामग्री ल्याउनेमा भारत महाराजगञ्ज थाना निचलौल बस्ने दिलीप बर्मा रहेका छन्।
पैदल आउँदै गरेका उनको खानतलासका क्रममा ती सामग्रीहरू पेटमा पेटीले बाँधेर राखेको अवस्थामा बरामद भएको प्रहरीले डीएसपी पाण्डेले बताए।
बरामद चाँदीका सामग्रीसहित कारोबारमा संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।
परासीमा रहेका विभिन्न सुन चाँदी पसलमा बिक्री गर्नका लागि उनले चाँदीका सामग्री बनाएर ल्याएको प्रहरीले अनुमान गरेको छ।