प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव वाग्लेलाई निरन्तरता
विराटनगर : उच्च अदालत विराटनगरले कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई निरन्तरता दिएको छ।
सोमबार न्यायाधीश कृष्ण कमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले सदस्यसचिव वाग्लेलाई अल्पकालीन अन्तरिम आदेश जारी गर्दै काम गर्न बाटो खुला गरेको अदालतका उपरजिष्ट्रार मणिराम पोखरेलले जानकारी दिए।
प्रदेश सरकारले गत जेठ ३ गते सदस्यसचिव वाग्लेलाई पदबाट बर्खास्त गरेको थियो। झापामा आयोजित भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश नाम नराखिएकोमा आपत्ति जनाउँदै सरकारले सोधेको दुई पटकको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदेखेपछि पदबाट बर्खास्त गरेको थियो।
सोही निर्णयउपर बोर्डका सदस्यसचिव वाग्लेले उच्च अदालतमा निवेदन दिएका थिए। यस विषयमा अदालतले जेठ ५ गते पदबाट हटाएको विषयमा जेठ २२ गतेका लागि पेशी तोकेको थियो।
उपरजिष्टार पोखरेलले भने, ‘आज अदालतले बोर्ड सदस्य सचिवलाई काम गर्नका लागि बाटो खुला गरिदिएको छ। अन्तर प्रदेश राष्ट्रिय भलिबल प्रतियोगिताको लागि संयोजक थलु राजभण्डारीलाई तोकिएको देखिएको अवस्थामा सदस्यसचिवलाई हटाउने गरी भएको निर्णयका सम्बन्धमा पछि ठहरे बमोजिम हुने नै हुँदा सुविधाको सन्तुलनको आधारमा अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको फैसला भएको छ।’
यससँगै सदस्यसचिव वाग्लेले खेलकुद क्षेत्रका लागि न्याय भएको प्रतिक्रिया दिएका छन्। अदालतबाट पाएको आदेशसँगै प्रदेशको खेलकुदलाई थप सक्रिय बनाउनका लागि बोर्डले खेल र खेलकुद गतिविधिलाई प्रगाढ बनाउने वाग्लेले जानकारी दिए।
सदस्यसचिव वाग्लेलाई पदबाट बर्खास्त गरेसँगै गत वैशाख १९ गतेबाट सामाजिक विकास मन्त्रालयले बोर्डको बैंक खाता समेत रोक्का गरेको थियो।
बैंकिङ खाता भने केही दिनअघि मन्त्रालयले विभिन्न ६ बुँदा राखेर सञ्चालनका लागि फुकुवा गरी सकेको छ। बोर्डका सदस्यसचिव वाग्ले २०७८ चैत्र २२ गते पदमा नियुक्त भएका थिए।