कल बाइपास आरोपमा एक चिनियाँसहित २ जना पक्राउ
काठमाडौं : कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कल बाइपास गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले घटनाका विषयमा अनुसन्धान भइरहेको र २ जना नियन्त्रणमा लिइएको पुष्टि गरे।
पक्राउ पर्नेमा २२ वर्षीय गणेश श्रेष्ठ र ४० वर्षीय चिनियाँ नागरिक झाओ रहेका छन्। चिनिया नागरिक झाओ ३ महिनादेखी नेपाल बस्दै आएका थिए।
उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट ओटीपी बाइपास गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। सामाजिक सञ्जाल भाइबर, भाइबर, टिकटक, फेसबुक लगायतका एपमा वान टाइम पासवर्ड (ओटीपी) बाइपास गर्ने गर्थे।
उनीहरूको साथबाट ४ लाख ८० हजार नेपाली रुपैयाँ, १ हजार ९ सय अमेरिकी डलर, २ हजार ४ सय थान नेपाली सिम कार्ड, १२८ वटा एन्टेना पनि प्रहरीले बरामद गरेको छ।
यस कार्यमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आंशका गर्दै प्रहरीले अन्य कनेक्सन खोजी गरिरहेको छ।